आदर्श अनलाइन, बागलुङ
कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता सकिदा बल्ल कामले गति लिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिएसंगै कामले तिब्रता पाउन थालेको हो । अहिले नाली, कल्भर्ट, पर्खाल तथा ग्याबिन लगाउने काम भइरहेको छ ।
कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसंग गरिएको सकिएपनि काम भने बल्ल ६० प्रतिशत मात्रै सम्पन्न भएको छ । म्याद सकिएसंगै १० किमि सडक निर्माणले तिब्रता पाएको हो । निर्माण कम्पनीलाई पटक–पटक ताकेदा गरेपछि अहिले मालढुङ्गा तर्फको खण्डमा धमाधम पूर्वाधारको काम भइरहेको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भएपनि सम्झौता सकिदासम्म ६० प्रतिशत मात्रै पूर्वाधारको काम सकिएको हो ।
कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीका अनुसार निर्माण व्यवसायीलाई छ महिनाभित्र कालोपत्र सक्न निर्देशन दिइएको छ । दुईवर्षमा आधा मात्रै काम गरेको निर्माण व्यवसायीलाई छ महिनाका लागि म्याद थपेपछि कामले गति लिएको खत्रीको भनाई छ । “अहिलेको काम सन्तोष जनक छ, सम्झौता सकिदा सम्म कालोपत्र नहुनु समस्याको विषय हो, तर थपिएको समयभित्र काम सकिन आवश्यक छ” खत्रीले भन्नुभयो “बागलुङको भकुण्डे स्थित गलुवाको पहिरोका कारण काममा ढिलाई भएको थियो, अहिले त्यही खण्डमा काम भइरहेको छ ।”
खत्रीका अनुसार बलेवा–हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौता अगावै धमाधम कालोपत्र भइरहदा छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि सडक पूर्वाधारमै अल्झिएको हो । आगमी जेठ भित्रै कालोपत्र सक्नेगरी मिति थप गरिएको हो । खत्रिका अनुसार १० किलोमिटर दूरी रहेको यो खण्डका लागि रु.५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियोे । थप गरिएको समयसिमा भित्र सक्न कामलाई तिब्रता दिइएको निर्माण कम्पनीका सञ्चालक ध्रुव बिडारी जानकारी दिनुभयो ।
निर्माण व्यवसायी धुव्र बिडारीले शुरुमा निर्माणले तिब्रता पाएपनि समयमै भुक्तानी नपाउदा समस्या भएको जानकारी दिनुभयो । “थप गरेको समय सिमा भित्रै काम सक्ने हाम्रो प्रयास हुन्छ” बिडारीले भन्नुभयो “अहिले समस्याग्रस्त अलुवा क्षेत्रमा काम भइरहेको छ, गर्मी शुरु हुँदासाथ कालोपत्र थालिन्छ ।”
करिडोर कालोपत्रपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक क्रिर्याकलाप बढ्नेछन् । नेपालको उत्तरी सिमा चीनको कोरला र दक्षिणी सिमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ ।