प्रहरीले आत्महत्या दुरुत्साहनको जाहेरी नलिएको भन्दै पत्रकार सम्मेलन

आदर्श सञ्चार, बागलुङ
२२ गते राती आफ्नै घरमा मृत फेला परेकी बागलुुङको काठेखोला गाउँपालिका ५ बिहुँकी १८ वर्षीया किशोरीको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले न्यायको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गर्न खोजेको भएपनि प्रहरीले जाहेरी नलिएको भन्दै उनिहरुले पत्रकार सम्मेलन गरेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका वडा नंं ३ को बरंजाकी सोनीया परियारले १३ वर्षको उमेरमा २०७६ असोज १२ गते बागलुङको काठेखोला गाउँपालिका ५ का २४ वर्षीय सन्तोष भन्ने अगन्धर दर्जीसँग प्रेम विवाह गरेकी थिइन् । उनका ४ वर्षीय छोरा छन् ।
सोमबार राती ९ बजे सोनियाले झुण्डिएर आत्महत्या गरेको भन्दै सन्तोषको परिवारले मंगलबार विहान प्रहरीलाई खबर गरेका थिए । मृतकका माइती पक्षलाई सोनिया विरामी भएको भन्दै सोमबार राती १२ बजे खरब गरिएको थियो ।

पति सन्तोषले पटक पटक यातना दिएको, मानसिक र शारिरीक हिंसा समेत गर्ने गरेको सोनियाले माइतीलाई बताउँदै आएकी थिइन् ।सोमबार राती समेत श्रीमानले कुटपिट गरेको भन्दै सोनियाले दिदीलाई म्यासेज गरेकी थिइन् । लिन आउछु मेरो घरमा आइज भन्दा बहिनीले भोलि उज्याले भएपछि समाज जोडेर मात्र घर छोड्ने बताए पनि बहिनीको रातीनै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै मृतकका दिदी सममाया परियारले बताइन् । तर, प्रहरीले जाहेरी दर्ता नगरेको उनिहरुको आरोप छ ।

उक्त घटनापछि जिल्ला प्रहरीमा आत्महत्या दुरुत्साहनको मुद्दा लिएर जाँदा दर्ता समेन नभएको सममायाले गुनासो गरिन् ।
आफुहरु बहिनीको घर पुग्दा खाटमा सुताएको अवस्था देखेको, उनको शरिरमा निल डाम रहेको भन्दै सममायाले मारेको वा मर्न बाध्य बनाएको हुन सक्ने बताइन् । तर प्रहरीले आजभोली ढोकाको चुकुलमा पनि झुण्डीएर पनि मन्छे मर्छन् भन्दै जवरजस्ती आत्महत्या गरेको कागजमा सही गर्न लगाएको बताइन् ।

श्रीमानले कुटेको भन्दै सोनिया गत पुस २८ गते समेत माइत गएकी थिइन् । फोनमार्फत ज्वाइलाई सम्झाई बुझाई गर्दा आगामी दिनमा तेस्तो नगर्ने सर्तमा माघ २ गते घर फर्किएको सममायाले बताइन् ।

सोमबार सन्तोषकी हजुरआमाको १३ दिने मृत्यु संस्कार सकेर घर फर्कदा पतिपत्नी विच झडगा भएको स्थानियले बताएका छन् । सोनियाका पति सन्तोष दुवइमा काम गर्न गएको बेला सासु खिकुमारी दर्जीले सोनिया बस्ने घर समेत जलाइदिएको सममायाले बताइन् ।

प्रहरीले हप्कीदप्की लगाएपछि मृतकका दिदी भिनाजु, मामा र माइजु समेतले न्यायको लागि कानून व्यवसायी, पत्रकार र अधिकारकर्मी गुहारेका छन् । उनीहरुले पत्रकार सम्मेलन गरेर सोनियाको हत्या वा दुरुत्साहन भएको अनुसन्धान गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

प्रहरी उपरिक्षक ऋषिराम कंडेलले शुरुवातमा घटना सामान्य लागेको भएपनि प्रारम्भिक अनुसन्धानमा सबैतिरको कुरा बुझ्दा केही गम्भिर देखिएको बताउनु भयो । शवको पोस्मार्टम रिपोर्ट आएपछि थप तथ्य बुझेर थप अनुसन्धान अगाडी बढाउने उहाँले बताउनु भयो ।

यो पनि पढ्नुहोस्