वर्तमान सरकारले निराशा चिर्ने काम गरि रहेको छ–उपप्रधानमन्त्री सिंह

आदर्श सञ्चार, बागलुङ
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन तर्फ लागेको बताउनु भएको छ । सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दुई ठूला दल मिलेर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

मुलुकमा राजनीतिक अस्थितरताका कारण विकासले गति लिन नसकेको भन्दै अहिले लामो समयदेखि रोकिएका काम सुचारु भएको उहाँले बताउनुभयो । सरकारका विषयमा विभिन्न व्यक्तिहरुले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने उहाँले बताउनुभयो । देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको सिंहको भनाइ छ ।

उहाँले भन्नुभयो – “स्थानीय सरकार जनताको नजिकको सरकार भएको हुँदा उनीहरुको समस्या समाधानका लागि माथिल्लो तहका सरकार सहकार्य गर्न जरुरी छ, तीनै तहका सरकार जनताको समस्या समाधान गरि समृद्ध मुलुक निर्माणका लागि बनेको हो, सरकारको स्थायित्व नहुँदा जनतामा निराश थियो, नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दल मिलेर सरकार बनाएपछि आशा जगाउने काम गरेका छौँ ।”

सिंहले प्राप्त उपब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको बताउनुभयो । नयाँ सहर आयोजनाको कामलाई तीव्रता दिन र आवश्यक बजेट व्यवस्थापनमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ । रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई तत्काल अगाडि बढाउनका लागि सरकार लागि परेको उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

स्थापना कालदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको ढोरपाटन नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण भएसकिएपछि उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले सोमबार उद्घाटन गर्नु भएको हो । तीन वर्ष अगाडि निर्माण सुरु भएको प्रशासकीय भवन यही माघ महिनामा सम्पन्न भएको हो ।

भवन आर्थिक वर्ष २०७८/०७९ सुरु भएको थियो । छ तलासहितको पक्की भवन रु ४ करोड ५९ लाख ३४ हजारमा निर्माण भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *