निम्न आयस्तर भएका जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण योगदान छ । तर, पछिल्लो समय केही वत्तीय संस्थाहरुमा देखिएका समस्याले समग्र सहकारी क्षेत्रलाई बदनाम बनाएको छ । खराब नियत राखेर सञ्चालन भएका सहकारीका कारण अन्य सहकारीमा बचत कम र फिर्ता बढी हुन थालेको अवस्था छ । तरलता अभावलाई न्यूनीकरण गर्नका लागि सहकारीहरुले विभिन्न योजनाहरु पनि बनाई रहेका छन् म्याग्दीको बेनी नगरपालिका–८ क्याम्पसचोक बेनीमा कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ठाकुर प्रसाद शर्मासँग म्याग्दी संवादादता अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादित अंश :
वित्तीय संस्थाहरुमा तरलताको समस्या बढ्दो छ, तपाईको संस्थामा समस्या देखिएको छ कि छैन ?
विश्व अर्थतन्त्रमा आर्थिक मन्दीको असर देखिन थालेको, विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुकमा ठुला ठुला बैंकहरु समेत धरासायी बनेको परिवेशमा हाम्रो मुलुकमा पनि आर्थिक मन्दीको असरले व्यापार, व्यवसाय, उद्योग, कलकारखानामा आर्थिक गतिविधिमा कमी भएको कारणले अहिलेको अवस्थामा सहकारी क्षेत्रमा तरलता लगायतका सामान्य समस्याहरु देखिनु स्वभाबिकै हो । तर, पनि यस युनिक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अवस्थालाई मध्यनजर गर्दा सञ्चालक समितिको जिम्मेवारी एवम् कर्मचारीको कुशल कार्यदक्षताको कारण हालसम्म सहकारीमा तरलताको अभाव छैन् । सहकारी संस्थाले गरेको काम र कर्मचारीको तदारुकता तथा सञ्चालक समिति अनि शेयर सदस्यहरु पनि त्यस्तै सक्रिय भएको कारणले गर्दा पनि हामीलाई तरलताको समस्याले धेरै प्रभाव परेको छैन् ।
लगानीका लागि निर्णय भएका कर्जाका फाइलहरु रोकिएको छ भन्ने गुनासो सुनिन्छ नि ? तपाईंकोमा अवस्था कस्तो छ ?
अहिलेको जटिल परिस्थितिमा कुनै पनि बैक तथा वित्तीय संस्थाहरुले ऋण लगानी नगरेको अवस्थामा पनि हाम्रो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई अत्यावश्यक समस्या समाधान गर्नका लागि ऋण लगानी गरिरहेका छांै । हाल सम्म स्वीकृत भैसकेका लगानी स्थगित गरेको अवस्था छैन् । हामीले शेयर सदस्यहरुको समस्या समाधान नै मुख्य प्राथमिकता हो त्यसैले हामीले सदस्यहरुको समस्या समाधान गर्ने तर्फ लाग्छौ, समस्या पार्ने होइन । हामीले माग गर्न आएको ऋण लगानी गर्ने गरेका छौं निर्णय भएको स्थगित गर्ने काम गरेका छैनौं ।
बढ्दो तरलताको समस्याबाट बाहिर निस्कन वित्तीय संस्थाहरुले के गर्नुपर्ला ?
नेपालमा सहकारी संस्था प्रत्येक नगरपालिका एव्म गाउँपालिका तहसम्म विस्तार भएतापनि यसको व्यवस्थापनमा समस्या देखिएको छ । सानादेखि ठूला सम्मका सहकारीमा आर्थिक तरलतामा समस्या उत्पन्न हुँदा न्यून एवंम् मध्यम वर्गसँग प्रत्यक्ष सम्पर्क रहने सहकारी संस्थाहरुको लक्ष्य अनुसारको परिणाम आउन नसकेको अवस्था छ ।
राज्यले अर्थतन्त्रको तेस्रो खम्बा मानेको मात्र नभई गाउँ गाउँमा रहेका जनतासँग प्रत्यक्ष सरोकार राख्ने तथा रोजगारी सृजनाको वातावरण बनाउने सहकारीहरुमा तरलताको अभाव भै बाहिर निस्कन नसक्ने जुन अवस्था छ, त्यसको प्रमुख कारण सहकारीको बारेमा फैलाइएका भ्रमहरु हुन् । त्यस्ता भ्रमात्मक खबर र अपुष्ट सन्देश फैलाउने कार्यले गर्दा अझ बढी जनता त्रसित हुने गरेको अवस्था हो । नेपाल राष्ट्र बैंकले सहकारीलाई हेर्ने र बैंकलाइ हेर्ने असमान दृष्टिकोण पनि अहिलेको जटिल अवस्थाको कारण हो । राज्यले नै सहकारी क्षेत्र नबुझेको जस्तो व्यवहार गरेका कारण पनि आज सहकारीहरु धारासायी बनाइदै छ । केही सहकारीका सञ्चालकले गरेको बदमासीको सजाय आम सहकारीहरुले पाउनु हुँदैन । सहकारीको साख जोगउन तथा तरलताको समस्याबाट बाहिर निस्कन सहकारीको मेरुदण्ड शेयर सदस्यहरुको बिचमा गइ तरलतालाई कसरी व्यवस्थापन गर्ने, सहज रुपमा कसरी परीचालन गर्ने, आम्दानी खर्चको विवरण कसरी बनाउने, आफुसंग भएको रकमलाई कसरी परिचालन गर्ने भन्ने बारेमा संचालक एवम् शेयर सदस्यहरु बीच छलफल गरी उचित निर्णय लिन सकेमा सहकारीको तरलताको अभावबाट बाहिर निस्कन सकिन्छ ।
लगानी भैसकेको ऋणको ब्याजदर हेरफेर गर्ने गर्नुभएको छ कि छैन् ?
राज्यले बैकहरुलाई जति पनि ब्याजदर लिन दिन पाउने व्यवस्था गर्ने तर सहकारीलाई जुन १०–१६ प्रतिशतको अंकुश लगाई दिएको छ । यो गम्भीर त्रुटि हो । अहिलेको अवस्थामा पनि हामीहरुले लगानी गरिएको ऋण रकमको व्याज दरमा लगानीकै अवस्थामा कायम गरेको व्याजदर नै यथावत राखेका छौं । परिवर्तन गरिएको छैन् । हामीले जुन व्याजदरमा लगानी गरेका छौं त्यही व्याजदर अनुरुपमा नै असुली गर्ने गर्दछौं । राज्यले केही नीति परिवर्तन गरेर व्याजदर परिवर्तनका लागि आग्रह गरेको खण्डमा त्यो मान्नु हाम्रो कर्तव्य हो नत्र भने कुनै पनि प्रकारले व्याजदर परिवर्तन हँुदैन् ।
सहकारी क्षेत्रलाई थप प्रवद्र्दन गर्नको लागि के गर्नुपर्ला ?
बैकहरुको व्याजदर दशकौ वर्ष यताकै उच्च बिन्दुमा पुगेको अवस्थामा सहकारी संस्थाको २०७८ फागुन यता व्याजदरमा पुनरावलोकन हुन सकेको छैन् । केहि सहकारी संस्थाबाट भएका गलत क्रियाकलापका कारण चलेको हल्लाले सबै सहकारीलाई एउटै नजरले हेर्दा समस्या उत्पन्न भएको छ । सदस्यहरुबाट एकै पटक बचत फिर्ता लिन खोज्दा संस्थाको तरलताको व्यबस्थापनमा कठिनाई भई संस्थाहरुमा गम्भिर असर पर्न थालेको छ । तसर्थ आफ्नो संस्थाको राम्रो पक्षको प्रचार प्रसार गर्ने विश्वासको वातावरण सृजना गर्ने, सहकारीले सदस्यलाई ऋण लगानी गर्दा अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सहकारी संस्था बचाउने र बचतको सुरक्षण समेत शेयर सदस्यबाटै हुने भएकाले सम्पुर्ण शेयर सदस्यलाई सहजीकरण र रचनात्मक भुमिका खेली तरलता व्यवस्थापन गर्ने वातावरण बनाउने र सम्पत्ती तथा दायित्व व्यवस्थापनका लागि नियमित वित्तीय विश्लेषण गरी अल्पकालिन तथा दिर्घकालीन योजना बनाएर सहकारी सुधार गरि संचालन गर्नपर्ने आवश्यकता छ ।