अमृत बास्कुने, म्याग्दी
म्याग्दीको रघुगंगा गाउँपालिकाले दुई वर्ष अगाडी निर्माण गरेको कोल्डस्टोरमा माकुराले जालो लगाएको छ । कोल्डस्टोरमा माकुराले जालो लगाउनुका साथै वरपर पनि झारपातले ढाक्दा किसानले उत्पादन गरेका सुन्तला तथा आलुलाई लामो समय सुरक्षित राख्न नसक्दा चिन्तीत छन् ।
रघुगंगा गाउँपालिका–५ झिँमा उपभोक्ता समिति मार्फत २३ लाख ४६ हजार छ सय ६७ रुपियाँमा सम्झौता गरेर दुई वर्ष अगाडी निर्माण गरेको थियो । गाउँपालिकाको १९ लाख ६० हजार र उपभोक्ता समितिको दुई लाख १७ हजार छ सय ६० रुपियाँ बराबरको जनश्रम गरेर निर्माण गरेको कोल्डस्टोर सञ्चालन आउन नसकेको वडाअध्यक्ष मनबहादुर शेरमञ्जाको भनाई छ । २० मेट्रिकटन क्षमताको कोल्डस्टोर प्रयोग हुन सकेको छैन ।
उक्त कोल्डस्टोर नजिकै पुग्दा माकुराको जालोले ढाकेको प्रष्ट देखिन्छ भने भित्रको फिनिसिङ गर्नका लागि गाउँपालिकामा ताकेता गर्दा पनि विगतमा बजेट निकासा नगर्दा सञ्चालन गर्न नसकेको अध्यक्षको भनाई छ । यस वर्ष केही बजेट व्यवस्था भएको छ अब सामग्री खरिद गरेर सञ्चालन गर्ने योजना छ–उहाँले भन्नुभयो ।
रघुगंगा गाउँपालिकाको झिँ तथा पाखापानी एवम् बेनी नगरपालिकाको पात्लेखेतका कृषकले पनि आलु भण्डारण गर्नका लागि सेवा लिन सक्ने थिए वडा अध्यक्ष शेरमञ्जाले बताउनुभयो । हामीले भन्ने भनेकै पालिकामा हो पालिकामा धेरै पटक कुरा राखे तर पालिकाले विगत वर्षमा सुन्दैसुनेन जनश्रम गरेर निर्माण सम्पन्न गर्न सघाएका कृषकहरु निर्माण सकिएको तीन वर्ष पुग्नै लाग्दा पनि प्रयोगमा आउन नसक्दा निराश छन् ।
रघुगंगा गाउँपालिको वडा नम्बर–२ भगवतीमा एक करोड १३ लाख ४८ हजार आठ सय ८५ रुपियाँ लागत स्टमेट गरेर डोलेस्वार महादेव निर्माण तथा सप्लायर्स प्रालि काठमाडौं सँग ९१ लाख दुई सय १७ रुपैंयाँ २५ पैसामा सम्झौता गरेको थियो । कृषि उपज संकलन, भण्डारण र व्यवस्थापनका लागि कोल्डस्टोर निर्माण गरिएको भए पनि निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि उक्त कोल्डस्टोर सञ्चालनमा आउन सकेको छैन ।
रघुगंगा गाउँपालिका–२ का अध्यक्ष अमृत भण्डारीले चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याउने तयारी गरिएको बताउनुहुन्छ । भवन र देखिने चिज बन्यो तर भित्री कामहरु बाँकी रहेको हुनाले सञ्चालन गर्न नसकिएको उहाँको तर्क छ । भवन निर्माण भै सके पनि त्यसलाई तारबार गर्ने तथा भित्र आवश्यक पर्ने कृषिउपज राख्नका लागि आवश्यक पर्ने क्रेटलगायतका पूर्वाधार नहुँदा सञ्चालन गर्न कठिन भएको थियो वर्ष खरिद गरे सञ्चालन हुने अपेक्षा गरेका छौं–उहाँको भनाई छ । गाउँपालिका भित्र उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुंगा साबित हुने अपेक्षा गरेको भए पनि सञ्चालन नै नहुने हो कि भन्ने डर कृषकमा पलाएको थियो ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती र ३ पिप्ले क्षेत्रमा सुन्तला जातका फलफूल तथा आलुलगायतका उत्पादनलाई कोल्डस्टोरमा राखेर अफ सिजनमा विक्री गर्न सकेको खण्डमा कृषकले राम्रो मुल्य पाउने अपेक्षा सहित निर्माण गरिएको भए पनि सञ्चालनमा आउन नसक्नदा निरासा बढेको रघुगंगा गाउँपालिका–२ का सुन्तला कृषक कृष्णबहादुर शाहीको भनाई छ । सुन्तला फल्यो केही समय भए पनि कोल्डस्टोरमा राख्न पाएको भए पछि मुल्य राम्रो पाउँथ्यो होला तर के गर्नु चलेकै छैन छिटै बेच्दा मुल्य नै पाइएन–उहाँले भन्नुभयो ।