सिर्जना पन्त, बागलुङ
पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क यतिबेला पहेँलै छ । यहाँको सिंगो गाउँनै पहेँलै पाकेका सुन्तलाले ढाकिएको छ, छोपिएको छ । पहिलो पटक बाँसखर्क पुग्नेहरुले झुप्प फलेका सुन्तला र सुन्तलाको वजनले नुघेका रुख मात्र देख्छन् । निजन लगाएर नहेरेसम्म सुन्तलाको बगैचा बिचमा लुकामारी खेले जस्ता घरहरु देखिदैनन् ।
यस वर्ष बाँसखर्कमा मात्र सुन्तला बेचेर यहाँका कृषकले रु १८ करोड ४४ लाख ४७ हजार भित्राएका छन् । बाँसखर्क गाउँको १५ सय रोपनीमा सुन्तलाको बगैचा विस्तार गरिएको छ । जस मध्ये २६ हजार ७ सय ६ रुखमा सुन्तला फल्छन् । २४ हजार ४ सय ४५ सुन्तलाका बोट हुर्कँदै छन् । यी मध्ये केही बोटले आगामी वर्ष फल दिने छन्, केहीको लागि भने दुई वर्ष कुर्नु पर्ने स्थानीयको भनाइ छ ।
बाँसखर्कमा मात्र ५१ हजार १ सय ५१ वटा सुन्तलाका बोट रहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँमा सबैभन्दा धेरै सुन्तला जगतबहादुर खत्रीले फलाउनु हुन्छ । उहाँको २२ रोपनी जमिनमा सुन्तलाको बगैचा छ । १४ सय ५० वटा सुन्तलाका बोट छन्, जस मध्ये ५ सय ५० वटा बोटमा सुन्तला फल्छन् ।
उहाँले यस वर्ष मात्र सुन्तला बेचेर रु ३५ लाख रुपैयाँ आम्दानी गर्नु भएको छ । खत्री पछि बाँसखर्कका शान्तबहादुर छिन्तेलले सुन्तला बेचेर आम्दानी गर्नु हुन्छ । उहाँले यस वर्ष मात्र रु २३ लाख सुन्तला बेचेर घर भित्राउनु भएको छ । शान्तको २० रोपनी जमिनमा ९ सय ५० वटा सुन्तलाका बोट छन् । जसमध्ये कही नयाँ र पुराना गरेर ७ सय ५० बोटलमा सुन्तला फल्छन् ।
गाउँमा सुन्तला बेचेर धेरै आम्दानी गर्नेहरुको सूचिको तेस्रो नम्बरमा हेमकुमार अर्मजा हुनुहुन्छ । उहाँले यसवर्ष सुन्तला बेचेर रु १९ लाख आम्दानी गर्नु भएको छ । उहाँको २२ रोपनी जमिनमा ८ सय सुन्तलाका बोट छन् । जसमध्ये ७ सय बोटमा सुन्तला फल्छन् ।
२ सय ३९ घरधुरी रहेको बाँसखर्कमा सबै घरमा सुन्तलाबाट आम्दानी भित्रिन्छ । प्रत्येक घरमा न्यूनतम पनि ५ लाख रुपैयाँ सुन्तला विक्रिबाट भित्रने गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । सुन्तला बेच्न यहाँका किसानलाई समस्या छैन् ।
काठमाडौ, पोखरा, मुग्लिन र नारायणगढबाट समेत सुन्तला किन्नेहरु गाउँमै आउने गरेका छन् । यहिले पनि बासर्खको सुन्तला बगैचामा सुन्तला टिप्ने व्यापारीको घुँइचो छ । काठमाडौबाट सुन्तला किन्न आएका सोनु गुप्ताले २० लाख बराबरको सुन्तला खरिद गरेको बताए । उनीसँगै अन्य चार जना व्यापारी पनि आएका छन् । बाँसखर्कमा यतिबेला २ दर्जनभन्दा बढी व्यापारीले सुन्तला टिप्दै छन् ।
सुन्तलाको बगैचा विस्तार हुँदै जाँदा सिंचाइका लागि पानीको समस्या हुन थालेको छ । कच्ची र धुलाम्य सडकका कारण ढुवानीमा पनि समस्या छ । तर, पनि देशकै स्वादिलो, आकार र रङ्मा पनि गुणस्तरीय सुन्तला उत्पादन हुने हुँदा विक्रीमा समस्या छैन ।