‘गाउँमा वन्यजन्तुको जोखिम बढ्यो’

डम्मर बुढा मगर, बागलुङ
दिनप्रति दिन बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरि सहर बजार झर्नेको संख्या ठूलो छ । सेवा सुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै गएका छन् । वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुख विरुवा बढेर गाउँ छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा वृद्धवृद्धा मात्रै बाँकी छन् ।

दशक अगाडिसम्म रमाइलो गाउँ बस्ती रित्तिएर उराठ लाग्दो बनेका छन् । झाडी पलाएर वरपर गर्ने बाटोसमेत ढाकिएको छ । घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ । घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय तत्रसित बन्दै गएका छन् । जिल्लाको गलकोट, जैमिनी, काठेखोला र बरेङका अधिकांश गाउँमा बाँदर आतंक बढी छ ।

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बारदलीमा झुण्डाएर राखिएका सामानसमेत नष्ट गरि दिने गरेको जैमिनी नगरपालिका–५ का कुलबहादुर थापाले बताउनुभयो । गाउँमा जनसंख्या कम हुँदै गएपछि बाँदर आतंक बढ्दै गएको उहाँको भनाइ छ । पहिलेसम्म जंगलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिँजोआज घरमै आएर सास्ती दिने गरेको गुनासो पोख्नुभयो ।

“गाउँमा वन्यजन्तुले धेरै दुःख पदन थाले, बारीमा लगाएको तरकारीदेखि खाद्यबाली बाँदरले सखाप पारि दिन्छ, गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ” उहाँले भन्नुभयो – “कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ, यो समस्या बढ्दै गएको छ, सरकारले ध्यान दिन प¥यो, बसाइँसराइ गरेर जाने त गइहाल्छन्, गाउँमा बस्नेलाई डर भयो ।”

काठेखोला गाउँपालिका–५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा वर्षेनी लाखौँको नोक्सानी व्यहोर्नु परेको गुनासो गर्नुभयो । हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँसराइ गर्ने भन्दै राज्यले बसाइँसराइ गरेर जानेले घर बारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनु पर्ने उहाँको भनाइ छ । गाउँमा विकास हुँदै गए पनि धेरैले सहर रोज्दा गाउँमा वन्यजन्तुको आतंक बढ्न थालेको कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो – “हामीहरु धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ, यस तर्फ राज्यले ध्यान दिनु प¥यो, गाउँमा सबै ठिक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यही खुसी छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *