म्याग्दीमा पत्रकारको दुर्घटना बीमा र पत्रकारीता पाठशाला स्थापना गरिने

आदर्श अनलाइन, म्याग्दी
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारको १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने भएको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पुस ३ गते बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशील रहेका पत्रकारहरुको दुर्घटना बीमा गर्ने निर्णय गरेको हो । पत्रकारको लागि शिखर इन्स्योरेन्स कम्पनीमा १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने र शुल्क पत्रकार महासंघले व्यहोर्ने अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।

सञ्चारकर्मी तथा पत्रकारहरु हरेक समय जोखिममा हुने भएकोले उनीहरुको सुरक्षाका लागि पहिलो चरणमा दुर्घटना बीमाबाट सुरुआत गरेर अन्य कार्यहरु पनि गर्ने गरी जिल्ला कार्यसमितिले निर्णय गरेको उहाँको भनाइ छ ।

दुर्घटनामा घाइते भएको खण्डमा एक लाख रुपैयाँसम्म उपचार खर्च पनि बीमामार्फत आउने जनाइएको छ । पहिलो दिन नै पत्रकार महासंघका पूर्व अध्यक्षहरु प्रकाश पौडेल, तारानाथ शर्मा र घनश्याम खड्काको बीमा गरिएको र बाँकी अन्यको पनि क्रमशः बीमा गर्दै लैजाने योजना रहेको अध्यक्ष गौतमको भनाइ छ ।

त्यस्तै पत्रकारिता क्षेत्रको सवलीकरण तथा पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघको मातहतमा पत्रकार पाठशालाको अवधारणा पनि अगाडि सारिएको छ । पत्रकार महासंघ म्याग्दीले आधारभूत तथा एडभान्स तालिमका लागि पनि आवश्यकता महशुस गरेर पाठशालाको अवधारणा ल्याएको हो । पाठशालाले पत्रकारिता क्षेत्रका सबै प्रकारका तालिमको समन्वय तथा सहजीकरण एवम् आयोजना गर्ने जनाएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा भएको पदस्थापनपछि महासंघको पहिलो बैठकले विविध विषयमा निर्णय गरेको महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले नवनिर्वाचित टिमलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम, उपाध्यक्षमा अमृत बास्कुने र अमित विश्वकर्मा, सचिव ठाकुरप्रसाद आचार्य, सहसचिव प्रताप बानियाँ र सन्दिप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली एवम् सदस्यहरुमा कमल खत्री र राकेश शर्मा निर्विरोध निर्वाचित हुनुभएको थियो । नयाँ निर्वाचित टिमलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण पछि बसेको बैठकले पत्रकार बीमा र पत्रकार पाठशालाको निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *