सडकमा चट्टान आए पछि बेनी–जोमसोम–कोरला सडक बन्द


अमृत बास्कुने, म्याग्दी

वर्षा पछिको पहिरोले ठुलो चट्टान ल्याएर सडकमा राखेपछि बेनी–जोमसोम–कोरला सडक खण्ड अबरुद्ध भएको छ । रघुगंगा गाउँपालिका–२ माथिल्लो बैशरी स्थीत शिरुबारीमा सडकमा चट्टान आएर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने उक्त सडक अबरुद्ध हुँदा मुस्ताङको पवित्र तिर्थस्थल मुक्तिनाथ दर्शन तथा पुजा अर्चनाकालागि आउने साथै मुस्ताङ भ्रमणका लागि आउने आन्तरीक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ ।

यस वर्षको मनसुन सुरु भए पछि म्याग्दी जिल्लामा बाढी तथा पहिरोले गर्दा असार ५ देखि हाल सम्म मुख्य सडकहरु नै ४० पटक भन्दा बढी अबरुद्ध भएको छ । मुख्य रुपमा हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम म्याग्दी हुँदै बागलुङको जलजला तथा ढोरपाटन एवम् रुकुम जोड्ने बेनी–दरवाङ सडकले पनि पटकपटक सास्ती दिएको छ । एक महिनाको अवधिमा पश्चिम म्याग्दी जोड्ने सडक खण्डको बेनी नगरपालिका–४ सिंगा र मंगला गाउँपालिका–२ बाबियाचौरको सिमलचौरको सिमाना फापरखेतको घुमाउने भिरमा पटकपटक अबरुद्ध भएको थियो । पछिल्लो समय बेनी–दरवाङ सडक लगातार १० दिन सम्म अबरुद्ध हुँदा पश्चिम भेकमा सोझो यातायात सञ्चालन हुन नसक्दा खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुको समेत अभाव सृजना भएको थियो ।

पश्चिम म्याग्दी जोड्ने सडककै मालिका गाउँपालिकाको बाङ्गे भिरमा पनि पहिरो झरेर सडक अबरुद्ध हुने गरेको छ । त्यस्तै दरवाङ ताकम सडकको बेँसीमा सडक अबरुद्ध हुँदा मालिका गाउँपालिका हुँदै धवलागिरी गाउँपालिका जोड्ने सडक अबरुद्ध हुन पुगेको थियो । बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका–४ सिंगा तातोपानी स्थीत फापरखेतमा गएको असार ३१ देखि साउन ६ गते सम्म सात दिन लगातार बन्द भएको थियो भने पुनः साउन ८ गते देखि बन्द भएर १० गते खुलेको थियो । यो बाहेक अन्य दिनहरुमा पनि असार ५ गते भन्दा पछाडी एक सय २५ घण्टा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) राजन रायमाझीले बताउनुभयो । उहाँका अनुसार बेनी–दरवाङ सडक खण्डमा मुख्यगरी बेनी नगरपालिका–४ को फापरखेत स्थीत घुमाउने भीर र मालिका गाउँपालिकाको बाङ्गे पहिरोमा लेदो सहितको पहिरोले गर्दा सडक अबरुद्ध भै रहने गरेको छ ।

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खण्ड अन्तरगत बैसरी, तिप्ल्याङ, भुरुङ तातोपानी तथा दाना क्षेत्रमा पटकपटक यातायात बन्द हुँदा मुस्ताङ जाने तथा फर्कने यात्रुलाई सास्ती भएको छ । सामान्य पानी परे पनि बैसरी तथा तिप्ल्याङ क्षेत्रमा सडक अबरुद्ध हुने गरेको बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनको भनाई छ । बेलुका सडक खुलाएर सुत्यो राती नै बन्द हुन्छ, निकै समस्या भएको छ उहाँले सुनाउनुभयो । एक महिनाको अबधिमा बेनी–जोमसोम सडक खण्ड २५ पटक गरी एक सय ११ घण्टा भन्दा धेरै समय बन्द रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीको रेकर्डले देखाएको छ । उक्त सडक अहिले पनि बन्द रहेको छ । सडक मुनिबाट कालिगण्डकीको कटान र माथिबाट झर्ने पहिरोले गर्दा यो सडक निकै जोखिमपूर्ण मानिन्छ । भारत र चीन जोड्ने सबै भन्दा छोटो मानिने यो सडकको उचित मर्मत सम्भार गर्न सकेको खण्डमा देशलाई निकै फाइदा पुग्ने सडकको उचित तबरले दिगो स्तरोन्नती आवश्यक रहेको अन्नपुर्ण गाउँपालिका–३ दानाका वडा अध्यक्ष रमेश पुर्जाको भनाई छ ।

त्यसैगरी रघुगंगा बेल्डमा पर्ने गलेश्वर–मौवाफाँट हुँदै कुइनेमंगले जाने सडकको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा गत असार ८ गते बिहान पहिरो जाँदा अबरुद्ध भएको सडक एक महिना देखि खुल्न सकेको छैन । गलेश्वर–कुइनेमंगले सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीका साथै त्यस क्षेत्रमा निर्माणधीन अवस्थामा रहेका तीन वटा जलविद्युत आयोजनाको सामग्री ढुवानीमा समेत समस्या भएको रघुगंगा गाउँपालिका–२ का युवा झलक आचार्यको भनाइ छ । मलाङमा गएको ठूलो पहिरोले गर्दा त्यस क्षेत्रमा जाने यातायात बन्द हुँदा जलबिद्युतका साथै कुइनेमंगले लगायतको क्षेत्रमा सोझो यातायात सेवा बन्द भएको छ ।

वर्षात्को समयमा सडक अबरुद्ध हुने समस्या निकै भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी खट्ने भए पनि सडक तत्काल सञ्चालनका लागि जोखिम हुने उहाँको भनाई छ । लगातार पहिरो झरी रहेको हुन्छ त्यस्तोमा जोखिम मोलेर सडक खुलाउन तर्फ लाग्न पनि सबैलाई जोखिम नै हुने भएकाले पनि पानी रोकिने समय सम्म पर्खनु पर्ने बाध्यता हुने बताउनुभयो । मनसुन सुरु भए पछि जिल्ला भित्रबाट १०३ जना विस्थापित भएका छन् भने दुई जनाको मृत्यु भएको छ । २४ वटा घर र एउटा प्रहरी बिट बिस्थापित भएको म्याग्दी जिल्लामा ६ घर र १ गोठ पूर्ण रुपमा क्षती भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *