म्याग्दीमा ४० जलविद्युत आयोजनाबाट एब हजार १६ मेगावाट विद्युत उत्पादन हुँदै

अमृत बास्कुने, म्याग्दी

म्याग्दीमा सञ्चालनको तयारीमा रहेका र सञ्चालनमा आईसकेका जलविद्युत आयोजनाहरुबाट एक हजार मेगावाटभन्दा बढी बिद्युत उत्पादन हुने भएको छ ।

म्याग्दीमा सर्भे अनुमति लिएका, निर्माण अनुमति लिएका र सञ्चालनमा आएका गरि एक हजार १६ मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने विद्युत विकास विभागका सुचना अधिकारी बद्री कुइकेलको भनाइ छ ।

हाल म्याग्दीमा छ वटा जलविद्युत आयोजनाहरुबाट एक सय ७१ मेगावाट विद्युत उत्पादन भै रहेको विद्युत विकास विभागको तथ्याङ्कले देखाएको छ । तातोपानी सानोजलविद्युत आयोजनाले उत्पादन गर्ने २ मेगावाट विद्युत घलेम्दी हाइड्रोले उत्पादन थाले पछि वन्द गर्ने सहमती अनुरुप सञ्चालनमा नभएको भए पनि हालको क्षमता अनुसार उत्पादन हेर्दा पनि १६९ मेगावाट विद्युत उत्पादन भएको देखाउँछ ।

५ मेगावाटको घलेम्दी हाइड्रो, १४ मेगावाटको घारखोला जलविद्युत, निलगिरी खोला जलविद्युतको ३८ र निलगिरीकै क्यासकेड ७१ र मिस्त्री खोला जलविद्युतको ४२ मेगावाट विद्युत अहिले उत्पादन भै रहेको छ ।

त्यस्तै पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको मुदीमा ८ मेगावाटको माथिल्लो तिरिजाखोला, अन्नपुर्ण गाउँपालिकाको नारच्याङमा ३२ मेगावाटको निलगिरी खोला र रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा ५ मेगावाटको स्यानो र पन्थोखोला जनविद्युत परियोजनाको सर्वेका लागि विभिन्न निर्माण कम्पनिहरुले विद्युत विकास विभागमा निवेदन दिएका छन् । त्यस्तै ९ दशमलब ८३ मेगावाटको सुपर ठुलोखोला हाइड्रो प्रोजेक्ट, ५ मेगावाटको मंगला म्याग्दी क्यासकेटलाई सर्बेका लागि विद्युत विकास विभागले अनुमति दिएको छ ।

सर्भे सकिएर १२ दशमलब ७३ मेगावाट अपर मुदी हाइड्रो, ३० मेगावाट म्याग्दी खोला ए, १२ दशमलब ५ मेगावाट म्याग्दी खोला बि, एक दशमलाब ८६ मेगावाट तल्लो रुप्से र ९ दशमलब ७१ मेगावाट मुदीको तिरिजा खोला जलविद्युतले निर्माणका लागि निवेदन दिएका छन् । जिल्ला भित्र विभिन्न २४ वटा जलविद्युत आयोजनाहरु भने निर्माणको क्रममा रहेका छन् ।

उनीहरु सबैजसोले कन्स्ट्रक्सनको काम थालेको विद्युत विकास विभागले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत लगायतका कम्पनिहरुले आफ्नो काम रफ्तारमा गरि रहेका छन् । अपर म्याग्दी खोला, रुप्से खोला, दरवाङ म्याग्दी खोला, राहुघाट मंगले, रेले खोला, कालिगण्डकी गर्ज लगायतका विद्युत आयोजनाले आफनो भौतिक काम थाल्नका लागि अनुमति लिइ सकेका छन् ।

विद्युत विकास विभागको तथ्याङ्क अनुसार सात सय १८ मेगावाट विद्युत निर्माणको क्रममा रहेको छ । त्यसैगरी ६६ दशमलब ८ मेगावाट विद्युतको कन्स्ट्रक्सनका लागि निवेदन दिएका छन् भने १५ मेगावाट विद्युतको सर्वेको लाइसन्स लिएर बसेका छन् । म्याग्दी जिल्ला भित्र ४५ मेगावाट विद्युत उत्पादनका लागि निर्माण कम्पनिले सर्वेको लाइसन्सका लागि निवेदन दिएका छन् ।

संविधानसभा सदस्य नवराज पौडेलले म्याग्दी विद्युत उत्पादनका लागि निकै सम्भावना भएको जिल्ला भएकोले यसलाइ निर्माणमा कुनै पनि प्रकारको अवरोध नहुने गरी काम भएको खण्डमा एक दशक भित्रै हजार मेगावाट विद्युत उत्पादन म्याग्दीका लागि अनौठो नहुने बताउनुभयो ।

यो पनि पढ्नुहोस्