बकर इदको शुभकामना

सम्पादकीय

नेपाली समाज विविधतायुक्त समाज हो । संस्कृतिको हिसाबले पनि नेपाल बहुआयामिक छ । धर्मका हिसाबले पनि धर्मनिरपेक्ष देश नेपाल । यहाँ सबै धर्म मान्यहरु प्रति उत्तिकै सहिष्णु र सद्भाव छ । र त कुनै न कुनै दिन नेपालका कुनै न कुनै जाति, समुदाय, धर्मालम्बीको चाडपर्व परिरहन्छ । यही अनुक्रममा सोमबार मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

बकर इद मुस्लिम समुदायका लागि एक महत्वपूर्ण पर्व हो । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइन्छ । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलन छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । यसरी दिइएको कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।

मुस्लिम धर्मावलम्बीले यस पर्व बुधबारसम्म तीन दिन यो पर्व मनाउछन् । नेपालमा बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । कुनै पनि पर्वले उक्त समुदायको विविधताका बिच एकता, भातृत्व, सद्भावलाई अझ मजबुत तुल्याउँछ । हरेकजसो धर्मको अरु प्रति अहित सोच्ने र गर्ने भन्ने उद्देश्य, लक्ष्य हुँदैन । पहिले–पहिले एक धर्मालम्बीले अर्को धर्मालम्बीलाई हेर्ने दृष्टिकोण र व्यवहारमा संकिर्णता व्याप्त थियो । अहिले त्यसमा उल्लेख्य बदलाव आएको छ । नेपाल धर्म निरपेक्ष बनिसके पछि त्यस यता खुल्लापन आएको छ । हिन्दु धर्मालम्बीले मनाउने दशैैं तिहार जस्ता पर्वमा मुस्लिम क्रिस्चियन लगायतका समुदायले गर्ने सद्भाव साटासाट होस् या मुस्लिम धर्मालम्बीले अहिले बकर इद मनाउदा हिन्दु लगायत अरु धर्मालम्बीले गर्ने व्यवहार र सद्भाव आदान प्रदान होस्, यो निकै पृथक छ । बकर इदका अवसरमा सम्पूर्ण मुस्लिम धर्मालम्बीलाई हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *