खेमराज गौतम,बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा सोत्रेनीका ४४ वर्षीय लाल बहादुर घर्ती रोजगारीका लागि मलेसियामा ८ वर्ष बिताउनुभयो ।
मलेसियामा मासिक एक लाखको जागिर छोडेर ८ वर्षपछि नेपाल आउनुभएका घर्तीलाई नेपालमै केही गर्ने सोच पलाएको थियो । गाउँमा विदेशजाने लहडका कारण घर्तीले पुन योरोप जाने इच्छा व्यक्त गर्नुभयो । युरोप जाने चक्करमा केही रकम खर्च समेत भयो । जब कोरोना कहरका कारण विदेश जान नपाउनुभएका घर्ती अहिले गाउँपालिकाकै उत्कृष्ट किसानमा पर्नुहुन्छ ।
थोरै लगानीमा राम्रो आम्दानी गर्दै आउनुभएका घर्तीले विदेशमा भन्दा गाउँमै सन्तुष्टी मिलेको बताउनुहुन्छ । घर्तीको झुलेनी कृषि तथा पशुपालन फर्ममा ३० बाख्रा, तीन वटा प्लाष्टिक टर्नेल र दुई वटा भैसी रहेका छन् । उहाँले दुई लाखको लगानीमा खोलेको कृषि फर्मबाट वार्षिक चार लाख आम्दानी गर्दै आउनुभएको । उहाँले गरेको आम्दानीको थोरै मात्र खर्च हुने गरेको छ भने अन्य रकम बचत हुने गरेको छ । घाँसमा आघारित पशुपालनले आम्दानीको सबै रकम बचत हुने बताउनुहुन्छ ।
“कोरोना कालमा विदेशको सपना तुहियो, युरोप जाने रहरलाई कृषिमा बदल्ने निधो गरे, घरमा एउटा भैसी र सामान्य तरकारी खेती थियो, दुई लाख लागतमा २० वटा माउ बाख्रा लिएर व्यवसायीक बाख्रापलन थाले, एक वर्षमै तीन लाखको बोका तथा बाख्रा बिक्री गर्न सफल भए” घर्तीले भन्नुभयो “परम्परागत कृषिलाई व्यवसायिकतामा ढालेपछि बजारको समस्या रहेनछ, पहिला गाउँको उपजलाई बिक्री गर्ने मानसिकता थिएन, अहिले गाउँको तरकारी, आलु, दूध र घियु सोझै बागलुङ बजार पुग्छ ।”
अहिले दिनभर बाख्रा चराउन व्यस्त हुने घर्ती गाउँपालिकाकै उत्कृष्ट किसानको रुपमा चिनिन थालिनुभएको छ । उहाँले २० वटा माउबाट वार्षिक रुपमा २० वटा भन्दा बढी बोका बिक्री गरेको बताउदै तरकारी र दूधले आम्दानीमा सघाउ पुगेको छ ।
अहिले तीन वटा प्लाष्टिक टर्नेलमा आलु, काउली र बन्दा उत्पादन भइरहेको छ । वार्षिक रुपमा तरकारी र भैसीपालनबाट एक लाख सम्म आम्दानी गर्दै आएको बताउनुभयो । चरन क्षेत्र प्रयाप्त भएकाले घाँसमा आधारित उत्पादनले यहाँका खसीबोकाको मासु स्वादिष्ट हुने गरेको छ ।
दूध गाउँकै देउराली बजारमा खपत हुने बताउँदै गत वर्ष २० वटा बाख्राका पाठा काठेखोला गाउँपालिकाले खरिद गरेर वितरण गरेको जानकारी दिनुभयो । कृषि ज्ञान कन्द्र बागलुङबाट रु. एक लाख ५० हजार र हेफरबाट खोर व्यवस्थापनका लागि रु. २५ हजार अनुदान समेत पाएको लाल बहादुर घर्तीले बताउनुभयो ।
घर्ती गाउँकै सफल उद्यमीका रुपमा परिचय कमाएकाले गाउँपालिकाले उत्कृष्ट किसानको रुपमा सम्मान समेत गरिसकेको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम बिकले जानकारी दिनुभयो ।
चार जनाको परिवारलाई घर खर्च पुगेर केही रकम बचत भएकाले आगमी दिनमा विदेश जाने योजना नआएको घर्तीको भनाई छ ।