आदर्श अनलाइन, तनहुँ
तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउने लगायतका लक्षण देखिएको बताइएको छ ।
शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिनुभयो । चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उहाँले बताउनुभयो ।
यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उहाँले बताउनुभयो । नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताउनुभयो ।