क्यान्सरविरुद्धको खोप अभियान र आशा

सम्पादकीय
विश्वव्यापी महामारी र प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को भयावह बल्ल बिर्सिने बेला भएको छ । मानिसहरु कोरोनाबाट आक्रान्त र अस्तव्यस्त बनेको जीवन दैनिकी, व्यवसाय, अर्थतन्त्र क्रमशः लयउन्मुख हुँदैछ । उसो त कोराना सँगै बिग्रिएको मुलुकको अर्थतन्त्र अझै संकटमा छ । कोभिडका कारण सयौंले अकालमै ज्यान गुमाए, लाखौंका व्यापार, व्यवसाय छिन्नभिन्न भए । अनेकन चर्चा भय सहित भित्रिएको कोरोना लगायतका प्रकोपका बारेमा त हामी चासो र संशय राख्यौ । यसबाट बच्न पनि यथेष्ट उपाय र सजगता अपनायौ । तर, कैयन यस्ता नसर्ने रोगहरु छन्, जसको बारेमा पूर्ववत सचेतता नहुँदा या हाम्रा अव्यवस्थित खानपान, जीवनशैलीका कारण ज्यानै जाने जोखिम हुन्छ । त्यसैमध्येको एक हो पाठेघरको मुखको क्यान्सर । अहिले यसको नियन्त्रण र पूर्ववत जागरणका लागि खोप अभियान थालिएको छ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियान मंगलबारदेखि देशभर शुरु भएको छ । १० देखि १४ वर्षका १६ लाख ८८ हजार ६८८ बालिकालाई दिइने कार्यक्रम छ । हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर देशभर आठ हजार दुई सय खोप केन्द्र पनि तोकिएको छ । स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण वार्षिक एक हजार ३१३ जनाले ज्यान गुमाउँछन् । यो आधारमा दैनिक चार महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको छ । विभागका अनुसार वार्षिक दुई हजार १६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । विश्वमा हरेक वर्ष पाँच लाख ७५ हजारभन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यो विश्व स्वास्थ्य संगठनको तथ्यांक हो । यो तथ्यांक आगामी सन् २०३० सम्ममा बढेर सात लाख पुग्ने चेतावनी संगठनको छ ।

पाठेघरको मुखको क्यान्सर नेपालको पछिल्लो समय बढ्दो स्वास्थ्य समस्या मध्येको एक हो । नेपालमा पाठेघरको मुखको क्यान्सरबाट वार्षिक १३ सय १३ को ज्यान जाने र स्वास्थ्य संगठनकै तथ्यांक अनुसार हरेक वर्ष पाठेघरको क्यान्सरका कारण विश्वमा तीन लाख ११ हजार महिलाको मृत्यु हुने डरलाग्दो तथ्य र तथ्यांक छ । पाठेघरको मुखको क्यान्सर रोगको नेपालको तथ्यांकले पनि यही अवस्था र यथार्थ झल्काउँछ । यही डरलाग्दो तथ्यांकलाई न्यूनीकरण गर्न सरकारले खोप अभियान चलाउनु सकारात्मक कुरा हो । अहिलेको खोप अभियान पाठेघरको मुखको क्यान्सरबाट जोगाउने हो । हाल यो खोप विश्वका १४४ मुलुकमा नियमित प्रयोग भइरहेको छ । विश्व स्वास्थ्य संगठनले नै पूर्ण रूपमा सुरक्षित घोषणा गरेकाले खोपमा शंका गर्नुपर्दैन । खोप प्रयोग भएका देशमा पनि १० देखि १४ वर्षका बालिकामा प्रभावकारिता बढी देखिएको र कुनै साइडइफेक्ट नभएको बताइएको छ । अतः यसमा लक्षित समूहका कोही पनि बालिका नछुट्ने गरी अभियान सञ्चालनमा जोड दिनु पर्दछ । ६ फागुनसम्म चल्ने खोप अभियानका लागि विशेषतः स्थानीय सरकार र विद्यालयहरूले विशेष ध्यान दिन सक्नुपर्छ । एचपिभी खोप लगाउने लक्षित बालिका विद्यालयको पहुँचबाहिर पनि रहेकाले त्यसमा पनि यथेष्ट पहल र समन्वय जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

preload imagepreload image