डम्मर बुढा मगर, बागलुङ
बसाइँसराइका कारण रित्तिदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यवसायिक कागती खेती गर्न थालेका छन् । किसानले कृषक समुह बनाएर साढे दुई सय रोपानी जग्गा भाडामा लिएर कागती खेती सुरु भएका हुन् । गाउँका ५२ जना किसानको समूहले झाडीले ढाकिन थालेको खेतीयोग्य जमिनको सदुपयोग गरि कागती लागएका हुन् ।
वि.सं. २०७७ सालदेखि चासो कृषक समूहले सुरु गरेको कागती खेती फस्टाउन थालेको छ । कागती खेतीका लागि रु एक करोड ५० लाख बढी लगानी भएको चासो कृषक समूहका अध्यक्ष केशव सुवेदीले जानकारी दिनुभयो । गत वर्षदेखि नै कागती उत्पादन हुन थालेको उहाँको भनाइ छ । यस वर्ष झण्डै रु पाँच लाखको विक्री गरेको अध्यक्ष सुवेदीले बताउनुभयो ।
कागती खेतीका लागि कृषि ज्ञान केन्द्रले रु छ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले रु १५ लाख अनुदान दिएको थियो । किसानहरुले झण्डै रु एक करोड ३० लाख लगानी गरेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । गाउँमा मान्छे सेवा र सुविधाको खोजीमा बजार झर्न थालेपछि खेतीयोग्य जमिनको सदुपयोगका लागि कागती खेती सुरु गरेको उहाँको भनाइ छ ।
“गाउँमा रोजगार सिर्जना गरौँ, उर्वर भूमिको सदुपयोग होस् र किसान आयआजर्नसँग जोडिउँ भन्ने हिसाबले गाउँका किसानहरु एकताबद्ध भएर कागती खेती सुरु गरेका हौँ, चार वर्ष अगाडि लगाएको कागतीका विरुवाले अहिले उत्पादन दिन थालेका छन्,” उहाँले भन्नुभयो – “स्वदेशमै पनि राम्रो गर्न सकिन्छ, गाउँमै पनि युवालाई रोजगार दिन सकिन्छ भन्ने उद्देश्यले कागती खेती गरेका हौँ ।”
अध्यक्ष सुवेदीका अनुसार हाल कागती बगानमा चार हजार विरुवा हुर्कि रहेका छन् । उहाँले गाउँमा बाँदर आतंक बढ्दा अरु खेती गर्न छोडेर कागती लगाएको बताउनुभयो । कागती खेती गरेपछि बाँदर आतंक केही कम भएको उहाँको भनाइ छ । वर्षेनी उत्पादन बढ्दै जाने र आम्दानी पनि बढ्ने सुवेदीले बताउनुभयो । यस वर्ष रु पाँच लाखको कागति बागलुङ, कुश्मा लगाएको बजारमा विक्री गरेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले २०७७ सालदेखि नै उक्त कृषक समूहलाई प्राबिधिक सहयोग र आर्थिक अनुदान दिँदै आएको बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ मा चक्लाबन्दीका लागि रु १० लाख र गत वर्ष कागती ग्रेडिङ र भण्डारणका लागि रु पाँच लाख सहयोग गरेको उहाँको भनाइ छ ।
प्रमुख पौडेलले भन्नुभयो – “यहाँका किसानहरुले निकै मेहेनत गर्नु भएको छ, अन्य किसानका लागि पनि यो अध्ययन केन्द्र बन्न सक्छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ, विषादी र अन्य प्राबिधिक सहयोग गरेका छौँ, किसानहरु पनि उत्साहित हुनु भएको छ, बोटले विस्तारै फल दिन थालेका छन् ।