सबै मिलेर सहकारीका समस्याको समाधान गरौ : नगर प्रमुख जोशी

आदर्श अनलाइन, पर्वत
जिल्ला सहकारी संघ लिमिटेड पर्वत र कुश्मा नगरपालिकाको संयुक्त आयोजनामा शुक्रवार कुश्मामा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि सहकारी शिक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सहकारीले आफ्नो मुल काम भन्दा बाहिर लागेका कारण समस्या आएको बताउनु भएको छ ।

सहकारीले काम गर्नु पर्ने सदस्यको मन जितेर हो, सदस्यको हितमा काम गर्नु पर्ने सहकारीहरु सञ्चालकको हितमा लागेका कारण समस्या देखिएको भन्दै उहाँले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ ।

सहकारी समुदायको हो, सहकारीका सदस्य यसका मालिक हुन, तर व्यवहारमा सदस्यहरुलाई सहकारीहरुले केवल पैसा जम्मा गर्ने साधनका रुपमा मात्र लिने गरेको गुनासो गर्नु भयो । ग्रामिण क्षेत्रमा सहकारी राम्रा छन्, बजार क्षेत्रमा समस्या देखिएको छ, सबै मिलेर समस्या समाधान गरौ, नगर प्रमुख जोशीको भनाइ छ ।

पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले सहकारीलाई निरन्तर सञ्चालन गर्न, सदस्यहरुसंग बढी भन्दा बढी अन्तरक्रिया गर्न, सदस्यहरुलाई संस्थाको वास्तविक अवस्था अवगत गराउन आग्रह गर्नु भयो । उहाँले सहकारी संस्थालाई सञ्चालन गर्दा सुरक्षाको समस्या भए सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारी, सहकारी रजिष्टारको कार्यालय पोखराका सूर्य प्रसाद आचार्य, कुश्मा नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वर गिरी, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका संस्थापक अध्यक्ष गोविन्द पहाडि लगायत सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालाहरुका बीच समन्वय र सहकार्यमा जोड दिनु भएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष लाल बहादुर अधिकारीको स्वागत र कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *