मुस्ताङका ५ दर्जन स्वास्थ्यकर्मीलाई कोरोनो खोप

एसके थकाली, जोमसोम
ग्रीन जोन कायम रहेको हिमालपारिको जिल्ला मुस्ताङमा पहिलो दिन ५ दर्जन स्वास्थ्यकर्मीलाई कोभिड—१९ विरुद्धको खोप लगाईएको छ । छिमेकी देश भारतबाट अनुदान स्वरुप प्राप्त खोप नेपाल सरकार मार्फत गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय हुँदै मुस्ताङलाई २४० डोज खोप प्राप्त भएको प्रजिअ हिरादेवी पौडेलले जानकारी दिईन् ।

गण्डकी प्रदेशलाई माघ ४ गते प्राप्त भएको कोभिड विरुद्धको खोप मंगलबार मुस्ताङ आईपुगेको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले २४ थान भायल ( २४० ) डोज खोप प्रजिअ पौडेललाई हस्तान्तरण गरे ।सो अवसरमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शर्माले माघ ४ गते प्रदेशलाई प्राप्त भएको ४० हजार खोप मध्ये पहिलो चरणमा गण्डकीका ११ वटै जिल्लामा २० हजार डोज वितरण भएको जानकारी दिए । उनले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डका आधारमा माघ १८ गतेसम्म कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम रहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङको समन्वयमा जिल्ला अस्पताल जोमसोममा घरपझोङ गाउपालिका अन्र्तगत रहेका ५ वटै वडाका स्वास्थ्यकर्मी ,सरसफाई कर्मचारी ,सहयोगी कर्मचारी र महिला स्वास्थ्य स्वंयसेविका लगायतका ६० जना स्वास्थ्यकर्मीलाई खोप लगाइएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।उनका अनुसार पहिलो चरणका लागि प्राप्त भएको कोभिड विरुद्धको खोप घरपझोङ गापाबाट सुरु भएको माघ १८ सम्म सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई लगाईने उल्लेख गरे ।

मुस्ताङलाई प्राप्त कोभिड खोप बुधबार प्रजिअ हिरादेवी पौडेल ,प्रदेश सांसद महेन्द्रबहादुर थकाली र घरपझोङ गापा अध्यक्ष आशबहादुर थकालीले संयुक्त रुपमा जिल्ला अस्पताल जोमसोमका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरे ।पहिलो चरणको कोभिड विरुद्धको खोपअभियानमा अस्पतालका चिकित्सक साजन बरालले लगाएका छन् । उनलाई अस्पतालकी स्वास्थ्यकर्मी सुनिता सिर्रमलले मुस्ताङका लागि पहिलो खोप लगाएकी हुन् । खोप लगाएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयसेविकाले खुसी व्यक्त गर्दै अन्य स्वास्थ्यकर्मीलाई निर्भिकता पूर्वक खोप अभियानमा जुट्न समेत अनुरोध गरे ।

धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङ कोरोना मुक्त छ । यसअघि ३१ जना कोरोना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थियो । मुस्ताङको लोमान्थाङ गापामा भने सुन्य कोरोना संक्रमित थिए । मुस्ताङमा कोरोना माहामारीको समय देखि हालसम्म कोभिडका कारण कसैले ज्यान गुमाएका छैनन् । कोरोना माहमारीबाट बिस्तारै लयमा फर्किएको मुस्ताङमा मुक्तिनाथ मन्दिरसहित होटल तथा रेष्टुरेन्ट खुलेका छन् भने मुस्ताङ आउजाउ समेत हुदै गईरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *