मुस्ताङमा यार्सा संकलन प्रभावित

सुन्दरकुमार थकाली, जोमसोम

हिमाली तथा उच्चपहाडी लेंकमा पाईने बहुमुल्य प्राकृतिक जटिबुटी यार्सा गुम्बा संकलनको सिजन यो वर्ष पनि प्रभावित बनेको छ । कोरोनाको दोश्रो भेरियन्ट समुदाय स्तरमा फैलिएपछि पछिल्लो समय यार्सा गुम्बा संकलनकार्यमा प्रतिबन्ध लगाईएको छ ।

मुस्ताङका उच्चलेंकमा पाईने बहुमुल्य यार्सा गुम्बा संकलनकार्य विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण जोखिमका कारण गतवर्ष पूर्णरुपमा प्रतिबन्ध लगाईएको थियो ।तर,कोरोना संक्रमण जोखिम क्रमशः नियन्त्रणमा आएपछि यसवर्ष मुस्ताङमा पर्यटकीय गतिबिधिका साथै यार्सा गुम्बा संकलनकार्य पनि फुकुवा गरिएको थियो ।

बर्सेनि बैशाख देखि असार मशान्तसम्म उच्चलेंकमा यार्सा टिप्ने समय सुरु हुन्छ ।यार्सा संकलन गर्न पाउने अनुमती अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) मातहतको संरक्षण व्यवस्थापन समितिले दिने गर्छ । एक्याप अन्र्तगत गठित स्थानीय संरक्षण व्यवस्थापन समिति ¬(सीएमसी)ले तोकिएको शुल्क लिएर व्यक्तिलाई यार्सा संकलनको पूजी दिने गर्छ । मुस्ताङका लेंकमा यार्सा संकलनको पूर्जी चैत महिना देखिनै सुरु हुन्छ । समून्द्री सतह देखि करिव ४ हजार मिटर अग्लो उचाईको उच्चलेंकमा बहुमुल्य यार्सा पाईने गर्छ ।

मुस्ताङको कुञ्जो, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, झोङ, छुसाङ, मुक्तिनाथसहित उपल्लो मुस्ताङका उच्चलेंकमा बर्सेनि यार्सा संकलन गर्न जिल्ला बाहिरका उल्लेख्य सर्वसाधारण मुस्ताङ आउने गर्छन् ।

तर, यसवर्ष भने कोरोनाको दोश्रो लहरअघि मुस्ताङको कोवाङ,कुञ्जो,मार्फा र टुकुचे गाउँका स्थानीय संरक्षण व्यवस्थापन समितिले यार्सा पूर्जि खुल्ला गरे ।त्यससमय कोरोना संक्रमणको जोखिम थिएन ।

एक्याप जोमसोमका कार्यालय प्रमुख ऋषि बरालका अनुसार तल्लो मुस्ताङको ४ वटा लेंकमा करिव १ सय ४३ जना व्यक्ति यार्सा संकलन गर्न पुगेका छन् । जसमध्ये १३ जना मुस्ताङका स्थानीय छन् भने बाकी १ सय ३० जना व्यक्ति जिल्ला बाहिरको रहेको कार्यालय प्रमुख बरालले उल्लेख गरे ।उनका अनुसार यार्सा खोज्न लेंक पुगेका मध्ये १३ जना व्यक्ति बिरामी भई फर्किएका छन् भने केही फर्किने क्रममा रहेका छन् ।

एक्याप जोमसोमका अनुसार मुस्ताङको थासाङ—२ कोवाङमा चैत्र ७ गते देखि बैशाख १५ गतेसम्म ,थासाङ —५ कुञ्जो र थासाङ—१ टुकुचेमा बैशाख १ गते देखि बैशाख १५ गतेसम्म र घरपझोङ—२ मार्फा लेंकमा बैशाख १८ गतेबाट यार्सा संकलन पूर्जी फुकुवा गरिएको थियो ।

मुस्ताङमा कोरोनाको दोश्रो लहर समुदाय स्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले यार्सा संकलनकार्यमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिईन् ।‘कोरोनाको दोश्रो भेरियन्ट अघि जति लेंकमा पुगे पुगे,‘प्रजिअ पौडेलले भनीन्‘ त्यसपछि जिल्ला बाहिर र भित्रका कसैलाई यार्सा टिप्न नपाईने भनी निर्देशन गरेका छौं ।’

बर्सेनि हिमाली जिल्ला मुस्ताङमा यार्सा संकलन गर्ने उद्देश्यले जिल्ला बाहिरका रोल्पा,दाङ,रुकुम,गोर्खा, धादिङ, बाग्लुङ र म्याग्दीका मानिसहरु आउने गर्छन् ।जैविक विविधता मध्येको बहुमुल्य प्राकृतिक हिमाली जटिबुटीको स्वदेश तथा विदेशमा उत्तिकै माग हुने गर्छ ।

एउटै यार्सा गुम्बा गोटाको २ सय देखि २ हजारसम्म मुल्य पर्ने गर्छ ।कोरोनाका कारण मुस्ताङमा समुदायमा कोरोना फैलिएको र निषेधाज्ञा समेत जारी भईसकेकाले यार्सा संकलनकार्य प्रभावित बनेको कोवाङका स्थानीय सोजन हिराचनले जानकारी दिए ।

उनले संक्रमणको जोखिम कायम रहेकाले पाटनमा पाईने करोडौं मुल्यको यार्सा लेंकमै फ्रिज हुने अवस्था आएको र यसले राजश्व संकलनमा समेत क्षति पुग्ने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *