मनाङमा भेटिए संक्रमित, अब गण्डकीका २ जिल्लामात्रै संक्रमणमुक्त

आदर्श अनलाइन, पोखरा

मनाङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा शुक्रबार २ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

शुक्रबार कोरोना पोजेटिभ देखिएका दुवै शिक्षक हुन् । संक्रमण पुष्टि भएका ५७ वर्षे पुरुषको स्थायी घर विराटनगर हो भने अर्का ५१ वर्षका पुरुष चितवनका हुन् । संक्रमित दुवैलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको मनाङका स्वास्थ्य प्रमुख बद्रीराज आचार्यले जानकारी दिए ।

यसअघि मनाङमा ४ असारमा एक ५७ वर्षे पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । १५ असारमा उनी निको भएपछि त्यहाँ संक्रमित भेटिएका थिएनन् । हालसम्म मनाङबाट ८१ जनाको स्वाब परीक्षण गरिएको उनले बताए ।

शुक्रबार मनाङबाहेक नवलपुर र बागलुङमा संक्रमित भेटिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरका १८ र बागलुङका १ जनामा संक्रमण देखिएको हो । हाल मुस्ताङ र म्याग्दीमा एक जना पनि संक्रमित छैनन् ।

गण्डकी प्रदेशमा हालसम्म १८ सय ४४ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १५ सय ७५ जना निको भएका छन् भने ७ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, स्याङ्जाका २, बागलुङ, गोरखा र तनहुँका १/१ जना छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *