मुस्ताङमा ६ हजार रैथाने स्याउका विरुवा वितरण

सुन्दरकुमार थकाली, मुस्ताङ
जोमसोम—प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन ईकाई स्याउ जोन मुस्ताङले जिल्लाका ५ स्थानीय तहमा ६ हजार थान स्थानीय जातका स्याउ विरुवा वितरण गरेको छ । स्याउ जोन मुस्ताङले चालु वर्ष विनियोजित बजेट मार्फत ५० प्रतिशत अनुदान सहुलियतमा स्याउ बिरुवा बितरण गरेको जनाएको छ ।

कार्यालयले स्याउ जोनमा सुचिकृत फर्म , समुह , सहकारी,संस्था र व्यक्तिलाई अनुदान स्वरुप स्याउ बिरुवा उपलब्ध गराएको हो ।स्याउ जोन मुस्ताङले चालु वर्ष ९ हजार थान स्याउ बिरुवा बितरण गर्ने लक्ष्य राखेपनि माग आधारमा जम्मा ६ हजार बिरुवा वितरण गरेको परियोजना कार्यान्वयन ईकाई स्याउ जोन मुस्ताङका प्रमुख सुधिर थापाले जानकारी दिए ।

जोनले शितोष्ण बागवानी विकास केन्द्रमा उत्पादित स्याउ बिरुवा प्रति थान ७० रुपैयामा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई बितरण गरेको कार्यालय प्रमुख थापाले बताए । उनका अनुसार मागका आधारमा लोमान्थाङ गापामा रोयल डेलिसियस ३४ सय थान र गोल्डेन डेलिसियस १ सय गरी ३५ सय ,वारागुङ मुक्तिक्षेत्रमा रोयल ५० ,गोल्डेन ३० र फुजी २ सय गरी २ सय ८० थान ,घरपझोङ गापामा रोयल १ हजार ९ सय ३० र गोल्डेन २ सय ६५ थान र लोघेकर दामोदरकुण्डमा गोल्डेन र रोयल डेलिसियस गरी ८० थान स्याउ बिरुवा बितरण गरेको हो ।स्याउ उत्पादन हुने थासाङ गापाको १ र २ भने कुनै माग नभएको जोनले बतायो ।

यस्तै स्याउ जोन मुस्ताङले चालु वर्ष ईटालियन उच्चघनत्वको करिव ९ हजार स्याउ बिरुवा वितरण गर्ने योजना रहेको परियोजना कार्यान्वयन ईकाई मुस्ताङकी सूचना अधिकारी शिवा अर्यालले जानकारी दिईन् । उनका अनुसार स्याउ जोन मुस्ताङले गत आर्थिक वर्ष मुस्ताङका किसानलाई १० हजार थान ईटालियन जातको उच्चघनत्वको स्याउ बिरुवा ५० प्रतिशत अनुदानमा बितरण गरेको थियो । स्याउ जोन मुस्ताङले मनाङ एग्रो फार्मसंग समन्वय गरी ढुवानीसहित एक हजार १ सय ५० रुपैया पर्ने प्रति बिरुवा अनुदानमा उपलब्ध गराएको सूचना अधिकारी अर्यालले बताईन ।

यस्तै ,गण्डकी प्रदेश सरकार पनि जिल्लाका किसानको मागका आधारमा ७० प्रतिशत अनुदान सहुलियतमा १० हजार थान उच्चघनत्वको स्याउ बिरुवा बितरण गरेको थियो । छिटोछरितो उत्पादन दिनसक्ने उच्चघनत्वको स्याउ बिरुवा प्रति मुस्ताङका किसानको आर्कषण बढेको पाईएको छ ।

बिरुवा लगाएको दोश्रो वर्षमै फल दिनसक्ने उच्चघनत्वको स्याउ बिरुवाले स्थानीय किसान आर्थिक रुपमा लाभान्विगित हुने जनाईएको छ । उच्च घनत्वको स्याउ बिरुवाले २० केजी देखी ३० केजी सम्म फल दिन सक्छ । यसले बगैचा व्यवस्थापन सुरु गरेको ३ दशक सम्म फल दिने सामथ्र्य राख्छ ।

तर ,स्थानीय जातका बिरुवाले बिरुवा लगाएको दशौ वर्षपछि मात्र फल दिने गर्छ ।स्थानीय जातका स्याउ बिरुवाबाट भने मनग्ये स्याउ फल्न गर्छ । बिरुवा खरिदका हिसाबले स्थानीय जातका भन्दा ईटालियन उच्चघनत्वको स्याउ बिरुवा दशौगुणा महङ्गो पर्ने गर्छ ।

हिमाली जिल्ला मुस्ताङमा कुल १४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ भने जसमध्ये ५ सय हेक्टर क्षेत्रफलमा लगाईएको स्याउले मात्र उत्पादन दिने गरेको छ । चालु वर्ष मुस्ताङमा ७१ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *