दिवा खाजामा अतिरिक्त रकम थप्दै नगरपालिका


खेमराज गौतम, बागलुङ
जिल्लाको बागलुङ नगरपालिकाले दिवा खाजामा विद्यार्थीलाई अतिरिक्त रकम थप गर्ने भएको छ ।
संघीय सरकारले प्रति विद्यार्थी रु. १५ का दरले दिवा खाजाका लागि विद्यार्थीलाई उपलब्ध गराउदै आएको छ । सरकारले पाँच कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजा उपलव्ध गराउदै आएको छ ।
विद्यार्थीलाई दिवा खाजामा अप्रयाप्त भएको भन्दै नगरपालिकाले प्रति विद्यार्थी रु. ५ का दरले थप गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख बसन्त कुमार श्रेष्ठका अनुसार प्रति विद्यार्थी रु. ५ का दरले थप गर्दा नगरपालिकाले एक वर्षमा रु. ५० लाख थप व्ययभार थपिने छ । नगरपालिकाका झण्डै ६ हजार विद्यार्थीका लागि दिवा खाजामा थप अनुदान दिने निर्णय गरेको श्रेष्ठले बताउनुभयो ।

“शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिका शिक्षा क्षेत्रका केन्द्रित भएर लागेको छ, अहिले विद्यार्थी थोरै भएको विद्यालयको तह मिलान र दरबन्दी मिलान गर्दै आएको छ, विद्यार्थीको दिवा खाजामा अपुग भएको अभिभावकको गुनासो पछि खाजा खर्चलाई रु. ५ थपेर रु. २० पु¥याइएको छ” श्रेष्ठले भन्नुभयो “दिवा खाजामा रु. ५ थप गर्दा नगरपालिकालाई झण्डै रु.५० लाख बजेट लाग्नेछ, आगमी साउनबाट यो निर्णय कार्यान्वयनमा जान्छ ।”

विद्यार्थी संख्या नपुगेका ३१ सामुदायिक विद्यालयमा तह घटाएको बागलुङ नगरपालिकाले विद्यार्थीलाई गुणस्तरीय खाजा खुवाउनका लागि अतिरिक्त रकम थप गरेको बताउनुभयो ।
बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि गर्दै लिड विद्यालय, आवासीय सहितको विद्यालय र बिग विद्यालयको अवधारणा कार्यान्वयनका लागि अहिले अध्ययन गरिरहेको छ ।
“विद्यालयमा धेरै लगानी गर्ने तर विद्यार्थी संख्या थोरै हुने अवस्था छ” उहाँले भन्नुभयो “त्यसैले एकिकृत विद्यालयको अवधारणा ल्याइएको हो, तर विद्यालय घटाउन थालेपछि विद्यालयको गुणस्तरमा हाम्रो ध्यान जान थालेको छ, त्यही स्वरुप दिवा खाजामा अतिरिक्त रकम थप गरिएको हो ।”

विद्यालयमा भौतिक पूर्वाधार थपिदै जाने र विद्यार्थीको संख्या घट्ने अवस्थामा विद्यार्थीको संख्याका आधारमा कक्षा सञ्चालन गर्दा गुणस्तरमा वृद्धि हुँने विद्यार्थी संख्या धेरै भएको विद्यालयमा शिक्षकको अभाव नहुँने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने नगरपालिकाको अपेक्षा रहेको छ । आगमी दिनमा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यालयको अवधारणा ल्याउने उहाँको भनाई छ ।
नगरपालिकाले विद्यालयमा गरेको लगानी बालुवामा पानी भएको भन्दै विद्यार्थी भएको विद्यालयमा मात्रै भौतिक पूर्वाधार, प्रविधि र अंग्रेजीमा पठनपाठन गराउनेगरी व्यवस्था मिलाउन समेत थालिएको छ ।

नगरपालिकाले शिक्षामा गुणस्तर बढाई संस्थागत भन्दा अब्बल विद्यार्थी बनाउन शैक्षिक सुधारको रणनीति ल्याएको नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिका भित्र रहेको ७२ सामुदायिक विद्यालयका ६ हजार विद्यार्थीलाई दिवा खाजामा रु. ५ अतिरिक्त रकम थप गर्दा रु. ४५ लाख देखि रु. ५० लाख सम्म खर्च हुने छ । उक्त निर्णय भने नयाँ आर्थिक वर्ष लागेपछि कार्यान्वयनमा जाने भएको हो । अतिरिक्त रकम थप गर्दा खाजाको गुणस्तरमा वृद्धि हुने उहाँको भनाई छ । नगरपालिकाले विद्यालयमा जंक फुड बाहेकको दिवा खाजा खुवाउने गरेको छ ।

दिवा खाजाको रकमले खाजा नखुवाउने विद्यालयलाई भने कार्वाही गर्ने नगर शिक्षा अधिकारी पोख्रेलले जानकारी दिनुभयो । उहाँले कतिपय विद्यालयले खाजा खर्च रकम विद्यार्थीका अभिभावकलाई दिने गरेको गुनासो आएकाले थप अनुगमन गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *