बिनामारेमा शंखको धून बज्ने अचम्मको पहरा

आदर्श अनलाइन, बागलुङ

जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउमा एउटा अनौठोको पहरा छ । शंखको धुन बज्ने गरेको छ । शङ्खे पहरा पछिल्लो समय चर्चामा आउन थालेको छ । अवलोकनका लागि अहिले पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।

अनाकन्टार पहरामा शङ्ख बज्छ भनेर सुनियता पनि कसैले शङ्ख बजाउन आट नगरेको हुनाले धेरै समय गुमनाम रहेको रिठेडाँडाको शङ्खे पहरालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय कस्सिए पछि एकाएक त्यो लुकेको पहरा पनि दृश्यमा आएको छ ।

रिठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापा भन्नुहुन्छ “पहिले–पहिले त्यसलाई शङ्खे ओढार भनिन्थ्यो, रिठेडाँडामा गत वर्ष पर्यटकीय उद्यानको काम थालिएसँगै शङ्खे पहराको नाममा चर्चामा आएको हो ।” समिति र गाउँले मिलेर उक्त ओढारलाई शङ्ख बज्ने पहराका रूपमा अन्यत्र चिनाएर पहरामा रहेका प्वालमा फुक्दा शङ्खको झैँ ध्वनि निस्कने गरेको अध्यक्ष थापा बताउनु हुन्छ ।

“सानैदेखि शङ्खेओढार भनेर सुन्ने गरिन्थ्यो, पाकापुरानाले त्यहाँ शङ्ख बज्छ भन्थे”, उहाँले भन्नुभयो, “त्यसै शङ्खे ओढार नामाकरण त भएन होला भन्ने लागेर त्यसको खोजीनीतिमा लाग्यौँ, हामीले प्रयास गर्दा शङ्ख बज्यो पनि ।” शङ्खे पहरा जोड्ने बाटो खन्ने क्रममा स्थानीयवासी रमेश पुनले पहिलोपटक पहरामा फुकेर शङ्खको ध्वनि निकालेका थिए । त्यसपछि गाउँका अरु केही युवाले पनि शङ्ख बजाउने गर्दछन् ।

जो–कोहीले भने त्यहाँ शङ्ख फुक्न सक्दैनन् । “गाह्रो हुन्छ, धेरै फुक्दा त टाउकै दुख्छ”, ३० वर्षीय थापाले भन्नुभयो, “वर्षायाममा पहरा पानीले भिज्ने भएकाले ठूलो आवाज आउँछ, राम्रो पनि सुनिन्छ ।” सुक्खायाममा भने प्वालमा पानी हाल्दै बजाउने गरिएको उनको भनाइ छ । थापासँगै गाउँका दुई/चार जना युवाले मात्रै पहराबाट शङ्ख ध्वनि निकाल्न सक्छन् । उमेर पुगेका व्यक्तिलाई भने श्वास पु¥याउनै कठिन हुन्छ । शङ्खको जस्तो धुन बज्ने गरेको थाहा पाएपछि गाउँका धेरैले कोसिस गरे पनि सफल हुनसकेका थिएनन् ।

उहाँले पहरामा रहेका प्वालमा फुक्दा शङ्ख ध्वनि निस्कनु आफैँमा अनौठो भएको बताउनुहुन्छ । “तिब्बतीयन र भारतीय प्लेटको टकराबबाट हिमालय क्षेत्रको उत्पत्ति हुँदा समुद्री जीव शङ्खे किराको अवशेष यहाँ रहेको हुनुपर्छ”, अध्यक्ष थापाले भन्नुभयो, “यस पहरा आसपासमा पानीले खिइएका चिल्ला चट्टान पनि प्रशस्त भेटिन्छन् ।” शङ्खे पहराको मुनिपट्टि देवीदेउताका आकृति पनि रहेको उहाँको भनाइ छ ।

स्थानीयवासीले त्यसलाई धार्मिक आस्थासँग जोडेर हेर्न थालेका छन् । त्यहाँ पुग्दा पूजाअर्चना गर्ने, दक्षिणा चढाउने चलन सुरु भएको छ । रिठेडाँडाबाट शङ्खे पहरा पुग्न व्यवस्थित पदमार्ग बनाउने योजनामा समिति छ ।

अहिले भएको बाटो साँघुरो छ । भिरालो क्षेत्र भएकाले सुरक्षित पदमार्गको खाँचो छ । रिठेडाँडाको पर्यटन विकासका लागि चालु आवमा पर्यटन मन्त्रालयको रु नौ लाख र एक लाख नगरपालिकाको बजेट छ । सो बजेटबाट मचान, शङ्खे पहरा जाने पदमार्ग, घेराबार, पोखरी ढलान, उद्यान निर्माण लगायत काम गरिने समितिले जनाएको छ ।

गत वर्ष पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले रु. चार लाख ३६ हजारको योजना सञ्चालन गरेको जैमिनी नगरपालिका वडा नम्वर –५ का वडा अध्यक्ष गोपाल प्रसाद शर्माले जानकारी दिनुभयो । सो बजेटबाट चौतारो निर्माण, उद्यान विस्तार लगायतका काम भएको हो, रिठेडाँडालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको शर्मा बताउनुहुन्छ ।

“नगरका पर्यटकीय विकास योजनामा यो पनि सूचीकृत छ, बजेट र योजनामा प्राथमिकता दिएका छौँ”, शर्माले भन्नुभयो, “स्थानीयवासीको मनोभावना अनुसार नै रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन हामी लागिपरेका छौँ ।” सोही ठाउँमा व्यवस्थित खेलमैदान निर्माणका लागि यही वर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु. नौ लाख बजेट छुट्टिएको छ, सङ्घ, प्रदेश र स्थानीय सरकारका तर्फबाट गरी चालु आवमा झण्डै रु. २९ लाख बजेट त्यहाँको पूर्वाधार विकासमा खर्च हुन लागेको उहाँको भनाइ छ ।

दशकौँ देखि ओझेलमा परेको रिठेडाँडाको भौतिक र पर्यटन विकासमा राज्यका निकाय, जनप्रतिनिधिदेखि स्थानीयवासी जुटेका हुन् । पर्यटनका माध्यमबाट गाउँलाई चिनाउने र आर्थिक उपार्जन गर्ने उनीहरुको ध्येय छ ।

सोही उद्देश्यलाई टेवा दिन घरबास ( होमस्टे ) पनि सञ्चालनको तयारीमा छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ । त्यहाँबाट हिमश्रृङ्खलाकोे पनि अवलोकन गर्न सकिन्छ । रिठेडाँडा एक हजार ३०० मिटरको उचाइमा पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *