जीवन शाक्य
कुनै पनि बाबा आमाले आफ्नो शिशु दुब्लो, पातलो, ख्याउटे, पुड्को, सुस्त मनस्थिति वा फरक क्षमताको होस् विरामी होस भन्ने चाहन्न । न त्यस्तो खाले जन्मियोस भन्ने नै चाहन्छ । सबैलाई आफ्नो बच्चा शिशु राम्रो स्वस्थ बलियो दीर्घ आयु भएको होस् भन्ने चाहन्छ । तर के चाहेर मात्र हुन्छ ? दुभाग्य नै भन्नु पर्छ, नेपाली दम्पत्ति वा आमा बाबाहरु मात्र इच्छा कामना मात्र गर्छन, त्यसलाई ब्यवहारिक रुप दिने सोँच, योजना, कर्म र व्यवहार गर्दैनन । गर्न सकेका छैनन् ।
त्यसैले धेरै नेपाली शिशुहरु जन्मदै कम तौलको, पुरा महिना नपुगेको, रोग प्रतिरोध शक्ति कम भएको, फरक क्षमता भएका जन्मन्छन् । हाम्रो देशमा विकसित देशको तुलनामा शिशु मृत्युदर, बाल मृत्युदर धेरै छ । बलियो, राम्रो शिशु जन्माउन, परिवार, दम्पत्ति, स्वस्थ हुनै पर्छ, गर्भकाल भरि गर्भवति महिला स्वस्थ रहन सकनु पर्दछ । त्यसको लागि शुुरक्षित, आवश्यक खानपान, व्यवाहार सोच शैली, आराम विश्राम सकारात्मक हुनु मात्रै होइन, श्रीमान, बाबा आमा, सासु, ससुरा परिवारका अरु सदस्यहरुको सहयोगी भरपर्दो व्यवहार गर्भवति महिलाले पाएको हुनु पनि त्यतिकै जरुरी छ । साथै २० वर्ष अघि कलिलो अपक्को दिमाग भएको उमेरमा विवाह हुने वा विवाह नहुँदै गर्भवति हुने अवस्था हुनै भएन । तर के यस्तो अवस्था छ हाम्रो नेपाली समाजमा ।
सामाजिक, आर्थिक, शैक्षिक, राजनितिक विकास लथालिंङ्ग भईरहेको छ । रोजगार पाउने अवस्था छैन । परिवारका समाजका सदस्यहरु बीच मेल छैन । सद्भाव छैन, एक आपसमा झै–झगडा, खिचातानी, द्वन्द छ, एक आपसमा सामन्जस्य प्रेम, सदभाव सहयोग बढाउने शिक्षा संस्कार वातावरण छैन । मान्छेका सामान्य आवश्यकताहरु, चाहनाहरु सहज र सरल ढंगले पुरा नहुने, मनमा तनाव द्वन्द, र समस्याले शरिर भित्र इष्र्या द्वेष रिस, अहंकार लोभको ग्रन्थीहरु निर्माण हुने र थुप्रिदै जाँदा शरिर कमजोर हुने, भएर रोगी, विरामी हुने रोगी बन्ने अवस्था असिमित छ ।
शिक्षा संस्कारनै व्यवसायीक, सकारात्मक भरपर्दो उत्पादनशिल, सिर्जनशिल छैन, रोजगार दिन नसक्ने, नेताहरुको झोला बोक्न बाध्य बनाउने खालको छ । राजनिती राज्य ब्यवस्था निस्पक्ष धाँधली रहित भ्रष्टाचार मुक्त हुने धेरै समय कुर्नु पर्ने अवस्था छ ।
कृषी, उद्योग निमार्ण विकासको भौतिक पुर्वाधार पनि नभएको, भारतको उत्तर प्रदेश जति मात्रै जन संख्या भएको, भएका उद्योग धन्दा, कलकारखानाहरु निजीकरणको नाममा बेचेर रित्याएको देशमा, बढीमा ३ वटा भए पुग्नेमा ७ वटा संघिय सरकारको संरचना बनाएर नेता कार्यकताहरु पोस्ने, पाल्ने प्रशानिक खर्च तलब, भौतिक क्ष्ोत्रमा आवश्यकता भन्दा बढी खर्च गराई देशको ढुकुटी रित्याउने उद्योग चलाईरहेको जस्तो देखिन्छ । देशमा भ्रष्टाचार ब्यभिचार मौलाईरहेको घटना अवस्थाहरु घटेको अवस्था छैन । राष्ट्रपति, मन्त्री, नेता, कर्मचारीहरुका लागि तलब, सवारी साधनको सुविधा, पीडित गरिब जनतालाई विभिन्न विषयमा कर बढाउने कार्य मात्र भएको छ । लामो समय सत्ता संघर्षबाट आएका कम्युनिष्ट भनेर नाम चलाएका नेता कार्यकताहरुले बहुमतको सरकारलाई २ वर्ष भन्दा बढी टिकाउन सकेनन ।
गर्भ रहे देखि जन्मेको २ वर्ष सम्म शिशुको मस्तिष्कको विकास, ८०–९०% हुन्छ । यो समय भनेको प्रत्येक दम्पत्तिको र परिवारको लागि अझ भनौं समाज र राष्ट्रको हितको लागि स्वस्थ जनशक्ति उत्पादन र निमार्ण गर्ने सबै भन्दा महत्वपूर्ण समय हो । किशोरीहरुको ठीक शारिरीक मानसिक विकास भएर कम्तिमा २०, २२ वर्ष पछिनै विहावारी भई उचित समयमा गर्भवति भई तिनलाई सकारात्मक सोंचाई व्यवहार, खानपान, विश्रामका साथै स्वास्थ्य संस्थामा गएर कम्तीमा ४ पटक गर्भ जाँच गर्ने, परामर्श लिने, परामर्शहरुको पालना गर्ने, राम्रो स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने, ३, ४ वर्ष फरक गरी अर्को बच्चा जन्माउने गुणस्तरिय अवस्था अझै कमी छ ।
यति मात्रै होइन, शिशु जन्मेपछि स्तनपान १ घण्टा भित्र गराउने, राम्रो स्याहार सुसार गर्ने, छ महिना सम्म पूर्ण स्तनपान गराउने, ६ महिना पछि २ वर्ष सम्म दाँतहरु नआएको अवस्थामा थप अन्य झोलिलो पोषिलो नरम खानेकराहरु दिने पनि धेरै कम छ । हुने खानेहरु ल्याक्टोजन, सेरेल्याक, सर्वोत्तम पिठो खुवाएर हुर्काइरहेको अवस्था छ, ५ वर्ष सम्म पाको उमेरकाले झै पोषिलो, सफा शुरक्षित, ठीक मात्रामा मिलाएर खान र खुवाउन जानेका छैनन् । विस्कुट, चाउचाउ, कुरकुरे, चिजबल, पाउरोटी चकलेट, बरफ आईसक्रिम, चिसो चिया कफीको विगविगी नै छ । बयस्क उमेरमा पनि बढी चिनी, नुन, टेष्टमेकर राखिएको खराब चिल्लो पदार्थ बढी भएको र रेसादार नभएको मैदाजन्य खाना खाएर उच्च रक्तचाप, चिनी, मुटुरोग, क्यान्सर, पथ्थर, थाइराईड, प्रोस्टेट भएर रोगी भएर बालबालिकाहरुलाई राम्रो संरक्षण दिन नसकेको टुहुरा बनाइरहेको अवस्था छ । दया, माया, प्रेम, सदभाव राम्रो शिक्षा दिक्षा घरेलु पौष्टिक रोटी तरकारी, टुसा उमारिएको गेडागुडी फलफुल सागपात, सुख्खा फलफुल खुवाउने खाने गर्ने अवस्था धेरै कम छ ।
खानेपानी नै स्वच्छ र पिउने योग्य छैन । पानीको अभाव छ, मान्छेहरुले पैसाको अभावको कारण फिल्टर किनेर पानी पिउन पनि कठिन मानेको अवस्था छ र चिसै पिउछन् । जबकी ६०% भन्दा बढी फोहर दुषित पानीका कारण झाडापखाला, टाइफाईड, आउँमासी, जुका, पक्षाघात पोलियो जन्य र हैजा आदि रोग लाग्ने गर्छ । खाना दुषित वा बासी खाने, फ्रीजबाट निकालेर घरि घरि तताएर थप हानिकारक बनाउने प्रबृतिले पनि धेरै पेटका रोगहरु या रुघा लागि रहेको अवस्था छ ।
योगहरु व्यायम प्राणायाम गर्नुृ गराउनु भनेको स्वास्थ्य सचेतना सजगता बढाउने, दिमाग बलियो तेजिलो बनाउने आधार हो । त्यसको कुनै गतिलो संरचनाहरु संस्थाहरु छैन । भारतबाट आएका गुरुहरुबाट कहिले काँही सिक्नु पर्ने अवस्था छ । ध्यान सचेतना बलियो बनाउने सिर्जनात्मक सकारात्मक सोचाईको विकास गर्न सहयोग गर्ने दिमागलाई शान्ति विश्रामको अनुभुति गराउने, अनावश्यक सोच शक्ति कम गराउने, ध्यान योग सिकाउने संस्कार ब्यवस्था छैन भन्दा पनि फरक नपर्ने अवस्था छ । भए पनि त्यसमा सहभागी हुने लाभ लिने धेरै कम छन् ।
के वर्तमान ढुलमुले, गतिहिन राजनिती, आर्थिक स्थिति कोरोनाले गर्दा क्षतविक्षत हुन लागेको अवस्थामा सुधार आएर देशले शान्ति विकासको गति लिने, शिशु बालविकास रामो बन्ने अवसर शिक्षामा परिमार्जन गर्ने अवस्थाको विकास होला ? आसा गरौं ? । भवतु सब्ब मंगलम ।