अमृत बास्कुने, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–४ का हर्कबहादुर विश्वकर्मा र नरबहादुर विश्वकर्माले आरन व्यवसाय गरेरै जीवन धान्दै आउनु भएको छ । कहिले नगद त कहिले बालिघरे गरेर परिवार चलाउँदै आउनु भएका उहाँहरुलाई अहिले जीवन धान्न गाह्रो भइरहेको छ । पुख्र्यौली पेसा आरन अङ्गाल्नु भएका उहाँहरुलाई अचेल हतियार अर्जपेपछि दिने नगदले तत्काल काम टर्ने भए पनि भोली के गर्ने होला भन्ने चिन्ता लाग्छ ।
५६ वर्षीय नरबहादुर विश्वकर्माका अहिले पनि ३० घर बालिघरे गर्नुहुन्छ भने अरुले आएर हतियार मर्मत गरेपछि रकम दिने गर्दछन् । पछिल्लो समय बालिघरे प्रथा कम हुँदै गए पनि नगदमा भन्दा बरु अनाजै दिए टिकाउ हुने उहाँ बताउनुहुन्छ ।
बेनी नगरपालिका–४ थामडाँडाका हर्कबहादुर विकको पनि धारणा समान छ । उहाँ भन्नुहुन्छ–‘बरु पाँच पाथी नै धान दिए पनि भकारिमा हुन्थ्यो, पैसा दिन्छन् अहिले हात थाप्यो बेलुका खाली हुन्छ, ८० वर्ष भएँ जिउ ज्यानले थेग्दासम्म बाउबाजेले सिकाएको यही काम गर्नेहोला चल्न छाड्यो पाखुरा भने के गर्ने ?’
बेनी नगरपालिका–४ सिंगाको पुल तरेपछि सडक भन्दा केही माथि टिनको छाप्रोमुनि रहेको आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको कयौं दिन महिना र वर्ष बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पनि पत्तै हुँदैन । भोक, तिर्खा र थकाई पनि लाग्दैन हर्कबहादुरलाई । अरु काम पनि खासै पाइदैन अनि मेरो उमेरले पनि सक्दीन अरु काम गर्नुभन्दा आरनको काम गर्न उमलाइ निकै सजिलो हुन्छ हर्कबहादुर भन्नुहुन्छ ।
बेनी नगरपालिका–४, थामडाँडा घर भएका ८० वर्षीय हर्कबहादुर विश्वकर्माले सिंगामा आरन गर्न लागेको पनि झण्डै तीन दशक बित्यो । सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सिप सिकेर आरन पेशा थालेको उहाँ बताउनुहुन्छ । यही पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेशा भएकाले निरन्तरता दिएको उहाँको भनाइ छ ।
हर्कबहादुरले आफ्नो आरनमा फलामबाट बन्न सक्ने सबैखाले सामानहरु बनाउने बताउनुहुन्छ । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार(अर्जप्ने) गर्ने काम पनि हर्कबहादुरले आरनमै गर्नुहुन्छ । उहाँ भन्नुहुनछ–‘फलामबाट बन्ने हसिया, कुटो, कोदालो, बन्चरो, दाबे, ताप्के, झाङ्गा र सिल्टेबाट बन्ने दिउरी, ताउलीलगायत सामानहरु बनाउने सिप म सँग छ ।’ थामडाँडामा बस्ने घर भए पनि उहाँले बेनी नगरपालिका–४ सिंगा स्थीत म्याग्दी खोला पारीपट्टी आङ्गेबगरको छेउमा आरन चलाउनुहुन्छ ।
सातवटी छोरी र दुईवटा छोराका बाबु हर्कबहादुरले आरन चलाएरै छोराछोरी हुर्काएको बताउनुभयो । उहाँले पहिले–पहिले गाउँ घरबाट अन्नपात(वार्षिक रुपमा बाली) लिएर आरनको काम गर्ने गरेको भए पनि अहिले भने ज्याला (पैसा) लिएर काम गर्ने गरेको बताउनुभयो । फलामबाट बन्ने सामानहरु हसिया, कुटो, कोदालोलगायत अर्जाबेको ठूलो–सानो सामान हेरेर न्यूनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म लिने गर्नुहुन्छ । नयाँ बनाएको हँसियाको तौल अनुसार तीन सय देखि एक हजार रुपैयाँ सम्म मुल्य लिने गर्नुहुन्छ । यसैगरी कोदालो र दाबे छ–छ सय रुपैयाँ, झाङ्गा सातसय र बन्चरोको मूल्य दुई हजार रुपैयाँ पर्दछ ।
पहिलेको समयमा आरनमा फलाम र सिल्टेका सामान बनाएको वार्षिक रुपमा १०–१२ मुरी अन्न सङ्कलन गर्ने हर्कबहादुरले अहिले पनि धान, गहुँ र मकै गरेर तीनचार मुरी अन्न उठाउनुहुन्छ । हाल फलामजन्य सामान नयाँ बनाउनुका साथै पुरानो सामानको मर्मतसम्भार गरेर मासिक १५–२० हजार रुपैयाँ कमाउने गरेको उहाँले बताउनुभयो । पहिलाको समयमा सामान बनाएको अन्नपात लिएर काम गर्नुभन्दा अहिले ज्याला लिँदा आफूलाई तत्काल गर्जोटर्ने भए पनि दिर्घकालिन नभएको उहाँको अनुभव छ ।
मानिसलाई चाहिने दैनिक उपभोग्य सामानहरु बनाउन निकै खप्पिस हर्कबहादुरले सामुदायिक वनबाट दाउरा किनेर गोल बनाउने गर्नुहुन्छ । बेनी नगरपालिका ४(साविकको सिंगा गाविसको १–३) थामडाँडा क्षेत्रमा आरन चलाउने आफूहरु तीनजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘मैले यहाँ गर्छु यही भएका नरवहादुरले बदमखोरीया र अर्का कृष्ण विश्वकर्माले थामडाँडामा आरान गर्छन् ।’ हामी तीनैजना मिलेर संयुक्त रुपमा गोल बनाउने गरेका छौं–उहाँले भन्नुभयो । आरनमा फलामका सामान बनाउन र तिखार्न काठको गोल चाहिन्छ । काँचो दाउरालाइ पोलेर आगो निभाए पछि अर्धजलेको काठलाई गोलको रुपमा प्रयोग गर्ने उहाँको भनाई छ ।
आरन पेशामै जिन्दगी बिताउनुभएका हर्कबहादुरले ‘तिघ्रा–पाखुरा चलुन्जेल काम गर्ने हो अनि छोड्छु भन्नुभयो ।’ ‘अब विस्तारै आरनको काम गर्न छोड्ने सोच बनाएको छु । नयाँ सामान बनाउन नसके पनि पुराना सामान बनाउनको लागि पनि अब उमेर ढल्कँदै गएकाले बनाउन सकिदैन’ उहाँले भन्नुभयो ।
हामी पुख्र्यौलि पेसा भनेर चलाउँदै आए पनि अब नयाँ पुस्ताले आरन गर्नेमा आशंका छ–नरबहादुरले भन्नुभयो । नयाँलाई सिकाउने प्रयास त हुन्छ नै तर पनि उनीहरुले सिक्नै नखोज्ने र सिके पनि प्रयोग गर्ने ठाउँ नै नहुने हो कि भन्ने सम्मको अवस्था रहेको उहाँले सुनाउनुभयो ।