एउटा कोरोना खोप लगाउन ८ हजार खर्च

एसके थकाली, जोमसोम
उपल्लो मुस्ताङका स्वास्थ्य स्वंयम सेविकालाई सदरमुकाम जोमसोममा आई कोभिड—१९ बिरुद्धको खोप लगाउदा चर्को खर्च व्यवहोर्न बाध्यता परेको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयम सेविकाले जोमसोम झरेर कोभिड खोप लगाउँदा ८ हजार खर्च लागेको बताएका छन् ।

उपल्लो मुस्ताङको दुई गाउँपालिकाका सबै स्वास्थ्यकर्मी जोमसोममा सुरु भएको कोभिड—१९ खोप अभियानमा उपस्थित हुन सकेनन् । उपल्लो मुस्ताङबाट स्वास्थ्यकर्मी ,कार्यालय सहयोगी र स्वास्थ्य स्वंयम सेविका गरी एक चौथाईले मात्र जोमसोममा कोभिड—१९ बिरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका अनुसार भौगोलिक रुपले विकट उपल्लो मुस्ताङको लोमान्थाङबाट ५ जना र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट २७ जनाले कोभिड खोप लगाएका छन् ।

लोमान्थाङबाट जोमसोममा कोभिड खोप लगाउन आएकी युटिन गुरुङले जोमसोममा खोप लगाई घर फर्किदा ८ हजार बढी खर्च लागेको जानकारी दिईन् । उनले जोमसोममा खोप लगाउन आउनु भनी स्वास्थ्य कार्यालय र संम्वन्धित निकायले खबर गरेको र आउनै पर्ने भनिएकाले आफ्नै खर्चमा जोमसोममा खोप लगाउन आएको बताईन् ।यस्तै उपल्लो मुस्ताङकी स्वास्थ्य स्वंयम सेविका ढोका गुरुङले जोमसोम खोप लगाउन आउँदा सवारी साधनको समस्या परेको बताईन् । उनले खोप लगाउन आउँदा र फर्किदा गाडी भाडा ५ हजार खर्च भएको जनाईन । उपल्लो मुस्ताङकी अर्की स्वास्थ्य स्वंयम सेविक तिकी छोन्जिङ गुरुङले खोपकै लागि २ दिन खर्चिएर जोमसोममा आईपुगेको बताईन् ।

कोभिड—१९ बिरुद्धको खोप लगाउन जोमसोम आएका उपल्लो मुस्ताङका स्वास्थ्य स्वंयम सेविकाहरुले जोमसोम आउजाउको खर्च व्यवहोर्न संम्वन्धित स्थानीय तहलाई अनुरोध समेत गरेका छन् । उनीहरुले खोप लगाएनी हुने नलगाएनी हुने कतिपयले सुनाएको भएपनि जिल्लाबाटै खबर आएकाले खोप लगाउन जोमसोम आएको बताएका छन् ।

मुस्ताङमा १९३ जनाले लगाए कोभिड—१९ बिरुद्धको खोप
मुस्ताङमा कोभिड—१९ बिरुद्धको खोप अभियानको ५ औं तथा अन्तिम दिन १ सय ९३ जनाले कोभिड खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार खोप अभियानको पहिलो दिन ३९ जना र अन्तिम दिन ४७ जना स्वास्थ्यकर्मी ,सरसफाईकर्मी ,स्वास्थ्य स्वंम सेविका ,कार्यालय सहयोगी र एम्बुलेन्स चालक लगायतले कोभिड खोप लगाएका हुन् ।

छिमेकी देश भारतबाट अनुदान सहयोग प्राप्त खोप नेपाल सरकार मार्फत गण्डकी प्रदेशको सामाजिक मन्त्रालय हँुदै मुस्ताङलाई २ सय ५० डोज कोभिशिल्ड प्राप्त भएको थियो । पहिलो चरणका लागि प्राप्त कोभिड खोप मध्ये अब ४३ डोज खोप मात्र मौज्याद रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *