अमृत बास्कुने, म्याग्दी
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार पुजा अर्चना तथा दर्शनका लागि बिहान साढे चार बजे देखिनै भक्तजनको घुइचो लागेको छ । ९ रोपनी क्षेत्रफलको एउटै बिशाल चक्रशिलामा अवस्थीत गलेश्वरधाममा स्वउत्पन्न ज्योर्तिलिङ्गको पुजा अर्चनाका लागि भक्तजनहरु टाढाटाढा बाट पनि आउने गर्दछन् ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषले दिएको जानकारी अनुसार बिहान ५ बजे अगाबै बाट पुजाअर्चनाका लागि भक्तजनहरु मन्दिरमा आइपुगेका थिए । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले दिएको जानकारी अनुसार बिहान नित्यपुजा पछि भक्तजनका लागि पाँच बजे भन्दा पनि पहिलाबाट नै मन्दीर खुला गरि।एको थियो । मन्दिरको नित्यपुजा सकिन नपाउँदै भक्तजनहरुको लाम बाहिर लागि सकेको उहाँको भनाई छ ।
मन्दीरका मुल पुजारी चन्द्रमणी आचार्यले सबै नित्य पुजा सकेर बिहान पाँच बजे भन्दा पनि अगाडी नै भक्तजनलाई मन्दिर दर्शनका लागि आवश्यक प्रवन्ध मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो–गलेश्वरमा हुने नियमित पुजा पछि भक्तजनको पुजाका लागि मन्दिर खुल्ला गरीने र त्यो कार्यजति सक्यो चाँडो सकेर भक्तजनको सुविधाका लागि आवश्यक प्रवन्ध मिलाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले मन्दिरमा दर्शनका लागि आउने भक्तजनहरुका लागि शान्ति सुरक्षाको व्यवस्थापन चुस्त पारीएको बताउनुभयो । मन्दिरको कम्पाण्ड भित्र तथा बाहिर पनि सुरक्षा घेरा चुस्त राखिएकोले निर्धक्क भएर दर्शन तथा पुजा अर्चनका लागि सर्वसाधारण आउने बातावरण बनाउनका लागि प्रहरी कटिबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।
बाहिरबाट मन्दिरको मुल गेटबाट प्रवेश गरे पछि लामबद्ध भएर अगाडी बढेर गणेशको पुजा पछि शिवजीको पुजाका लागि आवश्यक प्रवन्ध मिलाइएको शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । उहाँका अनुसार शिवालयको कार्यालय नजिकै स्वास्थ्य हेल्पडेस्क राख्नुका साथै आवश्यक सूचना समन्वयका लागि पनि आवश्यक प्रवन्ध मिलाइएको छ ।
गलेश्वरमा साउनका हरेक सोमबार भक्तजनको घुइचो लाग्ने गर्दछ । गलेश्वर शिवालयमा साउनका सोमबार तथा महाशिवरात्री र बालाचतुर्दशीमा पनि भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।