आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराउनुभएको छ ।
बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८५ करोडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०÷०८१ को बजेट ३३ अर्ब ८२ करोड थियो । गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जोड दिए पनि पूर्वाधारमै ठूलो बजेट छुट्याएको छ । व्यावसायिक कृषि र यसको रूपान्तरण गर्दै उत्पादन र रोजगारमा जोड दिएका छन् । कृषि कर्जामा जोड दिँदै गाँजा खेतीको कानुनी बाटो खोल्ने गुरूङले बताउनुभयो ।
१२ अर्ब ७० करोड रूपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा बिनियोजन भएको छ ।
गण्डकीमा खाद्यान्य उत्पादन वृद्धि गर्न १२ करोड रूपैयाँ छुट्याएको गुरूङले बताउनुभयो । मन्त्री गुरूङले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ९ करोड रूपैयाँ विनियोजन गरेको सुनाउनुभयो ।
पोखरालाई पर्यटकीय राजधानीको रूपमा केन्द्रमा राखेर ग्रामीण पर्यटन, होमस्टेको विकास र ११ वटै जिल्लामा विशेष कार्यक्रम गर्ने उहाँले बताउनुभयो । सामाजिक क्षेत्रका लागि २ अर्ब ९ करोड रूपैयाँ विनियोजन भएको छ । आगामी वर्ष गण्डकी प्रदेश सभाको भवन पनि निर्माण सुरु हुने भएको छ । त्यसका लागि ९ करोड रूपैयाँ विनियोजन भएको छ ।
आगामी वर्ष उज्यालो प्रदेश घोषणा गर्ने अर्थमन्त्री गुरूङले बताउनुभयो । कम्तीमा ७० प्रतिशत घरमा खानपानी धारा जडान गर्न ८ करोड रूपैयाँ छुट्याइएको छ । ४ अर्ब रूपैयाँ ऊर्जाको क्षेत्रमा छुट्याएको अर्थमन्त्री गुरूङले सुनाउनुभयो ।