कृषि मन्त्रीलाई नौ किलोको काउली उपहार

डम्मर बुढा मगर, बागलुङ
मंगलबार दिउसोभर बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा माघेसक्रान्ति मेला तथा जैमिनी कप चलिरहेको थियो । मेलामा स्थानीय कला, संस्कृति र विभिन्न प्रकारका झाँकी प्रदर्शनले दर्शकलाई मनोरञ्जन प्रदान गरि रहेको थियो । साँझ पर्न थाल्दा प्रमुख अतिथीका रुपमा आउनु भएका कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीलाई आयोजकले बिदाई गर्न थाल्यो ।

बिदाई गर्ने बेला कार्यक्रम स्थलको पछाडि पट्टीबाट एउटै नौ किलोको काउली लिएर जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शमाले मन्त्री अधिकारीलाई थमाउनु भयो । उक्त दृश्यले मेला हेर्न आएका हजारौँ दर्शकको ध्यान मञ्च तिर खिच्यो । धेरै चकित भए । नगर उपप्रमुख शर्माले कृषि मन्त्रीलाई मायाको चिनोका रुपमा काउली हस्तान्तर गरेको उद्घोष गर्दा चारै तिर हाँसो चलेको थियो । स्थानीय किसानले उत्पादन गरेको काउली मन्त्री अधिकारीले मुस्कुराउँदै ग्रहण गर्नुभयो ।

नगरपालिकाले मायाको चिनोका रुपमा धेरै वर्ष अगाडिदेखि स्थानीय उत्पादनलाई प्रयोग गर्दै आइको हुँदा यस कार्यक्रममा कृषि मन्त्री अधिकारीलाई नौ किलोको काउली उपहार दिएको उपप्रमुख शर्माले बताउनुभयो । उक्त नौ किलोको काउली जैमिनी नगरपालिका–२ का किसाना गंगाधर सापाकोटाले उत्पादन गर्नु भएको उहाँको भनाइ छ । स्थानीय उत्पादनलाई मायाको चिनो तथा सार्वजनिक कार्यक्रमहरुमा प्रद्धर्शन गर्दा बजारीकरणमा टेवा पुग्ने उपप्रमुख शर्मा बताउनुहुन्छ ।

“जैमिनी नगरपालिकामा व्यवसायिक तरकारी खेती गर्ने किसानको संख्या ठूलो छ, उहाँहरुले वर्षेनी तरकारी बेचेर लाखौँ आम्दानी गर्नुहुन्छ, किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले मायाको चिनाको रुपमा प्रयोग गर्ने र अन्य बेला पनि खरिद गर्ने गरेको छ,” उपप्रमुख शर्माले भन्नुभयो – “किसानालाई थप हौसला मिल्ने हुँदा उहाँहरुको उत्पादनलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।”
जैमिनी नगरपालिकाले किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स संचालनमा ल्याउन लागेको जानकारी दिनुभयो । यसै वर्षदेखि संचालन गर्ने गरि कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ ।

स्थानीय किसान प्रेमप्रसाद सापकोटाले नगरपालिकाबाट किसानलाई राम्रो सहयोग हुँदै गएको बताउनुभयो । मेला महोत्सवमा प्रदर्शन र मन्त्री तथा अन्य पाहुनालाई आफूहरुले उत्पादन गरेको वस्तु मायाको चिनोको रुपमा दिँदा किसानाको पहिचाना बढ्ने र बजारीकरणमा सहज हुने उहाँको भनाइ छ । पछिल्लो समय जैमिनीमा तरकारी खेतीप्रति धेरै किसानको चासो बढेको सापकोटाले बताउनुभयो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *