ओढारचौर–फोर्से–ढोडेनी सडक ‘ट्रयाक’ खोलेको २५ वर्षपछि स्तरोन्नति

सिर्जना पन्त, बागलुङ
ओढारचौर–फोर्से–ढोडेनी सडक ट्रयाक खुलेको २५ वर्षपछि स्तरोन्नति हुन थालेको छ ।

ढोडेनीका स्थानीयले गैँची र कोदालोको सहायताले २०५६ सालमा यो सडकको ट्रयाक खोलेका थिए ।

५४ वर्षको उमेरमा कम्मरमा लट्ठा बाँधेर गैँची र कोदालोले ओढारचौरको पहरो फोडेको सम्झदै बागलुङ नगरपालिका ४ ढोडेनीका प्रेम प्रसाद आचार्यले आफुले भोगेको दुखः छोरानातीले नभोगुन भनेर त्यो बेला स्थानीय एकजुट भएको बताउनु हुन्छ ।

‘पहरोमा गल गाडेर, गलमा लट्ठो बाँधेर त्यही लट्ठो कम्मरमा बाँधी झुण्डिएर भिर काटेर डोरेटो खनेका थियौँ, आचार्य भन्नुभयो,’ अहिले म ७९ वर्षको भए, बाटो बन्न २५ वर्ष लाग्यो ।’ ढोडेनीकै ७६ वर्षीय जीवानन्द सापकोटा र ७४ वर्षीय टिकाराम आचार्य पनि घन बजारेर बनाएको सडक स्तरोन्नति नहुँदा यहाँका स्थानीयले पाएको सास्ती सुनाउँदै अब भने आशा पलाएको बताउनु हुन्छ । तत्कालिन जिल्ला विकास समितिको ५ लाख रुपैयाँ र ढोडेनीका स्थानीयले २०५६ सालमा ३६ दिनसम्म ‘झारा’ श्रमदान गरेर खनेको बाटो यतिबेला असार महिना भित्र कालोपत्र हुने गरि निर्माण कम्पनीसँग सम्झौता भएर काम भइरहेको छ ।

विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले तीनओटा सडक कालोपत्र गर्न ५८ करोड रुपैयाँ अनुदान पाएको थियो । यहि बजेटबाट कालोपत्र गर्नका लागि बागलुङ नगरपालिकाले ओढारचौर–ढोडेनी फोर्से सडकसँगै वडा नम्बर १ गणेशथान घुम्ती–माझीबस्ती–निरयघाट सडक र वडा नम्बर ७ को मुलपानी स्कुल हर्राचौर कालिमाटी–तितौरे सडक छनौट गर्याे ।

बागलुङ नगरपालिकाले ०८१ जेठ १५ गते आशिस÷फेवा जेवीसँग तीनओटा सडक १२.५ किलोमिटर कालोपत्र गर्न ४९ करोड २१ लाख रुपैयाँमा ०८२ असार ३० भित्रमा निर्माण सक्ने गरि सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार २.१ किलोमिटर ओढारचौर–ढोडेनी–फोर्से सडकमा निर्माण कम्पनीले मंसिरबाट काम सुरु गरेको थियो । काम सुरु गरेको ५ महिनामा संरचना निर्माणको ९५ प्रतिशत काम सकिएको निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले बताउनु भयो ।

नाली बनाउने, पर्खाल लगाउने लगाएतका काम सकिएको भन्दै वैशाख महिना भित्रै कालोपत्र समेत गरिसक्ने गरि काम भइरहेको शर्माले बताउनु भयो ।  ढोडेनीसँगै पर्वतको जलजला गाउँपालिकाको फोर्से र धाइरिङ बागलुङ बजारबासीका लागि दुध र तरकारी उपलब्ध गराउँने उर्वरा भूमि हो ।  बागलुङ बजारबासीले उपभोग गर्ने मौसमी मात्र होइन बेमौसमी तरकारी समेत यहीँ उत्पादन हुन्छ ।

स्थानीयले ट्रयाक खोलेपछि पनि स्तरोन्नती नहुँदा यहाँका महिलाहरु डोकोमा तरकारी बोकर विक्रि गर्न बागलुङ बजार पुग्थे । ४ बजे डोकोमा तरकारी बोकी २ घण्टामा बागलुङ बजार पुगको सम्झदै ढोडेनीकी ५१ वर्षीया चित्रकुमारी सापकोटा सडक कालोपत्र भएपछि भने सहज हुने बताउनु हुन्छ ।

यो पनि पढ्नुहोस्