आदर्श अनलाइन, बागलुङ
पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । शर्माको आज दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मिर्गाैलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत जानु भएको थियो । मिर्गाैला प्रत्यारोपण असफल भएपछि उहाँको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिनुभयो ।
पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील हुनुहुन्थ्यो । विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका शर्मा त्यही बेला उहाँ राज्यमन्त्री हुनुभएको थियो ।
एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उहाँ गण्डकी प्रदेश अध्यक्षसमेत हुनुभएको थियो । हाल उहाँ कुनै पनि जिम्मेवारीमा रहनुभएको थिएन । शर्माको शव भोलि साँझसम्म भारतबाट बागलुङ ल्याईपुग्ने अध्यक्ष गौतमले बताउनुभयो ।