अमृत बास्कुने, म्याग्दी
हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा मुलुकका १७ जिल्लाका कृषि प्राविधिकहरु ओखर खेती सम्बन्धि प्रशिक्षणमा सहभागी भएका छन् ।
राज्यको तीनै तहका कृषि प्राविधिकहरु सहभागी रहेको उक्त तालिममा ओखर खेती प्रविधिको प्रयोगात्मक र शैद्धान्तिक कक्षा सञ्चालन हुनेछ । संघिय, प्रदेश र स्थानिय तहका कृषि प्राबिधिकहरुको सहभागिता रहेको उक्त तालिम बुधबारदेखि शुरु भएको र शुक्रबार सकिने छ ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा गरिएका ओखर खेतिका विविध प्रविधिहरु देखाउने र सिकाउने साथै ओखर उत्पादन प्रविधि र गुणस्तरिय विरुवा उत्पादनका प्रविधिहरुका वारेमा कृषि प्राविधिकहरुलाई ब्यवहारिक रुपमा सिकाउने मुख्य उद्देश्य रहेको आयोजक संस्था शीतोष्ण वागवानि विकास केन्द्र मार्फाले जनाएको छ । तालिमका संयोजक शीतोष्ण बागवानि विकास केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाका अनुसार तालिममा १७ जिल्लाका १८ जना प्राविधिकहरु सहभागी रहेका छन् । १५ जना पुरुष र तीन जना महिला प्राविधिकले तीन दिन सम्म मार्फा क्षेत्रमा ओखरको प्राबिधिक पाटाहरुको अध्ययन गर्नुका साथै अभ्यास पनि गर्नेछन् ।
तालिममा मुस्ताङ्गवाट २ जना र ईलाम, धनकुटा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, तनहुँ, मनाङ्ग, बाग्लुङ्ग, म्याग्दी, रुकुम पूर्ब, प्युठान, दैलेख, डोल्पा, बैतडी, दार्चुलाका एकएक जना सहभागी रहेका छन् । तालिममा सकेसम्म बढि ब्यवहारिक ज्ञान दिने हिसावले करिव ६० देखि ७० प्रतिशत व्यवहारिक र ३० देखि ४० प्रतिशत जति सौद्धान्तिक कक्षाहरु दिईने शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।
ओखर खेती प्रविधि तालिममा सहभागीताकालागि अनलाईन दरखास्त आह्वान गरेको र अनलाइन माध्यमबाट एक सय एक जनाले फारम भरिएकोमा १९ जना मुख्य र २ बैकल्पिक गरी कुल २१ जना सहभागीहरुलाई छनौट गरिएको आत्रेयको भनाई छ ।
तालिममा ओखरको प्रसारणः सायन तथा रुटस्टक छनौट र प्रसारण गर्ने प्रमुख बिधिहरु सहभागिहरुलाई सिकाईने आयोजकले जनाएको छ । तालिममा टङ्ग ग्राफ्टिङ्ग र चिप वडिङ्ग, ओखरको फूल फुल्ने प्रकृया, तालिम तथा काँटछाँट, वाक्सिङ्ग, टप वर्किङ्ग, नेचुगी र ब्रिज ग्राफ्टिङ्ग विधिहरुको वारेमा ब्यवहारिक रुपमा सिकाइने छ ।
तालिममा नेपालमा ओखर खेतीको हालको अवस्था यसको महत्व, सम्भावना तथा चुनौतीहरु र उन्नत खेती प्रविधिबारे जानकारी गराइएको छ ।
त्यस्तै उपयुक्त हावापानी, माटो, जग्गा छनौट, रेखाङ्कनका बिधिहरु, खाडलको तयारी र रोपण, जग्गा छनौट, बगैंचा ब्यवस्थापन सिंचाई, गोडमेल, मल्चिङ्ग, अन्तरबाली व्यवस्थापन, टिपाईर भण्डारण तथा बजारीकरणको बारेमा सैद्दान्तिक र ब्यवहारिक ज्ञान पनि प्रदान गरिएको थियो ।
ओखर खेतीको ब्यवसायिक योजना र लाभ लागत अध्ययन विश्लेषण तथा व्यवसायिक ओखर खेती गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमापनि जानाकारी गराइने छ । ओखरको प्रसारण सायन तथा रुटस्टक छनौट र प्रसारण गर्ने प्रमुख बिधिहरु, गुणस्तरिय विरुवा उत्पादनको लागि बीउको छनौट, उपचार, रुटस्टक विरुवा उत्पादन र नर्सरी ब्यवस्थापनलगायतका विषयमा पनि तालिममा शैद्धान्तिक र व्यवहारीक ज्ञान प्रदान गरिनेछ ।
फलफूलमा तन्तु प्रजनन् बिधि तथा ओखरमा यसको महत्व र नर्सरीमा भईरहेका विविध कृयाकलापहरु बोड्रो मिश्रण र बोड्रो पेष्ट वनाउने तरिका र ओखरमा यसको प्रयोगका बारेमा पनि सिकायने छ । त्यस्तै ओखरमा लाग्ने मुख्यमुख्य रोगहरुरकीराहरु र तिनको ब्यवस्थापनको शैद्धान्तिक तथा व्यवहारीक ज्ञान प्रदान गर्ने छ ।