दूर दराजका क्षेत्रलाई विकासले जोड्दै छौँ – मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दूर दराजका क्षेत्र विकासलाई जोड्दै गएको बताउनु भएको छ । शनिबार बागलुङको सबैभन्दा विकट गाउँ तमानखोला गाउँपालिका–३ स्थित धन गौज्योति माध्यमिक विद्यालयको नवनिर्मत भवनको उद्घाटन गर्दै विकास क्रमिक रुपमा हुने प्रक्रिया रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङसहित थुप्रै भौगोलिका विकटताका कारण पछाडि परेका ठाउँहरु रहेको भन्दै सरकारले त्यस ठाउँका नागरिकको जीवनस्तर उकास्ने गरि काम गर्न थालेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेश भित्र रहेका स्रोत साधानको परिचालन गरि नागरिकका आवश्यकतालाई पूरा गर्न तर्फ आफूहरु लागेको उहाँको भनाइ छ ।

“गण्डकी प्रदेश सरकारले दूर दराजका ठाउँलाई विकाससँग जोड्न थालेको छ, शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रका गम्भीर भएर काम गरि रहेको छ, सबै ठाउँमा सबै किसिमले एकै पटक विकास गर्न सकिएको छैन” मुख्यमन्त्री पाण्डेले भन्नुभयो – “विकासनै भएन भन्ने पनि होइन, हामी आएपछि धेरै कामको सुरुवात भएको छ, केही भइसकेका पनि छन् ।”

मुख्यमन्त्री पाण्डेले गण्डकीलाई कला, संस्कृति र पर्यटनमार्फत समृद्ध गराउन सकिने उल्लेख गर्नुभयो । यहाँ थुप्रै पर्यटकीय क्षेत्रसँगै कला, संस्कृति र परम्पार रहेको भन्दै त्यसलाई परिचालन गरि आयआर्जनसँग जाड्ने उहाँको भनाइ छ ।

गण्डकी प्रदेशले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने उहाँको भनाइ छ । त्यसका लागि विधेयक तयार गरेको पाण्डेले बताउनुभयो । भाषा, कला र संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएको हुँदा आफूहरु लागि रहेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्