• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

बागलुङमा संविधान दिवस मनाइयो

बागलुङ/ बागलुङमा शहिद पार्कमा दशौं संविधान दिवस बागलुङमा मनाइएको छ । २०७२ असोज ३ गते जारी गरिएको संविधान १० वर्ष पुगेको छ । संविधान दिवसको अबसरमा शुक्रबार प्रभातफेरी सहित शहिद पार्कमा पुगेर शहिदको शालिकामा माल्यार्पण गरेर मनाइएको छ ।

कार्यक्रममा बागलुङका राजनीतिक दल, संविधानसभा सदस्य, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकाय सहित सरोकारवालाको सहभागिता थियो । बागलुङ नगरपालिका–२ ट्राफिका चोकबाट शुरु भएको प्रभातफेरी बागलुङ नगरपालिका–१ रामरेखा स्थित शहिद पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । आयोजित मुल समारोहमा वक्ताहरुले संविधानको रक्षा अहिलेको आवश्यकता रहेको बताएका थिए । उनीहरुले संविधाने युवाहरुको मागलाई समेट्दै अघि बढ्न आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा संविधानसभाका सदस्य तथा गण्डकी प्रदेश सांसद चम्पादेवी खड्काले संविधानले समावेशीता ल्याएको भन्दै महिला, दलित, जनजाति समेतले अधिकार पाउन थालेको बताउदै संविधानको रक्षक समेत जनतानै भएको बताउनुभएको थियो । संविधानसभा सदस्य नरबहादुर थापाले संविधानले औलाएका हकलाई कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जनताको जनजिविकासंग संविधान जोडिएको बताउनुभयो । उहाँले संविधानलाई युवाको हक र कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अहिलेको संविधान उत्कृष्ट संविधान रहेको र नागरिकको अधिकार र कर्तव्यलाई छुट्टाएर व्याख्या गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । प्रभातफेरीमा स्थानीय आमा समूह, उद्यमी सहितको ¥यालीमा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका जवान, सामुदायिक प्रहरी सेवाका प्रतिनिधि समेत सहभागि थिए ।  संविधान दिवसको अवसरमा कार्यालयहरुमा दिपावली गर्ने, अस्पतालमा फलफुल वितरण गर्ने जस्ता कार्यक्रम गरी मनाइएको छ ।