मायाको चिनो सिगानाको ‘सुन्तला’

आदर्श अनलाइन, बागलुङ

पछिल्लो समय सभा तथा समारोमा दिईने मायाको चिनोलाई स्थानीय उत्पादन संग जोड्न थालिएको छ । स्थानीय उत्पादन तथा प्रयोगमा आउने उपज मायाको चिनो बन्दै आएको छ । बुधबार गण्डकी प्रदेशसभा सदस्य चम्पादेवि खड्का र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का सहितका अतिथि बजारदेखि सिगाना वडालाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए ।

बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–८ का वडा अध्यक्ष छम बहादुर कार्कीले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका ५० जना पाहुनालाई प्लाष्टिकमा प्याकिङ गरेको सुन्तालको पोको मायाको चिनो स्वरूप हातमा थमाउनुभयो ।

आयातित सामाग्री मायाको चिनोको रूपमा ग्रहणा गर्दै आएका अतिथि सिगानाको रसिला सुन्तला पाएपछि दंग पर्दै तस्विर खिचे । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको सुन्तला दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए ।

आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको सुन्तलाको कासेलीका रुपमा दिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । वडा नम्बर ८ स्थित सिगाना सुन्तला गाउँको रूपमा परिचित छ । यहाँका किसानले वार्षिक तीन करोडको सुन्तला बिक्री गर्दै आएका छन् ।

यहाँका किसानबाट एक सय केजी सुन्तला खरिद गरेर ५० जना अतिथि र पाहुनालाई मायाको चिनोका रूपमा सिगानाको पहिचान सुन्तला दिईएको हो ।

वर्षौँदेखि यहाँका किसानले सुन्तला बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि मायाको चिनो सुन्तला दिइएको अध्यक्ष कार्कीले बताउनुभयो । “सिगानको सुन्तला हाम्रो पहिचान हो, यहाँ उत्पादन भएको सुन्तला अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले सिगानालाई सुन्तला गाउँका रूपमा अन्तराष्ट्रिय रूपमा ब्राण्ड बनाउनका लागि बाहिरबाट आउने पाहुनालाई कोसेली तथा उपहारका रुपमा सुन्तला दिने गछौँ ।” कार्कीले भन्नुभयो ।

मायाको चिनोको रूपमा फजुल खर्च गर्ने प्रचलनको बेला सिगाना र तित्याङले सुन्तलालाई मायाको चिनोको रूपमा सुन्तलालाई प्रबद्र्वन गरेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । यस अघि रायडाँडामा मायाको चिनोका रूपमा रायोको साग दिईएको थियो ।

ग्रामीण क्षेत्रका नागरिकले स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिन आवश्यक रहेको खड्काले बताउनुभयो । नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डीङ गर्नका लागि प्याकेजीङमा सघाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *