३४ दिनपछि संचालनमा आयो बेनी–जोमसोम सडक

एसके थकाली, जोमसोम

बेनी—जोमसोम जोड्ने ७६ किमी सडकको एकतर्फी ट्रयाक ३४ दिनमा खुला भएको छ । कालिगण्डकी करिडोरको निर्माणाधीन काभ्रेभीर खण्डमा सोमबारबाट एकतर्फी यातायाता सञ्चालनमा आएको हो ।

निर्माणको जिम्मा पाएको शर्मा गजुरमुखी निर्माण कम्पनी, संघ तथा प्रदेश सांसद, प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिको सामूहिक पहलमा सोमबार बिहान बेनी—जोमसोमको सिधा ट्रयाक खुला भएको करिडोर सडकका सवइन्जिनियर किरण घिमिरेले जानकारी दिए ।

अविरल वर्षाका कारण गत साउन ५ गते बेनी—जोमसोम ७६ किमी सडकको दर्जनौं स्थानमा बाढी/पहिरो र नदी कटानले सडक अवरुद्ध भएको थियो । बेनी—जोमसोम जोड्ने सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गापाको तातोपानी, दाना र रुप्से झरना र मुस्ताङको थासाङ गापा—४ को लेते खोला, कैकु, घासा र घोप्टे ओढारमा बाढी पहिरोले सडक अवरुद्ध भएको थियो ।

यस्तै, म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र काभ्रेभीरको तुरतुरे धाराको अग्लो पहाडमा विस्तार भएको सडकमा सुख्खा पहिरो जाँदा त्यहाँ करिब ७० मिटर सडक संरचना भासिएको थियो ।

मुस्ताङ जोड्ने बेनी—जोमसोम सडकको सबैभन्दा जोखिम र अप्ठ्यारो सडकको रुपमा काभ्रेभीर सडक मानिएको छ । ठूला/ठूला कडा चट्टाने पहरा फोरेर विस्तार भएको उक्त स्थानमा बर्सेनि पहिरोले सडक अवरुद्ध हुँदै आइरहेको छ ।

करिडोरले अन्य स्थानमा सडकको एकतर्फी सडक खुला गरे पनि काभ्रेभीरको सडक खोल्न एकसाता अघि पहल गरेको थियो । बेनी—जोमसोम सडकको सिधा यातायात सञ्चालन गर्न म्याग्दीको रुप्सेमा करिब २ सय मिटर सडक डाइभर्सन निर्माण गरी एकतर्फी सडक सूचारु गरेको सबइन्जिनियर किरण घिमिरेले बताए ।

त्यहाँ साविक सडकको करिब २५ मिटर तलबाट वैकल्पिक सडक निर्माण भएको उनले जानकारी दिए । यस्तै घोप्टे ओढार र म्याग्दीको दानमा सबबेस निर्माण गरी यातायात सञ्चालन योग्य बनाइएको छ । म्याग्दीको रघुगंगा गापाको गलेश्वरको क्षतिग्रस्त बेलिब्रिज २ साता अघि सञ्चालनमा ल्याएको थियो ।

पछिल्लो सयम बेनी—जोमसोम जोड्ने एकमात्र अवरुद्ध काभ्रेभीर सडकको निर्माण कम्पनी, सांसद, सुरक्षा निकाय र जनप्रतिनिधिले निकै जोखिम मोलेर सडक आउजाउ सहज बनाएको थासाङ—४ का वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए ।

योसँगै अब बेनी—जोमसोम सडकमा एकतर्फी कामचलाउका रुपमा सडकको ट्रयाक खुला भएको वडाध्यक्ष शेरचनले बताए । त्यहाँ सडक खोल्न विष्फोटक पदार्थको सहयोग लिएको थियो । लगातार मौसम प्रतिकुलताका कारण सडक स्तरोन्नति गर्न असहज भएको उनको भनाइ छ ।

बेनी—जोमसोम सडकको सिधा ट्रयाक खुला गर्न मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन, प्रदेश सांसदद्वय महेन्द्रबहादुर थकाली र चन्द्रमोहन गौचन लगायतको टोली काभ्रेभीर सडकमा पुगेको सडक सुपरभाइजर ई.न्द्रसिंह शेरचनले जानकारी दिए । पोखराबाट आउँदै गरेका एक दर्जन मालवाहक ट्रकलाई सांसदहरुकै उपस्थितिमा मुस्ताङ प्रवेश गराइएको थियो ।

बेनी—जोमसोम सडकमा लगातार एक महिना लामो सडक अवरुद्धले मुस्ताङमा खाद्यान्न, पेट्रोलियम पदार्थ र निर्माण सामग्री ढुवानीमा समस्या परेको सांसद महेन्द्रबहादुर थकालीले बताए ।

सडक अवरुद्धले मुस्ताङमा उत्पादित स्याउ, आलु र गाजर लगायतका कृषिजन्य वस्तुको बजारीकणमा समस्या पर्दै आइरहेको थियो । सांसद थकालीले लामो र अथक प्रयासका बावजुद सडक सञ्चालन गर्न सफल भएको र यसले मुस्ताङलाई ठूलो राहत दिलाउने उल्लेख गरे ।

बर्सेनि राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकको म्याग्दी खण्ड र मुस्ताङको थासाङ खण्डमा कमजोर भूबनोवटका कारण बाढी/पहिरो र नदी कटानले सडक अवरुद्ध हुने गर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *