बाँदर आतंकले किसान आजित : कुरुवा बस्दै बित्छ दिन

डम्मर बुढा मगर, बागलुङ
बागलुङको अधिकांश ग्रामीण क्षेत्र जंगलसँग जोडिएका छन् । जंगल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ । हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइ दिने र सामान फुटाई दिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भट्टमास लगायतका बाली नष्ट गरि दिन्छ । यति बेला किसानमा बारीमा भर्खर मकैले घोँगा निकाल्न थालेका छन् । बारीको अधिकांश छेउ छाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रोमा दैनिक एक÷दुई जना बाँदर धमाउने कृषक पनि हुन्छन् ।

उनीहरु यी छाप्रोमा मकै, भट्टमास र कोदो बाली नभित्राउँदासम्म बस्ने गर्छन् । एकै छिन् बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरी बारी छेउमै बस्न बाध्य छन् । यो बेला किसानका लागि कामको चटारो हुने समय भए पनि बाँदर धपाउनका लागि कुरुवा राख्नु पर्ने बाध्यतामा उनीहरु छन् । जिल्लाको धेरै स्थानमा रातो बाँदर पाइन्छन् भने केही स्थानमा सेतो प्रजातीको बाँदरले पनि आतंक मच्चाउने गरेको कृषकहरुले गुनासो गर्दै आएका छन् । हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरि दिने गरेको पाइन्छन् । तर बाँदर नियन्त्रणका लागि स्थानीय पालिकाले कुनै नीति नल्याउँदा किसानहरु निरास छन् ।

सयौँको संख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकै छिन्मा नष्ट गर्ने हुँदा एक जना कुरुवा अनिर्वाय राख्नु पर्ने बाध्यता रहेको ढोरपाटन नगरपालिकाका किसान कृष्ण बहादुर विक बताउनुहुन्छ । असार अन्तिम सातादेखि बारी छेउमा छाप्रो बनाएर बस्न थालेको भन्दै विकले अब असोजमा मकै भित्राएरपछि मात्रै कुरुवा बस्न नपर्ने बताउनुभयो । बिहान सबेरै उठेदेखि रात झमक्क नपर्दासम्म बारीमै बस्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

“पहिले–पहिले बाँदर कम लाग्थ्यो अहिले निकै ठूलो संख्या आउँछन्, दुई/तीन सयको संख्यामा आउने बाँदरले सिंगो बारीको मकै १० मिनेटमै सखाप पारि दिन्छ, त्यही भएर विहानैदेखि यहाँ बस्नु पर्छ,” उहाँले भन्नुभयो – “के गर्ने बल्लतल्ल दुःख गरेर बाली लाइयो, यहाँ कुरेर बसिएन भने वर्षभरी भोकै बस्नु पर्छ, यो गाउँको सबैभन्दा ठूलो शत्रुनै बाँदर हो, हामी वर्षौँदेखि आजित भएका छौँ, सरकारले यो समस्या समाधानका लागि केही उपाय दिए ठूलो राहत मिल्ने थियो ।”

कतिपय किसानले बाँदरलाई डराउन दिनका लागि बारीको छेउछाउमा कुकुर बाँध्ने, पुरानो कपडाको डमी बनाएर राखेको देखिन्छन् । पहिले–पहिले कुकुर र डमीदेखि डराएर बारीमा बाँदर कम आउने गरे पनि अहिले डराउन छोडेको निसीखोलाका किसान निमबहादुर घर्तीले बताउनुभयो । उहाँले घरमा कम सदस्य हुने परिवारले मान्छे खोजेर भए पनि कुरुवा राख्ने गरेको बताउनुभयो । बाँदर कुर्दा घरको अन्य काम गर्न नपाउने घर्तीले दुखेसो पोख्नु भयो । बाँदरले हैरानी बनाएपछि गाउँका योतीयोग्य जमिनमा बाली लगाउन छोडिएको उहाँको भनाइ छ ।

घर्तीले भन्नुभयो – “बाँदर नियन्त्रण गर्न धेरै कोशिस गरियो, धेरै उपाय पनि अपनाइयो तर सकिएन, दिनभरी कुरुवा नबसेसम्म बाली जोगिन, पहिले–पहिले कुकुरदेखि डराउने बाँदर अहिले उल्टै कुकुरसँग लड्न थालेको छ, मान्छे हैरान भइसके, त्यही भएर खेती पनि गर्न छोडे, हामी सानो–सानो हुँदा गाउँमा कुनै पनि बारी बाँझो रहँदैनथ्यो, अहिले जस्तो बाँदर आतंक पनि थिएन, राम्रो उत्पादन हुन्थ्यो, अहिले घर अगाडिकै बारीमा आएर बाँदरले बाली खाइदिन्छ, त्यही भएर पनि मान्छेहरु बसाइँसरे ।”

बाँदर नियन्त्रणका लागि निसीखोला गाउँपालिका–४ ले अघिल्लो वर्ष साढे चार लाख रुपैँया छुट्याएर काम गरेको थियो तर प्रभावकारी भने हुन सकेको थिएन । यस वर्ष नयाँ प्रबिधिको प्रयोग गरेर बाँदर नियन्त्रण गर्ने योजना रहेको वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनुभयो । पछिल्लो समय लेक–लेकबाट मध्य गाउँमै बाँदर आउन थालेको उहाँको भनाइ छ । कृषकलाई आधुनिक प्रविधिसँग जोडेर बाँदर आतंकबाट मुक्त बनाउनका लागि तीन वटै सरकारले सहकार्य गर्नु पर्ने अध्यक्ष पौडेल बताउनुहुन्छ ।

“बाँदर आतंक बढ्दै गएको छ, पहिले यस्तो समस्या हुँदैनथ्यो, बसाइँसराइको प्रभाव हो की, के हो, अहिले गाउँगाउँमै बाँदर बस्न थालेको छ, हामीहरुले यसको नियन्त्रणका लागि केही प्रयास ग¥यौँ तर त्यत्ति प्रभावकारी भएन,” अध्यक्ष पौडेलले भन्नुभयो – “अब अलि फरक तरिकाले लाग्नु पर्ने देखियो, बाँदर धपाउने बन्दुक पट्काउँदा सुरुमा डराउने गरेको पाइयो पछिपछि टेर्न छोड्यो भन्ने गुनासो सुनियो, अब यसको दीर्घकालीन समाधान के हो त्यसको लागि विज्ञसँग बुझ्ने र समधान गर्न तर्फ लाग्नु पर्ने भयो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *