बागलुङका सुन्तलामा औंसाकिरा : चिन्तित किसान

आदर्श अनलाइन, बागलुङ
सुन्तला टिपेर बजार पठाउने तयारीमा रहेको किसानहरुलाई सुन्तलामा देखिएको औसे किराको प्रकोपले निरास बनाएको छ । सुन्तला बेचेर राम्रो आम्दानी गर्ने किसानहरुलाई सुन्तलामा फैलिएको औसा किराको प्रकोपले निरास बनाएको छ ।

धेरै सुन्तला उत्पादन हुँने स्थान बागलुङ नगरपालिका–८ सिगानाका राम बहादुर खड्काको सुन्तला बगैचामा अहिले औसा किराको प्रकोपले सुन्तला झरिरहेका छन् । सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसानका रुपमा रहेको खड्काले गत वर्ष सुन्तला बिक्रि गरेर दुईलाख ५० हजार रकम भित्राउनुभएको थियो । अहिले औसा किराको प्रकोपले सुन्तलाहरु धमाधम झर्न थालेको सुन्तला किसान राम बहादुर खड्काले बताउनुभयो ।

“गत वर्ष सुन्तला बिक्रि गरेर साढे दुईलाख पारेको थिए, अहिले तीन लाख पार्ने लक्ष्य हो तर औसा किराले गर्दा समस्या भएको छ,” खड्काले भन्नुभयो “अहिले गत वर्षको तुलनामा झण्डै एक लाख घाटा पर्ने अवस्था आएको छ, औसा किराको निदानमा सबै किसान जानकारी हुन पर्ने हुन्छ, यो रोग एक बगैचाबाट अर्को बगैचामा सर्ने भएकाले सबै किसान सचेत हुँन आवश्यक छ ।” राम बहादुर खड्काको सुन्तला बगामा अहिले २२० वटा सुन्तलाको बोटहरु रहेका छन् । कृषि कार्यालयबाट समयमै सल्लाह सुझाव नपाउने र रोग लागिसकेपछि बल्ल प्राविधिकहरु आउने भएकाले किसानहरु निरास भएको खड्काको भनाई छ ।

अहिले पोखरा र चितवनबाट सुन्तला खरिद गर्न व्यापारीहरु सुन्तला बगानमा आएपनि सुन्तलाको मुल्य नपाएको र रोगको प्रकोपका कारण सुन्तला बिक्रि नगरिएको सिगानाका अर्का सुन्तला किसान शिव कुमार खड्काले बताउनुभयो । रु.५० प्रतिकिलोमा सुन्तला खरिदका लागि व्यापारीहरु आएपनि अहिले सुन्तला नबेचेको खड्काको भनाई छ ।

किसानको गुनासो पछि वडा कार्यालयको संयोजन तथा कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा बाली परिक्षण शिविर सम्पन्न गरेको बागलुङ नगरपालिका–८ सिगाना वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । “सिगाना सुन्तलाको पकेट क्षेत्र हो, यहाँका किसानहरुलाई सुन्तलाबाटै आर्थिक विकासका लागि ५० प्रतिशत अनुदानमा विरुवा वितरण गर्दै आएका छौं, अहिले वार्षिक दुई करोड बढी सुन्तला निकासी हुँने गरेको छ” जिसीले भन्नुभयो “औसा किराको प्रकोपले यस वर्ष सिगानामा सुन्तलाको उत्पादनमा केही गिरावट आउने देखियो ।”

गत वर्ष औसा किराको प्रकोप रहेपनि अहिले बढेर गएको किसानहरुको गुनासो रहेको छ । सुन्तलाको पकेट क्षेत्र रहेको बिहुँ, भकुण्डे, तित्याङ लगायतको क्षेत्रमा समेतम औसा किराको प्रकोप देखिएको छ । अहिले औसा किराको समस्या देखिएको क्षेत्रमा प्राविधिकहरु खटाएर थप क्षती हुन नदिने उपायहरु अवलम्बन गर्न लगाइएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले जानकारी दिनुभयो ।

औसा किरा निराकरणका गाउँ गाउँमा प्राविधिक हरु पठाइरहेको भट्टराइको भनाई छ । “आंैसा किराको समस्या जिल्लाभर रहेको छ, अहिले प्राविधिकहरु मार्फत निराकरणका उपाय सिकाउदै हिडेका छौं, औसा किराले यस वर्ष १५ देखि २० प्रतिशत सुन्तला उत्पादनमा गिरावट आउने छ” भट्टराइले भन्नुभयो “औंसा किरा जंगल भएको क्षेत्रमा बसास्थान बनाउनेहरुले औसा किराको प्रकोप वर्षेनी भइरहन्छ ।”

अहिले बागलुङ जिल्लामा वर्षेनी झण्डै १२ करोडको सुन्तला बिक्रि हुँने गरेको छ । अहिले सुन्तला उत्पादनमा केही गिरावट हुँने कृषि ज्ञान केन्द्रको अनुमान छ । जिल्लामा ६५० हेक्टर क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ भने उत्पादन भएको ६० प्रतिशत सुन्तलामात्रै बिक्रि हुँने गरेको छ । औसाले झरेका सुन्तला व्यवस्थापन गर्न आवश्यक रहेको छ । झरेका सुन्तलालाई पलाष्टिकले बेरेर राख्ने अथवा गहिरो खाल्टोमा पुर्नुपर्ने कृषि प्राविधिकहरु बताउछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *