बागलुङ दुग्ध सहकारी संघले बेच्यो ५ करोड ५० लाखको दुग्धजन्य पदार्थ

आदर्श अनलाईन, बागलुङ ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले गत आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैया बराबरको दुध तथा दुग्धजन्य पदार्थ विक्री वितरण गरेको छ ।

१३ वटा दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध १ हजार ५ सय जना कृषकहरुले उत्पादन गरेको दुध र प्रशोधित दुग्धजन्य पदार्थ गरी आर्थिक वर्ष २०७५÷०७६ मा ५ करोड ४९ लाख ५० हजार १ सय १ रुपैया बराबरको विक्री गरेको संघले जनाएको छ ।

संघले ४ करोड ३० लाख ९ हजार ७ सय ७४ रुपैयाको दुध, ५३ लाख ७९ हजार ९ सय ५० रुपैयाको दही, २८ लाख ८९ हजार ५ सय ६७ रुपैयाको पनिर र १८ लाख २ हजार २ सय ८१ रुपैयाको घ्यू विक्री गरेको छ । यस्तै १३ लाख ७७ हजार ४ सय ८० रुपैयाको छुर्पी, १ लाख ६५ हजार ५ सय ४० रुपैयाको आइसक्रिम, १ लाख ८८ हजार १ सय ९९ रुपैयाको खुवा, ४६ हजार ६ सय ६० रुपैयाको नौनी र ९० हजार ६ सय ५० रुपैयाको लस्सी विक्री गरिएको संघका प्रवन्धक धरणीधरण सापकोटाले जानकारी दिनुभयो ।

पशुपालक कृषकहरुले उत्पादन गर्ने दुध स्थानीय सहकारी संस्थाहरुले संकलन गरी संघमा ल्याउने गर्दछन् । संघका सदस्य सहकारीहरुले प्रत्येक दिन २ हजार ५ सय लिटर दुध संघमा ल्याउने गर्दछन् । संघले दैनिक २ हजार ३ सय लिटर दुध विक्री वितरण गर्दै आएको छ । दुधसंगै प्रशोशित दुग्धजन्य पदार्थहरु बिक्री गर्न थालेपछि दुध खेर जाने समस्या कम हुदै गएको प्रवन्धक सापकोटाले बताउनुभयो ।

संघले गत आर्थिक वर्षमा संघमा आवद्ध १३ वटा दुग्ध सहकारी संस्थामा शेयर सदस्यहरुबाट संकलित ६ लाख ३४ हजार ७२ लिटर दुध विक्री वितरण गरेको थियो । चालु आर्थिक वर्षमा ६ लाख ५० हजार लिटर दुध विक्री गर्ने लक्ष्य लिइएको संघका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।

संघले १३ वटा संस्थालाई फ्लो सिजनमा दुध विक्री गरेकोमा २ करोड ५५ लाख ३१ हजार ७० रुपैया र ड्राई सिजनमा १ करोड ९ लाख २७ हजार ३ सय १२ रुपैया गरी ३ करोड ६४ लाख ५८ हजार ३ सय ८२ रुपैया सदस्य सस्थाहरु मार्फत दुग्ध उत्पादक शेयर सदस्यहरुलाई प्रदान गरेको छ ।

संघमा दुध बिक्री गरेर फ्लो सिजनमा सबै भन्दा बढी नमुना दुग्ध उत्पादक सहकारी संस्था बिहुले ४८ लाख ४९ हजार ८ सय २१ र सबै भन्दा कम अमृत दुग्ध उत्पादक सहकारी संस्था भीमापोखराले ४ लाख ६९ हजार ६७ रुपैया प्राप्त गरेका छन् । यस्तै ड्राई सिजनमा दुध विक्री गरे वापत सबै भन्दा बढी बागलुङ पशु स्रोत विकास फार्म दुग्ध सहकारी संस्था भीमापोखराले २३ लाख ३४ हजार ४ सय ४७ रुपैया र सबै भन्दा कम अमृृत दुग्ध सहकारीले १ लाख १४ हजार ५३ रुपैया प्राप्त गरेका छन् ।

दुध र दुग्धजन्य पदार्थ उत्पादन, संकलन, बजारीकरण र प्रशोधनका लागि थप लगानी र समन्वय आवश्यक रहेको संघले जनाएको छ । बागलुङ बजारमा आवश्यक दुधको करिब ७० प्रतिशत आपूर्ति बागलुङ दुग्ध उत्पादक सहकारी संघले पुरा गरेको छ । कृषकले उत्पादन गरेको दुधलाई खेर जान नदिनका लागि प्रशोधित दुग्धजन्य पदार्थको विक्री वितरणलाई ध्यान दिन आवश्यक रहेको छ । पछिल्लो समय बागलुङ दुग्ध सहकारीले उत्पादन गरेको छुर्पी देश लगायत विदेशमा विक्री वितरण हुन थालेको अध्यक्ष गौतमले बताउनुभयो ।

बागलुङ जिल्लामा २४ वटा प्रारम्भिक दुग्ध उत्पादक सहकारी संस्थाहरु रहेका छन् । ति मध्ये २१ वटा संस्थाहरुले दुध उत्पादन र विक्री वितरण गर्दै आएका छन् । बागलुङ दुग्ध उत्पादक सहकारी संघमा १३ वटा आवद्ध छन्, जिल्लाको दक्षिण भेगका ४ वटा दुग्ध सहकारी संस्थाहरुले पर्वत जिल्लाको कुश्मा बजारमा दुध विक्री वितरण गर्ने गरेका छन् । अन्य ५ वटा संस्थाले बागलुङ बजार लगायत अन्य स्थानीय बजारमा दुध विक्री वितरण गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *