आदर्श सञ्चार, बागलुङ
संघीयता लागुपछि बागलुङ १० पालिकामा विभाजन भयो । यस अघि जिल्लामा बागलुङ नगरपालिका मात्रै थियो जस्को आफ्नै भवन थियो । २०७३ सालमा स्थापना भएका बागलुङका ९ पालिका भाडाको घरमा शुभारम्भ गरिएको थियो । तर स्थापनाको ८ वर्ष भित्र ९ स्थानीय तहमध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन् । यस्तै दुई स्थानीय तहको भवन निर्माण भइरहेको छ ।
फागुन महिनादेखि बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सेवा आफ्नै भवनबाट प्रदान गर्न थालेको छ । पालिका स्थापना कालदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेको कार्यवाहक नगरप्रमुख कल्याण कायतले जानकारी दिनुभयो । तीन वर्ष अगाडि निर्माण सुरु भएको प्रशासकीय भवन सम्पन पश्चात फागुनबाट सेवा दिन थालिएको छ ।
रु. ४ करोड ५९ लाख ३४ हजारमा छ तलासहितको पक्की भवन निमार्ण भएको थियो । बस्न वटा पक्की घर भाडामा लिएर सेवा दिदै आएको ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेपछि खर्च घटेको छ । जनतालाई सेवा सुविधामा सरलता प्रदान गर्नका लागि स्थानीयतहमा धमाधम प्रशासनीक भवनहरु ठडिने क्रम जारी रहेको छ ।
१० स्थानीय तह रहेको बागलुङमा हालै ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेको छ भने यस अघि ५ स्थानीय तहले आफ्नै भवनबाट सेवा दिइसकेका छन् । दुई स्थानीय तह गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको भवन निर्माण भइरहेको छ । तर १० पालिका मध्ये काठेखोला गाउँपालिकाले जग्गाको समेत टुङ्गो लगाउन सकेको छैन । जग्गाका लागि गाउँपालिकाले पहल गरेपनि अहिले सम्म सार्थकता पाउँन नसक्दा भाडाकै घरबाट सेवा दिन बाध्य भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
जिल्लामै पहिलोपटक ताराखोला गाउँपाकिलाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले समेत अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेको थियो । अहिले बडिगाड गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेकै दुई वर्ष भन्दा बढी भइसेको छ ।
अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सम्पन्न पश्चात जनताको सेवामा सहजता आएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । काठमाण्डौंको सिंहदरबार संघीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । जसमध्ये बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा प्रशासनिक भवन निर्माण गरिएको थियो ।
बडिगाड र ताराखोला गाउँपालिकामा अत्याधुनिक प्रशासनिक भवन निर्माण अघिनै जिल्लाको तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बरेङ गाउँपाकिलाले आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।
जिल्लाको काठेखोला गाउँपालिका अहिले भाडाको घरबाट मात्रै सेवा दिएका मात्रै छैन जग्गाको टुङ्गो लगाउन समेत बाँकी छ । अहिले गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको प्रशासनक भवन निर्माण धमाधम भइरहेको छ ।