ऋण असुलीमा सहयोग गर्न बागलुङका स्थानीय सरकारलाई जिल्ला सहकारी संघको ध्यानाकर्षण

रोहन जि.सी, बागलुङ

सहकारी संस्थाबाट सदस्यहरुले लगेको ऋण समयमा असुली नहुदा वचत फिर्तामा दवाव बढ्दै गएको भन्दै ऋण असुलीमा समन्वय गरिदिन जिल्ला सहकारी संघ बागलुङले जिल्लाका १० वटै पालिकाहरुको ध्यानाकर्षण गराएको छ ।

संघले गत जेठ २२ गते जिल्लामा क्रियाशिल सहकारीका अध्यक्षहरुसंग आयोजना गरेको छलफलका क्रममा अध्यक्षहरुले ऋणीहरुलाई ऋण मिलानका लागि आव्हान गर्ने, स्थानीय सरकारहरुलाई असुली प्रक्रियामा सहयोग गर्न अनुरोध गर्ने तथा राजनीतिक दल लगायत सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने निर्णय गरेका थिए ।

सहकारी संस्थाका अध्यक्षहरुले ऋण असुली प्रभावकारी नभएका कारण वचत फिर्तामा दवाव बढ्दै गएको भन्दै असुली प्रक्रियामा जिल्ला सहकारी संघले संयोजनकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

जिल्ला सहकारी संघको अगुवाईमा सबै सहकारी संघ संस्थाहरुले संयुक्त रुपमा अपिल प्रकाशन गरी सदस्यहरुले सहकारीमा जम्मा गरेको वचत फिर्ताका लाग सञ्चालक र कर्मचारी जिम्मेवार रहेको र ऋण असुलीका लागि सहकारीका शेयर सदस्यहरु उत्तरदायी हुनु पर्ने भन्दै समयमै ऋण भुक्तानका लागि संयुक्त रुपमा आव्हान गरेका थिए ।

जिल्ला सहकारी संघका तर्फबाट स्थानीय सरकारका प्रमुखहरुलाई पत्राचार गरी सहकारी ऐन, नियमावली तथा पालिकाको सहकारी ऐन र नियमावली अनसुार ऋण असुली प्रक्रियामा सहयोग गर्न आव्हान गरिएको छ ।

यसैक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले मंगलवार बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।

संघको पत्र बुझ्दै अध्यक्ष अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्न, सहकारीमा सदस्यहरुले जम्मा गरेको वचतको सुरक्षा गर्नका लागि ऋणी सदस्यहरुले समयमै ऋण भुक्तान गर्नु पर्नेमा जोड दिनुभयो । उहाले ऋण तिर्न अटेर गर्ने सदस्यहरुको हकमा पालिकाले सहजीकरण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।

यस्तै संघका सचिव तेज प्रसाद शर्मा, सञ्चालक खिम बहादुर कार्की, सल्लाहकार तेजेन्द्र थापा मगर, राष्ट्रिय सहकारी बैंक शाखा समन्वय उपसमिति बागलुङका सदस्य कुमार पौडेल सहितको टोलीले बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ ।

संघको पत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले सहकारीमा थप समस्या आउन नदिनका लागि नगरपालिकाले अनुगमनलाई प्रभावकारी बनाउनुका साथै सहकारीका सञ्चालक र कर्मचारीको क्षमता विकासका लागि तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सहकारीबाट ऋण लगेर तिर्न अटेर गर्ने सदस्यहरुको हकमा नगरपालिकाको सहकारी ऐन अनुसारका गतिविधि अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो । नगरपालिकाका तर्फबाट तत्काल ऋणीहरुलाई ऋण तिर्नका लागि आव्हान गर्ने पनि उहाँले जानकारी दिनुभएको छ ।

यस्तै बुधवार नै ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धन बहादुर कायतलाई संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले ध्यानाकषण पत्र बुझाउनु भएको छ । कार्यवाहक नगर प्रमुख कायतले सहकारीका सदस्यहरुको वचत सुरक्षाका लागि ऋण असुली प्रक्रियामा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

सहकारी संस्थामा सदस्यहरुको वचत रकम नै ऋणको रुपमा प्रवाह हुने गर्दछ संघले पालिकाहरुलाई दिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, संस्थाबाट लिएको ऋणको साँवा व्याज निर्धारित समयमा चुक्ता गर्न सहकारी संस्थाहरुले पटक पटक ताकेता गर्दा पनि ऋणी सदस्यहरुले ऋणको साँवा व्याज भुक्तानी नगरेमा सहकारी संस्थाहरुको संस्थागत विकास र सदस्यको वचत फिर्ता कार्यमा समेत असहज अवस्था सृजना हुन सक्छ ।

हाल यदाकदा समाजमा सहकारी संस्थाबाट लगेको ऋण तिर्नु नपर्ने वा नतिर्ने जस्ता वित्तीय अराजकताहरु देखा पर्न थालेका छन् । त्यस्ता अफवाह फैलाउने र ऋण नतिर्न आलटाल गर्ने ऋणीहरुलाई स्थानीय तहवाट कानुनी कार्वाही हुन सक्ने विषय वस्तु सहित सम्पुर्ण संस्थाका ऋणी सदस्यहरुलाई समयमै ऋणको साँवा, व्याज लगायतको रकम भुक्तानीका लागी आव्हान गरि दिन बागलुङ जिल्लाका १० वटै स्थानीय सरकारसंग गरिएको संघका सचिव तेज प्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्देशन विपरित कार्य गर्ने ऋणी सहस्यहरुको हकमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४ तथा स्थानीय तह सहकारी ऐन वमोजिम पालिकाबाट प्रदान गर्ने सेवा सुविधा समेत निरुत्साहनको प्रक्रिया अवलम्वन गरि सहकारी संस्थाको ऋण असुली कार्यमा सहजीकरण गरिदिन संघले अनुरोध गरेको छ ।

सहकारी संस्थामा सदस्यहरुले जम्मा गरेको वचत फिर्ताका लागि सहकारीका सञ्चालक र कर्मचारीको जति दायित्व रहेको हुन्छ, ऋण लगेका सदस्यहरुले समयमै ऋण भुक्तान गर्नु पर्ने उत्तिकै दायित्व हुन्छ भन्ने कुरा स्मरण गर्न र समयमै ऋण भुक्तानका लागि ऋणी सदस्यहरुलाई संघले आव्हान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *