• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

रबिन्द्र ढाँटसहित चार खेलाडीलाई पछि पार्दै बागलुङकी मिनालाई ‘पिपुल्स च्वाइस अवार्ड’

  • २०८३ भाद्र १८, बिहीबार

बागलुङ । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत बागलुङकी भलिबल खेलाडी मिना सुनारले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी छन् ।

दर्शक तथा खेलप्रेमीबाट प्राप्त मतका आधारमा प्रदान गरिने यस अवार्डमा सुनारले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । बागलुङको ढोरपाटन नगरपालिका–२ की सुनारले भलिबलमार्फत जिल्लाको पहिचान राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउँदै आएकी छन् । उनको उत्कृष्ट खेल प्रदर्शन, मेहनत र सम्भावनालाई मूल्याङ्कन गर्दै उनलाई पिपुल्स च्वाइस अवार्डका लागि मनोनयन गरिएको थियो ।

अवार्डका लागि सुनारसँगै फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आट्र्सका चर्चित खेलाडी रबिन्द्र ढाँट मनोनयनमा परेका थिए । तीमध्ये दर्शक तथा खेलप्रेमीको मतमा सबैभन्दा अगाडि रहँदै मिनाले अवार्ड आफ्नो नाममा पार्न सफल भएकी हुन् । सानै उमेरदेखि भलिबलप्रति आकर्षित भएकी मिनाको खेल यात्रा बागलुङबाट सुरु भएको हो । निरन्तरको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण उनले राष्ट्रियस्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । उनको खेल कौशल र सम्भावनालाई ध्यानमा राख्दै आगामी जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि समेत उनी नेपाली टोलीमा छनोट भएकी छन् ।

बागलुङका ग्रामीण क्षेत्रबाट भलिबल खेल्न सुरु गरेकी मिनाको यात्रा अहिले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसम्म आइपुगेको छ । सीमित स्रोत–साधनका बीच खेललाई निरन्तरता दिँदै आएकी उनले पढाइसँगै खेलकुदलाई समेत अगाडि बढाइरहेकी छन् । मिना हाल एभरेस्ट इङ्लिस बोर्डिङ स्कुलमा छात्रावाससहित छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत छिन् । अध्ययन र खेलकुदलाई सँगसँगै अघि बढाइरहेकी उनले आगामी दिनमा नेपाली राष्ट्रिय टोलीमा आफ्नो स्थान अझ बलियो बनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेकी छन् ।

‘पिपुल्स च्वाइस अवार्ड’ जितेसँगै मिनाको खेल यात्रामा थप उत्साह र आत्मविश्वास थपिएको छ । बागलुङबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने महिला खेलाडीका रूपमा उनको सफलतालाई जिल्लाका खेलप्रेमीले समेत महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।

मिनाको यो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई बागलुङको भलिबल क्षेत्र र नेपाली महिला खेलकुदका लागि समेत प्रेरणादायी उपलब्धि बनेको छ ।