बालमैत्री नगरपालिका घोषणाको तयारीमा बागलुङ नगरपालिका

आदर्श अनलाइन, बागलुङ

बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको बागलुङ नगरपालिकाले ८० प्रतिशत काम पुरा गरेको जनाएको छ ।

शनिबार पत्रकारहरुका लागि बालमैत्री अभियान अभिमूकीकरण कार्यक्रमको सहजिकरण गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी तथा बालमैत्री फोकलपर्सन धनप्रसाद पोख्रेलले बिशेषगरी पूर्वाधार तर्फका कतिपय काम बाँकी रहेपनि अन्य काम भने पुरा भएको जानकरी दिनुभयो ।

अभिमुखीकरणमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उचित श्रोत साधनको सदुपयोग गर्दै बालमैत्री अभियानलाई सफल बनाउने काममा नगरपालिकाले काम गरिरहेको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले यो अभियान नगरको मात्र नभएर राष्ट्रिय अभियान भएको बताउनुभयो । नेपाल सरकारले आगामी २०८८ सालभित्र देशलाई नै बालमैत्री बनाउने निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी पोख्रेलले बालमैत्री नगरपालिका घोषणा गर्नको लागि ५१ वटा सूचक पुरा गर्नुपर्ने भएकाले सवै क्षेत्रले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले अभियानका स–साना सूचकहरु पुरा गरिसकेको उहाँको भनाई छ । पूर्वाधारको निर्माण बाहेक अन्य धेरै सूचकहरु नगरपालिकाले पुरा गरिसकेको छ ।

नगपालिकाले बालबालिका कुपोषणबाट मुक्त हुनुपर्ने, गर्भवती महिलाले सवै खोपहरु लगाउनुपर्ने, गर्भवती अवस्थामा ८ पटक स्वास्थ्य परीक्षण गर्ने, सुत्केरी भएपछि शिशुसहित आमाले ४ पटक स्वास्थ्य संस्थामा पुगेर परीक्षण गर्नुपर्ने, २० वर्षपुगेपछि मात्र विवाह गर्नुपर्ने लगायतका विषयमा सचेतना अभियान चलाइएको नगर शिक्षा अधिकारी पोख्रेलले बताउनुभयो । यस्तै बालमैत्री अभियानको क्रममा निजी तथा सामुदायिक विद्यालयले पुरा गर्नुपर्ने सूचकमा पनि सचेतनाका कार्यक्रम संचालन गरिएको छ ।

बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को पुष मसान्तभित्र बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको छ । नगरपालिकाले छिट्टै वडा नम्बर १४ नारायणस्थानलाई बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको नगर शिक्षा अधिकारी पोख्रेलले बताउनुभयो । शनिबार बालमैत्री नगर घोषणा अभियान पुरा गर्न साथ र सहयोग गर्ने भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कंडेलसहित पदाधिकारी र क्रियाशिल पत्रकारले पनि हस्ताक्षर प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *