म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

आदर्श अनलाइन, म्याग्दी
पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधिन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरू खन्ने काम आइतबारदेखि सुरू भएको छ ।

दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न शुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको निर्माण कम्पनि धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ ।

प्रवासी म्याग्देलीहरुको मुख्य लगानी रहेको सो आयोजनका साइट ईन्जिनियर बालकुमार रोकाका अनुसार  २ सय ५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुबै तर्फ सुरुङ  निर्माण सुरु हुने छ । ‘अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ’ इन्जिनियर रोकाले भने । आइतबारदेखि सुरू भएको सुरुङ निर्माणको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले सुरुवात गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, वडाअध्यक्ष सन्तोष सुबेदी, टंकप्रसाद पुन र रेशम जुग्जाली, आयोजनाका सञ्चालक चित्र पुन र अमित गौचन लगायत प्राविधिक टोलीको उपस्थिीति रहेको थियो । 

जलविद्युत आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणको कामलाई तिब्र गतिमा अगाडी बढाउने बताए । ‘टनेलमा उत्साहजनक प्रगतिसहित समयमै आयोजनाको काम सम्पन्न गर्नेछौ,प्रभावित क्षेत्रका बासिन्दालाई लगानीका लागि समेत अवसर छ’ अध्यक्ष कुँवरले भने । उनले अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरि दुई सिफ्टमा हुने समेत जानकारी दिए । म्याग्दी खोलाबाट विद्युत निकाल्न प्रवासी म्याग्देली र स्थानीयहरुको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेढले आयोजना निर्माण गर्न लागेको हो ।

मालिका गाउँपालिका–७ बिम र वडा नं ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १ सय मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने छ । 

३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणमा ५ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रवन्ध निर्देशक ईन्जिनियर हर्कमान घर्ती मगरले जानकारी दिए ।

आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सवस्टेशन मार्फत केन्द्रिय प्रशारणमा जोडीनेछ । हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिदबिक्री हुने सम्झौता भएको छ । 

आयोजनाको साईट कार्यालय, आवासगृह सहितका भौतिम संरचना समेत तयार भइसकेको छ भने पहिलो, दोस्रो कोराना भाइरसकाका कारण निर्माणकार्यमा समस्या भएपनि अहिले जनशक्तीको ब्यवस्थापन भएकाले तिब्र गतिमा अगाडी बढेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *