आदर्श अनलाइन, बागलुङ
उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वउर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको आज बागलुङस्थित निरयघाटमा अन्त्यष्टि गरिएको छ ।
सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्यष्टिमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ मानिसहरु अन्त्यष्टीमा पुगेका थिए ।
पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको घर र अन्त्यष्टिस्थलमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । सो क्रममा उहाँले नेपालको राजनीतिक आन्दोलनले असल र निष्ठावान नेतालाई गुमाएको बताउनुभयो । ६८ वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको उहाँको भनाइ थियो । मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवङ्गत भएर गएपनि उसका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताउनुभयो ।
पूवप्रधानमन्त्री नेपालले आगामी ससंद् बैठकमा दिवङ्गत शर्माप्रति श्रद्धाञ्जलिसहित सम्मान गरिनुपर्ने बताउनुभयो ।
विसं २०६४ को पहिलो संविधानसभा चुनावमा बागलुङ–१ बाट निर्वाचित शर्मा बागलुङको कम्युनिष्ट आन्दोलनको अगुवा नेताका रुपमा चिनिनुहुन्छ । पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील रहनुभएका उहाँ संविधानसभाको पहिलो कार्यकालमा उर्जा राज्यमन्त्री हुनुभएको थियो । उहाँ कुसल सङ्गठक र विकासप्रेमी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । शर्माले पञ्चायत कालमा बागलुङमा तत्कालिन नेकपा (माले) स्थापना र सङ्गठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँले पञ्चायत विरोधी आन्दोलनमा मालेका तत्कालिन नेताहरु गोविन्द अधिकारी, मोहनलाल शर्मा, नरबहादुर थापालगायतसँग मिलेर काम गर्नुभएको थियो । शर्माले नेकपा (एमाले) बागलुङको सचिवका रुपमा १५ वर्ष, धवलागिरि इञ्जार्ज र केन्द्रीय सदस्यका रुपमा पनि जिम्मेवारी पूरा गर्नुभएको थियो । मिगौला प्रत्यारोपणका लागि भारत जानुभएका शर्माको उपचारकै क्रममा निधन भएको थियो । शर्माका श्रीमती, दुई छोरा र छोरी रहनुभएको छ ।