–एसके जिएम, बागलुङ
कोरोना संकट संग जुध्न बागलुङका दश स्थानीय तह एकजुट भएका छन् ।
स्थानीय तहले कोरोना महामारी टार्न संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा कोरोना संकट संग जुध्न कोरोना कोष स्थापना गरेका छन् ।
५५ लाखको कोरोना कोषमा जिल्लाको अविभावक स्थानीय तह बागलुङ नगरपालिकाले रु. १० लाख र र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । जिल्लाका दश स्थानीयले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोना संग सम्बन्धीत काममा खर्च गर्नका लागि संयुक्त रुपामा कोष स्थापना गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
“स्थानीय तहले आ–आफ्नै ढंगले तयारी थाल्नुभएको छ, त्यो प्रयाप्त छैन, किनभने कोरोना दर निकै बढ्दो रहेको छ” पौडेलले भन्नुभयो “कतिपय कुरा स्थानीय तह एक्लैले नसक्ने अवस्था छ, एम्बुलेन्स, शव वाहन लगायतका सवारी सञ्चालनमा समेत साझेदारिताका लागि कोष स्थापना गरिएको हो ।”
जिल्लाको गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका तथा काठेखोला गाउँपालिकाले बागलुङ नगरपालिकाको समन्वयमा स्थापना गर्न थालिएको कोषमा पाँच लाखका दरले जम्मा गर्नेछन् ।
कोराना कोषमा जम्मा भएको रकम कोरोना ंसंक्रमितको उपचार गराउदै आएको धौलागिरी अस्पतालसंग समन्वय गरी खर्च गरिनेछ । यस्तै बैठकले स्वास्थ्यकर्मीको दरबन्दी परीपूर्तीको लागि संघ तथा प्रदेश सरकार संग आग्रह गरिएकाृ छ । कोरोनाको पहिलो लहरमा समेत बागलुङका दश स्थानीय तहले संयुक्त रुपमा कोरोना संग जुध्न कोष स्थापना गरी काम गरेका थिए उक्त काम प्रभावाकारी भएको थियो त्यसैले कोरोना कहरको दोस्रो लहरका लागि कोष स्थापना गरिएको काठेखोला गाउापालिकाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।
अहिले शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव वाहनको व्यवस्थापन गरेको छ । नगरपालिकाको शव वाहन नगरपालिका भित्र मात्रै सेवा नदिएर जिल्लाभर सेवा दिन तत्पर रहेको बागलुङ नगरपालिकाले जनाएको छ । अहिले १० पालिकाका ४० कोरोना संक्रमित धौलागिरी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।