सहकारीप्रतिको नकरात्मक धारणा परिवर्तन गर्न सबै लागौ : गाउँपालिका अध्यक्ष विक


आदर्श सञ्चार, बागलुङ
ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर वि.क.(हिमाल) ले पछिल्लो समय सहकारी क्षेत्रप्रति देखिएको नकरात्मक धारणालाई परिवर्तन गर्न सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड दिनु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको टोलीसंग आइतवार गाउँपालिका कार्यालयमा भएको छलफल कार्यक्रममा अध्यक्ष विकले यस्तो बताउनु भएको हो ।

सहकारीलाई समाजवादको आधार बनाउन सक्दा मात्रै ग्रामिण क्षेत्रको आर्थिक विकास गर्न सकिने बताउनुभयो । सहकारीलाई यसको मर्म र भावना अनुसार सञ्चालन गर्न सक्ने हो भने सहकारीमार्फत समाज रुपान्तरणमा धेरै काम गर्न सकिन्छ, अध्यक्ष विकले भन्नुभयो,–‘पछिल्लो समय केही सहकारीका सञ्चालकको बद्मासीका कारण आम समुदायमा नकरात्मक धारणा सिर्जना भएको छ, यसलाई चिर्न आवश्यक छ ।’

सहकारीले ग्रामिण क्षेत्रका समुदायको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेका छन्, तर केही सहकारीमा देखिएको समस्याका कारण आम समुदायमा देखिएको निरासा र नकरात्मक धारणामा परिवर्तन ल्याउनका लागि राज्य र अभियानबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

ताराखोला गाउँपालिकाले सहकारीमार्फत कृषि र पशुपालनलाई प्राथमिकता दिएको जानकारी गराउदै उहाँले स्थानीय तहमार्फत सहकारीलाई थप प्रभावकारी बनाउन समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विकले सहकारीको प्रवद्र्धनका लागि अभियानसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

ताराखोला गाउँपालिका सहकारी शाखाका अधिकृत उदित थापाले गाउँपालिकामा भएका सहकारीहरुको अवस्था लगायत गाउँपालिकाका तर्फबाट भएका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ बागलुङले सञ्चालन गरेको जिल्लाका १० वटै पालिकाहरुमा पुगेर सहकारीका विषयमा परामर्श गर्ने तथा भेटौ सदस्य अभियान अन्तरगत पालिकाहरुमा पुगेर सदस्य संस्थाहरुसंग छलफल गरिने संघका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो ।

संघको अभियान, ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउने सन्दर्भमा संघका सचिव तेज प्रसाद शर्माले जानकारी गराउनु भएको थियो । जिल्ला सहकारी संघले राष्ट्रिय सहकारी दिवसका अवसरमा सबै गाउँपालिका पुग्ने अभियान अन्तरगत आइतवारदेखि ताराखोलाबाट अभियान शुरु गरेको छ ।

जिल्ला सहकारी संघको टोलीले सबै पालिका र सदस्य सहकारी संघ संस्थाहरुसंग भेटघाट गर्ने अभियान सञ्चालन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *