गलकोटले दियो किसानलाई ब्याज अनुदान : बढ्यो कृषिमा लगानी


–खेमराज गौतम, बागलुङ

किसानलाई लगानी बढाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई गलकोट नगरपालिकाले ब्याज अनुदान दिएको छ ।

ब्याज अनुदान पाए पछि यहाँका कृषकहरुले ऋण निकालेर कृषि फार्ममा लगानी बढाउँदै गएका छन् । गलकोट नगरपालिकालाई कृषि तथा पशुपंक्षीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई ब्याज अनुदान दिने कार्यक्रम ल्याएको गलकोट नगरपालिकाले जनाएको छ । यसका लागि बैंक वित्तीय सहकारी संस्थाहरु सँग आवेदन माग गरेर सबै भन्दा सस्तोमा लगानी गर्ने मध्ये एक सहकारी छनोट गरिएको छ ।

कृषिमा भविष्य खोज्दै गरेको तर लगानी अभावमा समस्या परेका किसानहरुले अहिले धमाधम ऋण निकालेर लगानी थप्दै र नयाँ फार्म स्थापना गर्न थालेका छन् ।

गरीब किसानले सोझै बंैक तथा सहकारीमा ऋण लिदाँ धितो राख्न पर्ने, ऋण नदिन, ब्याज धेरै हुँदा लगानी गर्न नसकेका किसानलाई गलकोट नगरपालिकाले अनुदानमा ब्याज रकम तिर्ने गरी ऋण उपलब्ध गराएको छ । जसका लागि किसानले फर्म धितो राखे पुग्नेछ ।

चालु आर्थिक वर्षमा शुरु भएको किसानलाई ब्याज दिने योजना प्रभावकारी बन्दै गएको गलकोट नगरपालिकाका पशु तथा कृषि शाखाका संयोजक हरिदत्त सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार गलकोट नगरपालिका क्षेत्रबाट हाल सम्म ९७ जनाले सयपत्री बहुउद्धेश्यीय सहकारी संस्था मार्फत् सहुलियत ब्याजदरमा नगरपालिकाले अनुदान दिएको छ ।

१८ महिनाका लागि ९७ जनाले दुई लाख देखि पाँच लाख रुपैयाँ सम्म फर्म धितो राखेर कृषि तथा पशु फार्म विस्तार गरेका छन् । सहकारीलाई ९.७ प्रतिशत व्याजमा ऋण सम्झौता भएकोमा नगरपालिकाले ६.७ प्रतिशत ब्याज अनुदान दिँदै आएको सुवेदीले बताउनुभयो । यसमा ३ प्रतिशत मात्रै किसानले तिर्नेछन् ।

“लगानी नपाउँदा किसानलाई फर्म विस्तारमा समस्या भएको गुनासो किसानहरुको थियो, कसरी लगानी बढाउन सकिन्छ भन्ने नगरपालिकाले योजना गराउँदा फर्मलाई अनुदान नदिई ब्याजमा अनुदान दिने योजना बनाएका छौं” सुवेदीले भन्नुभयो “किसानले धितो राख्न समेत समस्या भएर फार्म विस्तार नभएका किसानलाई ब्याजमा अनुदान दिदाँ प्रभावकारी बन्दै गएको हो, ब्याजमा अनुदान दिन थाले पछि नगरपालिकामा १ सय १० प्लाष्टिक टनेल तथा ४० पशुपंक्षीको फर्म विस्तार भएको छ ।”

सुवेदीका अनुसार हामीले अनुदान दिदाँ किसानले अनुदानका लागि मात्रै फर्म विस्तार गर्ने पछि निरन्तरता नदिने र नक्कली किसानले लाभ लिन सक्ने भएकाले असली किसानले मात्रै ऋण खोज्ने भएकाले किसानले जम्मा ३ प्रतिशतमै ऋण पाउने गरी सहकारी संग सम्झौता गरेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

नगरपालिकाले दिएको व्याज अनुदानमा ऋण निकालेर दुई प्लाष्टिक टनेल थपेको गलकोट नगरपालिका–५ का किसान राजु बस्नेतले बताउनुभयो । उहाँको कृषि तथा पशुपंक्षी फार्ममा १० भैसी, दुई गाई तथा प्लाष्टिक टनेल भएकामा ब्याज अनुदान पाए पछि ऋण निकालेर थप दुई टनेल थपेर ७ पु¥याउनुभएको छ ।

ब्याज अनुदान दिन सम्झौता गरेको सहकारीबाट ९७ जना कृषकले दुई करोड ९७ लाख रुपैयाँ ऋण लगेको सयपत्री बहुउदेश्यीय सहकारी संस्थाले जनाएको छ । नगरपालिकाले दूधमा समेत पालिकालाई आत्मनिर्भर गराउन भैैसी पकेट क्षेत्र समेत बनाउन थालेको छ । गलकोट नगरपालिका ८ र ९ नम्बर वडामा ४१ लाख लागतमा ८० उन्नत जातका पाडापाडी खरिद गरी भैसी पकेट क्षेत्र बनाउने र २५ लाखको लागतमा हटिया बजारमा चिस्यान केन्द्र स्थापना गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले चिस्यान केन्द्र निर्माण गर्न २५ लाख विनियोजन गरेको छ । उन्नत जातका पाडापाडी संरक्षण गरी हुर्काएर भैसी पकेट क्षेत्र बनाई चार स्थानमा संकलन केन्द्र बनाई हटिया बजारमा दूध बिक्री गर्ने नगरपालिकाको लक्ष्य रहेको नगर प्रमुख गैरेले जानकारी दिनुभयो । जसका लागि घुम्टे भैसी पकेट नामाकरण गरेर काम अगाडि बढाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *