रुमका घर घरमा धारा

आदर्श अनलाइन, म्याग्दी
मालिका गाउँपालिका–२ रुमका चार सयभन्दा धेरै घरधुरीका लागि थालिएको एक घर एक धारा निर्माण कार्य सम्पन्न भएकाे छ । नेपाल स्वास्थ्यका लागि पानी(नेवा), स्थानीय तह, उपभोक्ताको जनश्रमदान तथा नगद लगानीबाट निर्माण भएको खानेपानी योजनाले स्वच्छ पिउने पानी व्यवस्था गरेको स्थानीयको भनाइ छ ।

पहिलो पाँच सात घरले एकै धारा प्रयोग गर्ने तथा कतिपयले पानी संकलनका लागि टाढा पुग्नु पर्ने अवश्था भए पनि अहिले खानेपानी आयोजना सम्पन्न भए पछि सबैको घरघरमा धारा आएको छ–मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार अहिले रुमको ठूलो रुम खानेपानी तथा सरसफाइ आयोजनाबाट २७२ धारा, कलात भनारी खानेपानी तथा सरसफाइ आयोजनाबाट ७४ धारा र बिलबाङ खानेपानी तथा सरसफाइ आयोजनाबाट ६५ धाराबाट स्वच्छ खानेपानी पिउन थालेका छन् ।

तीन वटा खानेपानी योजना निर्माण सम्पन्न भए सँगै रुम क्षेत्रका चार सय ८ घरका दुई हजार पाँच सय ६३ जनसंख्याले खानेपानीको समस्याबाट मुक्तिपाएका छन् । खानेपानी आयोजनाबाट चार सय आठ घर, एउटा स्कुल, एउटा वडा कार्यालय र स्वास्थ्यचौकी गरी कुल ४११ धारा जडान गरिएको वडा अध्यक्ष बुढाथोकीको भनाई छ ।

ठुलो रुम खानेपानी तथा सरसफाइ आयोजनामा २८ लाख ७४ हजार पाँच सय ३५ रुपैयाँ जनश्रमदात, ५६ लाख ५८ हजार छ सय २१ रुपैयाँ नेपाल स्वास्थ्यका लागि पानी(नेवा)को साथै मालिका गाउँपालिकाको २० लाख ३६ हजार दुई य ६८ रुपैयाँका साथै उपभोक्ताले नौ लाख ३८ हजार नगद गरी कुल एक करोड १५ लाख सात हजार चार सय २४ रुपैयाँमा निर्माण सम्पन्न भएको नेपाल स्वास्थ्यको लागि पानी(नेवा)का प्रदेश कार्यालय बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कलात भनारी खानेपानी तथा सरसफाइ आयोजनमा नौ लाख ३९ हजार आठ सय ८३ रुपैयाँ बराबरको जनश्रमदान, नेवाबाट १६ लाख ४२ हजार छ सय ३१, मालिका गाउँपालिकाले सात लाख ३६ हजार सात सय ४४ तथा उपभोक्ताले दुई लाख ५५ हजार पाँच सय रुपैयाँ नगद गरी कुल ३५ लाख ७४ हजार सात सय ५८ रुपैयाँमा निर्माण सम्पन्न भएको छ ।

त्यस्तै बिलबाङ खानेपानी तथा सरसफाइ आयोजनाका लागि नौ लाख ३४ हजार एक सय १७ रुपैयाँ बराबरको जनश्रम, १८ लाख ६७ हजार एक सय ६७ रुपैयाँ नेवा बाट, मालिका गाउँपालिकाबाट छ लाख ७२ हजार १२ तथा उपभोक्ताहरुले एक लाख ९२ हजार पाँच सय आठ रुपैयाँ नगद गरी कुल ३६ लाख ६५ हजार आठ सय चार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ ।

खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भए सँगै ग्रामीण भेकमा पिउने पानीको समस्या भोगी रहेका झण्डै दुई हजार जनसंख्याले पानीको समस्याबाट मुक्ति पाएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । जिसस प्रमुख थापाले रुम क्षेत्रमा आफू अनुगमनका क्रममा पुग्दा स्थानीयले स्वच्छ पिउने पानी पाउँदा निकै खुशी भएको पाएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्