नगरपालिकाले गरेका काम र थप सुधारका लागि सुझाव, पृष्ठपोषणको अपेक्षा छ : शर्मा


म्याग्दीको सदरमुकाम रहेको स्थानीय तह हो बेनी नगरपालिका । यही बेनी म्याग्दी जिल्लाको एउटा मात्रै नगरपालिका हो । यस नगरपालिका साविकका रत्नेचौर, ज्यामरुककोट, भकिम्लि, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर १० वटा वडा सहितको नगरपालिका बनाइएको हो । ७६.२५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा २०७८ सालको जनगणना अनुसारको जनसंख्या ३३ हजार ६२ रहेको छ । यही नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा अन्य कार्यहरुको बारेमा के कस्ता कार्य भएका छन् र आगामी योजनाहरु के कस्ता रहेका छन् भन्ने विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मासँग अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादित अंशः

बेनी नगरपालिकामा हजुरको पुनः आगमन पछि के कस्तो सकारात्मक परिवर्तनको प्रयास गर्नुभएको छ ?
पाँच वर्ष पछि म्याग्दी जिल्लामा मेरो पुनरागमन भएको छ । दुई वर्ष भन्दा बढी सेवा गरेर आजभन्दा करिब पाँच वर्ष अगाडी मैले म्याग्दी जिल्ला छाडेको थिएँ । थुप्रै स्थानीय तहमा बसेर काम गरेको अनुभव भएपनि बेनी नगरपालिकाको लागि भने म नयाँ हो । तथापी यस क्षेत्रको भूगोल र जनप्रतिनिधिहरुसँग भने म पहिल्यै देखि नै परिचित भएको हिसाबले कार्यसम्पादनमा तुलनात्मक रुपमा सहज अहिले सम्म भएको छ र आगामी दिनमा पनि हुने विश्वास लिएको छु । यस नगरपालिकामा म हाजिर भएको दिन देखि नै नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, अनुगमन लगायतका कार्यहरुलाई प्रभावकारी ढंगले सम्पादन गर्ने गरी कार्य थालनी गरिएको छ । त्यसका लागि आवश्यक कानून तथा कार्यविधिहरु तर्जुमालाई तीव्रता दिइएको छ । सेवालाई सूचना प्रविधिसँग आवद्ध गर्ने गरी प्रणाली विकास तथा परिमार्जनका कार्यहरु समेत अगाडी बढाइएको छ ।

हजुरको आगमनपछि सुन्दर र समुन्नत बेनी नगरपालिका बनाउनका लागि के कस्ता योजनाहरु अगाडी सारिएका छन् ?
मूलतः यो समय भनेको आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयन गर्ने समय हो । त्यसैले यस वर्षका लागि तय भएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि नगरपालिकाको सिङ्गो टिम परिचालित भएको छ । संघ तथा प्रदेशबाट वित्तीय हस्तान्तरणको रुपमा आएका आयोजना तथा कार्यक्रम र नगरपालिकाले पहिचान गरी बजेटमा समावेश गरेका आयोजना र कार्यक्रमलाई तोकिएको समय, गुणस्तर र बजेट सीमा भित्र रहने गरी सम्पादन गर्न ध्यान दिइएको छ । यस वर्ष बेनी अर्थुङ्गे, तोरीपानी पात्लेखेत पाखापानी सडक लगायतका अन्य चार सडकहरु स्तरोन्नती, पशु बधुशला स्तरोन्नती, काली पूल क्षेत्रमा सुविधा सम्पन्न तरकारी बिक्री केन्द्र निर्माण, गलेश्वरधाम क्षेत्र विकास, खुला मञ्च स्तरोन्नती, काली गण्डकी स्वच्छता सम्बद्ध पूर्वाधार निर्माण लगायतका कार्य अगाडी बढीरहेका छन् । सेनिटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि जग्गा खोजी गर्ने कार्य भइरहेको छ । त्यस्तै गरी बहुवर्षीय आयोजनाको रुपमा बेनी बजार केन्द्रित शहरी पूर्वाधार निर्माण कार्य अगाडी बढेको छ । अन्य पनि धेरै योजनाहरुमा काम भै रहेका छन् ।

बेनी नगरपालिकाको शिक्षा, स्वास्थ्य, विद्युत तथा खानेपानीको क्षेत्रमा अबका दिनमा के कस्तो योजना तथा कार्यक्रम ल्याउने योजना रहेको छ ?
बेनी नगरपालिकाले योजनाबद्ध ढंगले आफ्ना काम कारबाहीहरु अगाडी बढाएको छ । हामी अहिले विगत तीन वर्ष पहिला तर्जुमा भएको नगर विकास योजनाका आधारमा अगाडी बढाएका छौं । यस योजनामा पुनरावलोकनको खाँचो देखिएको छ । यस पुनरावलोकनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि लगायतका क्षेत्रमा कार्यान्वयन योग्य नीति तथा आयोजनाहरु पहिचान गर्नेछ । आवधिक योजनाका लक्ष्य उद्देश्य प्राप्त गर्ने गरी बार्षिक बजेटमा आयोजना तथा कार्यक्रमहरु छनोट गरेर अगाडी बढिने छ । अहिले स्थानीय तहहरुमा वित्तीय आकार खुम्चिदै गएको छ । त्यसैले उपलब्ध वित्तीय स्रोतलाई रणनीतिक रुपमा परिचालन गर्न नसकेमा नगरपालिकाले देखिने गरी उपलब्धी हासिल गर्न सक्दैन । नगरपालिकाको खर्चमा मितव्यितता कायम गरेर, आन्तरिक आम्दानी बढाएर तथा शिक्षा, स्वास्थ्य, कृषि, पशु तर्फ हाल सञ्चालनमा रहेका कार्यक्रमको समीक्षा गरी आवश्यकता अनुसार घटाउने हटाउने प्रक्रिया थालनी नगरे सम्म नयाँ कार्यक्रमहरु सञ्चालन गर्न कठिन छ । नगरपालिकाको केन्द्रलाई वडा कार्यालयसम्म जोड्ने सडकहरु बाह्रै महिना विना अवरोध सञ्चालन गर्ने गरी सडक स्तरोन्नती गर्न मेरो जोड रहनेछ ।

अन्य पालिकाहरुमा भन्दा बेनी नगरपालिकामा कर्मचारी धेरै थुप्रिए र कतिपय काममै पनि आउने तथा काम ध्यान नदिने भन्ने जस्ता आरोप छन्, यहाँका कर्मचारी व्यवस्थापन कसरी भएका छन् ? के अहिले नगरपालिकामा कर्मचारी धेरै भएकै हुन् त ?
हाल नगरपालिकामा नेपाल सरकारले निर्धारण गरेको दरबन्दी भित्रकै कर्मचारीहरु पदपूर्ती भई कामकाज गरिरहेका छन् । सदरमुकामको नगरपालिका भएको कारणले पनि नगरमा कर्मचारीको अभाव नभएको होला । हाल वडा कार्यालयमा प्राविधिक कर्मचारीहरु समेत खटाई वडा तहबाटै आयोजना सम्झौता र कार्यान्वयन गर्ने गरी अधिकार प्रदान गरिएको छ । नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरीलाई पूर्ण रुपमा लागू गरिएको छ । भौतिक रुपमा समयमै कार्यालयमा उपस्थित नभईकन कसैले पनि हाजिर गर्न नसक्ने अवस्था रहेको छ । यसले कार्यालयको समय पालनामा सबैलाई बाध्य बनाएको छ ।

म्याग्दीको सदरमुकाम रहेको बेनी नगरपालिकाको व्यवस्थापन गर्न जटिल छ, तर पनि यसलाई व्यवस्थित गर्दै आन्तरिक आम्दानी बढाउनका लागि हजुरको योजना के छ ?
बेनी नगरपालिका क्रमशः शहरीकरण तर्फ उन्मुख भइरहेको नगरपालिका हो । बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण भएका घर टहराहरु थुप्रै छन् । बजार क्षेत्रमा खुला ठाउँको अभाव छ । सानो भौगर्भिक हलचलले पनि ठूलो धनजनको क्षति हुन सक्ने जोखिम रहेको छ । साँघुरो क्षेत्र भएकोले सडक तथा भवन मापदण्ड कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको छ । तथापी मापदण्ड मिचेर घर टहरा निर्माण गर्न दिइएको छैन । नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारले निर्धारण गरेका भवन तथा सडक मापदण्ड पालना गरेर जानुपर्ने बाध्यता हामीसँग छ । नगरपालिकाले बनाउने मापदण्डहरु संघ र प्रदेश मापदण्ड विपरीत हुने गरी बनाउन सकिने अवस्था पनि छैन । तथापी हाम्रो जस्तो समस्या पुराना थुप्रै नगर पालिकाहरुमा रहेको छ र ती पुराना नगरपालिकाहरुले गरेको अभ्यास समेत अध्ययन गरेर बेनी बजारलाई व्यवस्थित गर्नका लागि कार्यविधि निर्माण गरेर अगाडी बढ्ने गरी योजना बनाइएको छ । यस सम्बन्धमा अध्ययन गरी कार्यविधिको मस्यौदा तयार गर्न कार्यदल समेत निर्माण भएर काम गरिरहेको छ ।

आफ्नो क्षेत्र भित्र सार्वजनिक जग्गा के कति छन् ? बेनी नगरपालिकाको नाममा रहेका जग्गाको अवस्था के छ र यसको प्रयोग कसरी भएको छ ?
बेनी नगरपालिका अन्तरगत रहेका सार्वजनिक जग्गाको विवरण संकलन गर्ने कार्य भइ रहेको छ । बेनी नगरपालिकाको आफ्नै स्वामित्वमा रहेको जग्गा न्यून छ । नगर कार्यपालिकाको कार्यालय रहेको जग्गाको समेत स्वामित्व प्राप्त भई सकेको छैन । वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायतका संस्थाहरु नगरपालिका मातहत रहेका छन् । यी संस्थाहरुको स्वामित्वमा रहेको जग्गामा कार्यालय भवनहरु निर्माण भई नागरिकलाई सेवा दिने काम हुँदै आएको छ ।

बेनी नगरपालिकाले के कसरी राजश्व उठाएको छ र हाल सम्मको अवस्था हेर्दा राजश्व आम्दानीको अवस्था के कस्तो रहेको छ ? यसलाई बढाउनका लागि भावी योजनाहरु के हुन सक्लान् ?
नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐनले प्रदान गरेको राजश्व क्षेत्राधिकार भित्र रहेर बेनी नगरपालिकाको नगरसभाले बनाएको कानून बमोजिम बेनी नगरपालिकाले राजश्व संकलन गर्दै आएको छ । नगरपालिकाले राजश्व उठाउन पाउने मुख्य राजश्व स्रोत अन्तरगत सम्पत्ति कर, फोहोरमैला शुल्क, कवाडी कर, व्यवसाय कर, विज्ञापन कर, मालपोत, सेवा शुल्क तथा दस्तुर, प्राकृतिक स्रोतको रोयल्टी आदी रहेका छन् । राजश्व संकलनको लागि विद्युतीय प्रणाली प्रयोगमा ल्याइएको छ । हाल यस प्रणालीलाई विस्थापन गरी महालेखा नियन्त्रक कार्यालयले प्रयोगमा ल्याएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली अन्तरगत राजश्व मोड्युललाई पूर्ण रुपमा प्रयोगमा ल्याई मोबाइल एप्लिकेशनबाट करदाताले घरमै बसेर कर तिर्न सक्ने गरी प्रणाली विकासको तयारी भइरहेको छ । विगतमा उद्योग वाणिज्य संघ सँगको साझेदारीमा व्यवसाय कर संकलन गर्दै आएकोमा महालेखापरीक्षकले लेखापरीक्षणको सिलसिलामा सो प्रक्रियामा प्रश्न उठाएकोले नेपाल सरकारले निर्धारण गरे बमोजिम विद्युतीय प्रणालीबाट राजश्व संकलन गर्ने गरी तयारी गरिएको छ । त्यसको लागि हाल कायम रहेका व्यवसाय करमा आवद्ध करदाताको विवरण डिजिटाइज गर्ने कार्यको लागि सबै वडा कार्यालयहरु र उद्योग वाणिज्य संघ म्याग्दीसँग छलफल भइरहेको छ । सबै सरोकारवालाहरुबाट सकारात्मक सहयोग प्राप्त भएमा अर्को आर्थिक वर्षदेखि करदाताले मोबाइलबाट नै कर तिर्न मिल्ने गरी प्रणाली विकास हुनेछ ।

अन्त्यमा केही भन्नु छ कि ?
बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सम्पूर्ण टिम एकदमै उर्जावान पाएको छु । नगरको विकास र समृद्दिको लागि नगरले लिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा यहाँको सम्पूर्ण कर्मचारी टिम एकबद्ध छ । छलफल र संवादबाट नै समस्याको समाधान गरी अगाडी बढ्न सकिने हुँदा नगरले सम्पादन गरेका काम कारबाहीका सम्बन्धमा आगामी दिनमा गर्नुपर्ने सुधारका लागि नगरबासीका तर्फबाट सुझाव र पृष्ठपोषणको अपेक्षा गर्दछु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *