चिसो मौसममा रोगबाट कसरी जोगिने ?

विश्वास कायत
सामुदायिक स्वास्थ्य सेवा इकाई बोबाङ ९ बागलुङ

जाडो मौसम सुरु भएसँगै मानिसको स्वास्थ्यमा विभिन्न स्वास्थ्य सम्वन्धि समस्याहरु देखिन थाल्दछन् । विशेष गरी बालबच्चा, वृद्धाहरु र स्वास प्रस्वास सम्वन्धि समस्या भएकाहरुले विशेष ध्यान दिनु पर्दछ । जाडो मौसममा विशेषतः चिसोबाट जोगिनु पर्दछ । मानिसको उमेर बढेसँगै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता घट्दै जान्छ । त्यसकारणले वृद्धावृद्धाको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्दछ ।

चिसो मौसममा धुवा धुलोले ब्याक्टेरिया इन्फेक्सनले गर्दा रुघाखोकी लाग्ने हुन्छ । साना बच्चाहरुलाई निमोनिया हुन्छ । त्यसकारण विशेष गरेर बच्चाहरुलाई जाडो मौसममा न्यानो बनाउने, तातो खानेकुरा खुवाउने, धुलो, धुवाबाट बचाउनु पर्दछ । विशेषतः सबै उमेरका मानिसहरुले चिसो मौसममा धुलो धुवाबाट बच्नु पर्ने हुन्छ । अनिवार्य रुपमा तातो खानेकुरा खानु पर्दछ । तातोपानी पिउने, न्यानो लुगा लगाउने र स्वास्थ्यमा समस्या आएमा चिकित्सकको सल्लाह लिएर औषधिको प्रयोग गर्नु पर्दछ । चिसो मौसममा खोकी लाग्ने, घाँटी दुख्ने, रुघा लाग्ने, श्वास फेर्न गाह्रो हुने, हाच्छिउ आउने, जीउ दुख्ने समस्या देखिन्छ ।

बालबच्चालाई रुघाखोकी लागेमा विद्यालय नपठाएको राम्रो हुन्छ । रुघाखोकी भनेको सरुवा रोग भएका कारणले अन्य बालबच्चालाई पनि सर्न सक्ने हुँदा रुघाखोकी लाग्दा बालबच्चालाई घरमै राखेर हेरविचार गरेको राम्रो हुन्छ । साधारण खालको रुघाखोकीलाई घरमै बसेर उपचार गर्न सकिन्छ भने रुघाखोकी सँगै नाकबाट पहेलो सिगान आउने, घाँटी, कानमा समस्या आउने, नाक बन्द हुने जस्ता लक्षण देखिन थालेमा स्वास्थ्य संस्था र अस्पताल पुगेर चिकित्सकलाई देखाउनु पर्दछ । विशेष गरी बालबच्चाको हकमा ध्यान दिनु पर्दछ । रुघाखोकी लागेका मानिसहरु भिडभाडमा नजाने, हाच्छ्उि आउँदा मुख छोपेर मात्र गर्नु पर्दछ ।

चिसोबाट खासगरी ६० वर्ष काटेका मानिसहरुले धेरै ध्यान दिनु पर्दछ । उनीहरुलाई स्वास प्रस्वासमा समस्या, बाथरोगले समस्या हुने भएकाले, न्यानो लुगा लगाउने, तातो खानेकुरा खाने र जाँडरक्सी, चुरोट खाने लत भएमा त्यसलाई सुधार गर्नु पर्दछ । चुरोट सेवन गर्दा स्वास प्रस्वासमा समस्या आउने भएकाले चुरोट सेवन गर्न बन्द गर्नु पर्ने हुन्छ । पेय पदार्थहरु कोक, फेन्टा जस्ता कुराहरु जाडो महिनामा खानु हुँदैन । विशेषतः जाडो मौसममा तातो पानी पिउनु पर्दछ । जाडो मौसममा हाड जोर्नीको दुखाई बढी हुन सक्ने भएकाले विशेष ध्यान दिनु पर्दछ ।
जाडो मौसममा मानिसहरुको हात खुट्टा, ओठको छाला फुट्ने फुस्रो हुने समस्या पनि धेरै पाइन्छ । त्यसका लागी कोल्ड क्रिमहरुको प्रयोग गर्नु पर्दछ । छालालाई फुस्रो हुनबाट कोल्ड क्रिमले जोगाउने भएकाले त्यसको नियमित प्रयोग गर्दा राम्रो हुने गर्दछ ।

अहिले कोरोना महामारीले गर्दा मानिसहरु धेरै त्रसित हुनुहुन्छ । कोरोना रोगको लक्षण र सिजनल फूलु एकै प्रकारको हुने भएकाले मानिसहरुलाई सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भयो भनेर डराएको पाइन्छ । त्यसकारण यो समयमा मानिसहरु धेरै भिडभाड भएको स्थानमा नजाने, माक्सको प्रयोग गर्ने, न्यानो र सुरक्षित भएर आफ्नो दैनिकी कामकाज गर्नुपर्ने हुन्छ । जाडो मौसममा रुघाखोकी लागिरहन्छ । सामान्य रुघाखोकी लाग्दा आत्तिनु पर्दैन । चिकित्सकको सल्लाह लिने, औषधी सेवन गर्ने, नुन पानीले बाफ लिने, सकेसम्म घरेलु बिधिले रोग नियान्त्रण गर्ने उपाय अपनाउनु पर्दछ । तातो खानेकुरा खानु पर्दछ । घाम ताप्ने हो भने पनि भिटामिन ‘डि’ को कमी हँुदैन र न्यानो पनि हुन्छ । त्यसकारणले जाडो मौसममा घाम ताप्दा पनि शरिरमा भिटामिन ‘डि’ को कमी हुँदैन ।

जाडो मौसममा नाक, कान, घाटीको एलर्जी धेरै हुन्छ । त्यसकारणले चिसोबाट बच्ने उपाय भनेकै न्यानो लुगा लगाउने, खानपानमा ध्यान दिनु हो । फ्रिज गरेका खानेकुरा सकेसम्म खानु हँुदैन । सुप, हरियो सागपात, झोलिलो पर्दाथ धेरै खानु पर्दछ । गाउँघरमा तुलसी, अदुवा, बेसार, भीर मह प्रशस्त पाइन्छ । अर्गानिक जडिबुटीहरु प्रयोग गरेर सुप बनाउने, चियामा पनि अदुवाको प्रयोग गरेर खाने, बेसार पानी पिउने, तुलसी पानी पिउने हो भने जाडो मौसममा लाग्ने धेरै थरी रोगबाट बच्न सकिन्छ । चिसो मौसममा शरिरलाई तातो बनाउनका लागि तेलले मालिस गर्दा उत्तम हुन्छ । शरिरलाई तोरीको तेलले मालिस गरेमा शरिर तात्ने, शरिरलाई सुख्खा हुन नदिन मद्धत गर्दछ । सवारी साधन चलाउने मानिसहरुले थर्मकोट लगाउने, ऊनीको लुगा लगाउने हो भने पनि चिसोबाट बँच्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *